PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

शून्य समयमा सरकारलाई सांसदको प्रश्न : निर्वाचन घोषणा किन नगरेको? आशिर्वाद लिन गएको ठाउँबाट आशिर्वाद नपाएर हो कि?



पहिलोपोस्ट

शून्य समयमा सरकारलाई सांसदको प्रश्न : निर्वाचन घोषणा किन नगरेको? आशिर्वाद लिन गएको ठाउँबाट आशिर्वाद नपाएर हो कि?

काठमाडौं : प्रतिनिधिसभाको आइतवारको बैठकमा सांसदहरुले निर्वाचनको मिति घोषणादेखि द्वन्द्वपीडितको समस्या समाधानका लागि माग राखेका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन्।

सांसद लालबाबु पण्डितले संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचन तत्काल घोषणा गर्न माग राखे। उनले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको आरोप लगाए।

‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ? गठबन्धनको गाँठागुँठी नमिलेर हो कि?' उनले आशंका व्यक्त गरे, 'आशिर्वाद लिन गएको ठाउँबाट आशिर्वाद नपाएर हो कि? या चुनाव नगराउने मनशायले गठबन्धन लामो समय टिकाउनको निम्ति हो कि जनता जान्न चाहन्छन्। मैले सरकारसँग माग गर्न चाहन्छु।’

त्यस्तै, सांसद विद्या भट्टराईले सरकारले बालविकासको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाइन्। उनले बालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई निर्धारित तलव सरकारले नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

‘बालविकासको उचित व्यवस्थापन सरकारले हालसम्म पनि गर्न सकेको छैन', उनले भनिन्, '२०७८/७९ मा बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरुको मासिक तलव न्यूनतम १५ हजार सरकारले निर्धारण गरेपनि हालसम्म निर्धारण गरेअनुसार उहाँहरुले तलव प्राप्त गर्नुभएको छैन। पाँच बजेसम्म काम गर्नुपर्ने अवस्था छ। बालविकासमा कार्यरत शिक्षक, कर्मचारी र सहयोगी कार्यकर्तामाथि राज्यले विभेद गरेको छ।’

सांसद बिनाकुमारी श्रेष्ठले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्गको ड्राइभर टोल खण्डमा सडकको किनारामा राखिएको बुद्ध मूर्ति तोडफोड गरिएको भन्दै निन्दा गरिन्। घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरिन्।

त्यस्तै, सांसद बिनादेवी बुढाथोकीले लालपूर्जा वितरण गर्न सरकारसँग माग गरिन्। उनले राष्ट्रिय भूमि आयोगको काम, कारबाही सुस्त गरेको आरोप लगाउँदै जग्गाको नापी भइसकेको स्थानमा जग्गाधनी पुर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै, सांसद शान्ता चौधरीले मुक्त कमैया र मुक्त कमलरीहरुको हालसम्म यथोचित पुनर्स्थापना नभएको भन्दै पुनर्स्थापना गर्न माग गरिन्। सरकार र मुक्त कमलरीबिच भएको १० बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न उनको माग थियो।

‘कमैया मुक्त भएको २२ वर्ष र कमलरी मुक्त भएको ९ वर्ष पुगिसक्दा पनि अझै कमैया, कमलरीहरुको उचित पुनर्स्थापना हुन सकेको छैन। यस अघिको सरकारले मुक्त कमैया र कमलरीको छोराछोरीहरुलाई पुनर्स्थापना र शैक्षिक विकासका लागि विशेष बजेट ल्याएपनि अहिलेको गठबन्धन सरकारले उक्त बजेट कटौती गरेको छ', उनले भनिन्, 'मुक्त कमैया र मुक्त कमलरीहरुलाई यथोचित पुनर्स्थापनाको लागि माग गर्दछु। सरकार र मुक्त कमलरीहरुसँग भएको १० बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गरोस् सरकारले भन्ने कुरा जोडदार माग गर्न चाहन्छु।’

त्यस्तै, प्रतिनिधिसभा सदस्य हीरा गुरुङले द्वन्द्वपीडितको समस्या समाधान गर्न ठोस् योजना ल्याउन सरकारसँग माग गरिन्। उनले राजनीतिक परिवर्तन गर्न भुमिका खेल्ने द्वन्द्वपीडितको मन नदुखाउन आग्रह गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell