
बुटवल : रुपन्देहीको तिलोत्तमामा कार्यालय सञ्चालन गरी ठगी धन्दामा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकी नगरस्थित एक घरमा तीन वटा फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले विशेष सूचनाका आधारमा आइतवार उक्त कार्यालयमा छापा मारेको हो। त्यस क्रममा झन्डै तीन सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।उक्त कार्यालयमा भारतीय नागरिकको समेत लगानी रहेको खुलेको छ। उक्त कार्यालयबाट मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
उक्त कार्यालयबाट अरु केके काम भइरहेको छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।