काठमाडौं : साफ यु-२० च्याम्पियनसिपका लागि भारत पुगेको नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले नेपाल उपाधिको दाबेदार भएको दाबी गरेका छन्। भारतको भुवनेश्वरमा आज भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका हुन्।
उनले २ महिनायता टोलीले तयारी थालेको र यस टोलीबाट धेरै अपेक्षा गरिएको बताए। कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यस पटक खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो।
‘हाम्रो टिम बलियो छ। हामीले जितका लागि तयारी गरेका छौँ। साफ रिजनको कुरा गर्दा सबै टोली एउटै स्तरका छन्। पहिलो म्याच माल्दिभ्ससँग छ। दुवै बराबरीका टिम हुन्। हामीले केही फरक तयारी गरेका छौँ। यसमा थप काम गर्न सके उनीहरुलाई सजिलै हराउन सक्नेछौँ,’ उनले भने।
साफको फुटबलबारे थाहा भएपनि उमेर समूहको भने प्रतियोगिता कम हुँदा धेरै कुरा थाहा नभएकोले त्यही हिसाबले तयारी गरेको बताए।
‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समूहका खासै प्रतियोगिता भएको छैन्’, प्रशिक्षक केसीले भने, ‘अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन। तर, हामी यहाँ जित्न आएका हौँ।’
त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए। यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने कप्तान आयुषले बताए। प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ। भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ।
‘पहिलो म्याच माल्दिभ्ससँग छ। हामीलाई कुनै दवाब छैन। हामी तीन अंकका लागि खेल्नेछौँ। हामी अन्तिमसम्म फाइट गर्नेछौँ,’ कप्तान घलानले भने।
पत्रकार सम्मेलनमा माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए। तर, टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ।
यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो। यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो।
प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबिच अगस्ट ५ मा फाइनल खेल हुनेछ।