PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राजेन्द्र लिङ्देनको चिन्ता : देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थाल्यो



पहिलोपोस्ट

राजेन्द्र लिङ्देनको चिन्ता : देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थाल्यो
फोटो : न्युज एजेन्सी नेपाल।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्। आइतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यकता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्ण रुपले अभिभावकविहीन भएको बताए। उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताए।

अध्यक्ष लिङ्देनले नेपाली जनताको चाहनाविपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए। उनले कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे।

अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको स्पष्ट पारे। उनले अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे।

उनले भने, ‘राजनीतिक परिवर्तनमा समेत परिवर्तन गरेर जान जरुरी छ। भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेपछि मात्रै देशले स्थिरता प्राप्त गर्नसक्छ। यो बाटो नै यो देशको समस्याको समाधानको बाटो हो। यसलाई बलियो ढंगले जनताको बिचमा लैजानुपर्छ। आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बिचमा जानेछौँ।’

अध्यक्ष लिङदेनले राप्रपाले उठाएका मुद्दाहरु कहिल्यै पूरा हुँदैनन् भन्ने गरेको भएपनि एकदिन अहिलेका प्रमुख दलहरु राप्रपाले उठाएको मुद्दामा सहमत हुने दाबी गरे। उनले आफूले देश र जनताको विकासका मुद्दा उठाएकोले सबै पार्टी सहमत हुने दिन नजिक रहेको बताए।

अध्यक्ष लिङदेनले राप्रपाले अघि सारेका मुद्दा र मार्गचित्र देश विकास र देशका हालका समस्या समाधानका लागि अपरिहार्य रहेको दाबी गरे। उनले देशको समस्या समाधान गर्न पार्टीले आगामी निर्वाचनमा निश्चित संख्याको शक्ति आर्जन गर्न सक्नुपर्ने बताए।

उनले भने, ‘हाम्रा मुद्दा असफल भए देशले लामो समयसम्म अहिलेको अराजकता मानेर जाने मात्रै होइन, झनै व्यापक रुपमा ठूला राष्ट्रशक्तिको द्वन्द्वको शिकार बन्नुपर्छ। आउने चुनाव शान्तिपूर्ण ढंगले कुनै ध्वंसात्मक गतिविधि नगरी देशलाई सुबाटोमा लैजाने अवसर हो। हामीले सारेको देशको लागि वैकल्पिक मार्गचित्र अपरिहार्य छ। त्यसैले हामीले आगामी चुनावमा बुद्धिमतापूर्वक निर्वाचनको उपयोग गर्नुपर्छ। परिवर्तन आवश्यक छ र अनिवार्य छ र हुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell