
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबु कुमार यादवले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन्। आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले खेतीको समयमा पानी नपरेर मधेश प्रदेशका किसानहरु समस्या भएको बताए।
उनले बन्द रहेका नहरहरु सञ्चालन गर्न, बन्द भएका डिप ट्युबवेलहरुमा मोटर जडान गरी सञ्चालन गर्न र विद्युतको जडान गर्न पनि सरकारको ध्यानाकर्षण गराए। उनले किसानलाई विद्युत पूर्ण रुपमा छुट गराउनुपर्ने बताए।
उनले भने, ‘सरकारलाई रुलिङ होस् आजैका दिनदेखि बन्द भएका नहरहरु, बन्द भएका डिप ट्युब वेलहरु जसमा मोटर जडान गर्न बाँकी छ मोटर जडान गरोस्। विद्युतको काम बाँकी छ, विद्युत जडान गरोस् तर आजैदेखि सिचाइँमा जाओस्। मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरियोस्। त्यहाँको किसानको राहतको लागि प्याकेज लिएर आओस्।’
उनले बैंकले कृषिमा लगानी बन्द गरेको भन्दै यसले किसानहरु मारमा परेको बताए। सांसद यादवले किसानलाई प्रतिबिगाहा १० हजारका दरले राहत दिनुपर्ने बताए।