PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हजुरआमासँग जोडिएको खगेन्द्रको फिल्म 'पानीफोटो', भन्छन् : जनयुद्धको कथा भन्न पाउनुपर्छ



लक्ष्मी बलायर

हजुरआमासँग जोडिएको खगेन्द्रको फिल्म 'पानीफोटो', भन्छन् : जनयुद्धको कथा भन्न पाउनुपर्छ

काठमाडौं : सन् २००९ तिर खगेन्द्र लामिछाने बीबीसीमा काम गर्थे। त्यहाँ उनी रेडियो नाटक बनाउँथे। उनका साथी शशांक पौडेल भने ‘रिसर्च डिपार्टमेन्ट’मा कार्यरत थिए। एकदिन शशांकलाई जनयुद्धका बेपत्ता भएका मानिसहरूको परिवारसँग गरिएको अन्तर्वार्ताको अंग्रेजीमा अनुवाद गर्ने काम आएछ। अन्तवार्ता पुरै पढ्दा शशांक निकै भावुक भएछन्। उनले आफूले पढेको अन्तर्वाताको बारेमा खगेन्द्रलाई सुनाए।

‘खगेन्द्र तिमी त नाटकहरू लेख्छौ। जनयुद्धमा बेपत्ता परेका परिवारको अन्तर्वाताको ड्राफ्ट ट्रान्सक्राइभ गरेको, निकै मार्मिक कथाहरू पो रहेछन्। म त कैयौँ पटक रोए यार। तिमी पनि पढ। तिमीले केही लेख्न सक्छौ,’ यति भनेर शंशाकले त्यो ड्राफ्ट खगेन्द्रलाई दिए।

खगेन्द्रले द्वन्द्ध पिडित परिवारको कथा पढे। मृतक र बेपत्ता परिवारका आफन्तले भोगेका दु:खहरू पढ्दै जाँदा खगेन्द्र पनि निकै भावुक भए। ‘बेपत्ता’ भन्ने शब्दले उनलाई निकै घोच्यो। त्यसपछि उनी बाल्यकालमा फर्किए।

सानो छँदा खगेन्द्र मामाघर जान रुचाउँथे। त्यहाँ उनकी हजुरआमा हराएको जेठो छोरो नफर्किएको भन्दै बिलौना पोख्थिन्। हरेक वर्ष हजुरआमाको एउटै दुखेसो हुन्थ्यो : मेरो जेठो छोरो यति वर्षको भयो। तर यतिका वर्ष भयो कहिले आउँछ होला?‍

हजुरआमाका कुरा सुनेपछि खगेन्द्र पनि मनमनै सोच्थे : मामा आएको भए मेरा नि तीनवटा मामा हुन्थे। मामा फर्किएको भए मामाघरमा कति रमाइलो हुन्थ्यो होला।

मामा बेपत्ता हुँदा हजुरआमाले भन्ने कुराले उनको अर्धचेतन मस्तिष्कमा कब्जा गरेको थियो। बाल्यकालका ती दृश्यलाई त्यो अन्तर्वाताले ताजा गरिदिएको उनको भनाई छ।

‘अन्तर्वाता पढ्दा म निकै भावुक भए। हजुरआमा र आमाको पिडालाई झन महसुस गरेँ। सामान्य अवस्थामै मामा हराउँदा हजुरआमाको अवस्था र छटपटी मैले देखेको छु। अन्तर्वातामा बेपत्ता भएका परिवारले पनि त्यस्तै कुराहरू गर्नुभएको थियो। हजुरआमासँगको याद जोडिएकोले पनि ‍म निकै रोएँ। धेरै वर्ष भइसक्यो मेरो हजुरआमाले छोरो बिर्सिन सक्नुभएको छैन। उहाँहरूको त झन आलै घाउ छ,’ उनले सुनाएँ।

त्यसपछि हजुरआमासँग ‘रिलेट’ गर्दै नाटक लेख्न थाले खगेन्द्र। भावनात्मक रूपमा हजुरआमासँग जोडिएको नाटकलाई थिएटरमा मञ्चन गर्नु थियो। उनले जनयुद्धमा मारिएका र बेपत्ता पारिएका परिवारका सदस्यसँग भेट्न थाले। उनीहरूका दु:ख र वेदना सुन्न थाले। अनि ति भावनाहरूलाई समेट्दै तयार भयो नाटक ‘पानीफोटो’ अर्थात फोटो नेगेटिभ।

नाटक ‘पानीफोटो’ सन् २०१० मा आरोहण गुरूकुल थिएटरमा मञ्चन भयो। नाटकप्रति सकरात्मक प्रतिक्रिया समेत आइरहेको थियो। मञ्चनको एकदिन एकजना युवक खगेन्द्रसामु आएछन्। ती युवकले आउने बित्तिकै खगेन्द्रलाई अंगालो हालेछन् र, बेस्सरी रोए। खगेन्द्रले सोधे, ‘के भयो तपाईँलाई? किन रूनुभएको?

जवाफमा ती युवकले भनेछन् ‘हजुरको नाटकमा मेरो भोगाई पाएँ। जनयुद्धमा मेरो दाइ र दिदी पनि बेपत्ता छन्। नाटक हेर्दा आफ्नै दु:ख भनेजस्तो लाग्यो। उहाहरूलाई सम्झेर रून मन लागेको हो।’

खग्रेन्द्र भन्छन्, ‘आफन्त गुमाएको वियोगमा धेरै व्यक्तिहरू रोइरहेका होलान्। यो नाटक देखाएर त्यस्ता व्यक्तिहरूलाई थप पीडा दिए जस्तो लाग्यो। गलत पो गरे कि जस्तो महसुस भयो।’

खग्रेन्द्र द्वन्द्व रोक्न शान्ति नै आवश्यक रहेको मत राख्छन्। द्वन्द्व कहिलै हुन नहुने भन्दै त्यसबाट पीडित व्यक्तिहरुको कथा सबैले बुझ्न पर्ने सोचे।

भने, ‘युद्ध कहिल्यै हुनुहुँदैन् भन्ने पक्षमा थिएँ। त्यसको लागि द्वन्द्वबाट पर्ने प्रभाववारे धेरैलाई बुझाउनु आवश्यक थियो। युद्धबाट पर्ने प्रभावबारे जनतालाई बुझाउन नै फिल्म बनाउने सोच आएको हो। मिलेर बस्नुपर्छ र युद्ध गलत हो भन्ने भावना जगाउन यो नाटकलाई फिल्मको लागि रोजेको हुँ।’

करियरको उकालो यात्रा

सन् २०१३ मा खगेन्द्र थिएटरमा मात्रै सिमित रहेनन्। मनोज पण्डित निर्देशित फिल्म ‘बधशाला’ बाट खगेन्द्रले नेपाली सिने जगतमा पाइला टेके। त्यसपछि ‘टलकजंग भर्सेस टुल्के’मा लगानी समेत गरे। अभिनयमा पनि देखिए। त्यसपछि नै हो उनलाई आफ्नै निर्देशनमा फिल्म बनाउनुपर्छ भन्ने सोच आएको।

उनी आफ्नै लेखन रहेको फिल्म ‘पशुपति प्रसाद’ को मुख्य भूमिकामा देखिए। जसले चर्चाका साथै उनको बेग्लै पहिचान बनाइदियो। त्यसपछि ‘धनपति’,डमरूको ‘डन्डीबियो’, ‘जयभोले’लगायतका फिल्ममा देखिए उनी।

तर ‘जय भोले’ गरेपछि खगेन्द्रलाई नाटक ‘पानीफोटो’को कथा ठूलोपर्दामा भन्नुपर्छ भन्ने सोच आयो। अन अरू सबै कामलाई बिर्सिएर पानीफोटोलाई फिल्म बनाउन तिर लागे उनी।

खगेन्द्रकी हजुरआमा अहिले ९४ वर्षकी भइन्। अझै पनि उनी छोरा फर्किने आशमा बसिरहेकी छिन्। हजुरआमाको पर्खाइसँग नै जोडेर फिल्म ‘पानीफोटो’ तयारी सुरू गरेको उनले सुनाए।

सुरू भयो ड्रिम प्रोजेक्ट

सन् २०१८ देखि ‘पानीफोटो’ कै तयारीमा लागेको बताउँछन् खगेन्द्र। ‘यसै फिल्मको लागि मैले अरू फिल्म पनि खेलिनँ। म पूर्णरूपमा यसैमा लागेको हुँ। अरू फिल्म बनाउँन्छु कि बनाउँदिन तर यो फिल्म जसरी नि बनाउन्छु भन्ने लागेको थियो। यो फिल्म आफै बनाउने मेरो सपना नै हो। जब कुनै चिजले छुन्छ भने त्यो सुनाएर नै छोड्छु भन्ने हुँदो रहेछ,’ उनले भने।  

फिल्म छायाङ्कनमा जानु अगाडि नै उनले प्राविधिक र कलाकारले बुझ्ने स्टोरी बोर्ड तयार गरे। त्यसपछि फिल्म ‘पानीफोटो’ टिम सुटिङमा निस्कियो। स्याङ्जा, रोल्पा, बर्दियालगायत स्थलमा फिल्मको छायाङ्कन थियो। ४८ दिनमा छायाङ्कन सकियो। तर, लगत्तै कोरोना भाइरसको दोस्रो भेरियन्टले सबै क्षेत्र पुन: ठप्प हुन पुग्यो। खगेन्द्रलाई कोरोनाले आफ्नो सपनामा ‘ब्रेक’ त लाग्ने होइन भन्ने लाग्यो।

‘फिल्म त बन्यो तर फेरि कोरोना आयो। यो कोरोनाले म मर्न पनि त सक्छु नि। मेरो सपना त पुरा भयो तर कतै म यो फिल्म हेर्न नपाई मर्छु कि !,’ उनले सुनाए। खगेन्द्र र अनुपका साथै मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ्, बुद्धि तामाङ्, कमलमणी नेपाल अभिनित यो फिल्म साउन १३ गतेदेखि प्रदर्शन हुँदैछ।

फिल्ममा जनयुद्धमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारका सदस्यलाई पारेको प्रभाव र जनयुद्धपछिको परिणाम समेटिएको छ। आफूले पानीफोटो बनाउन पूरा इमान्दारिताका साथ काम गरेको उनको दाबी छ।

‘यो मेरो ड्रिम प्रोजेक्ट हो। त्यसैले मैले मेरो सपना इमान्दारिताका साथ पुरा गरेको छु। फिल्म सरल भए पनि मेरो तर्फबाट बेस्ट स्टोरी भन्ने कोसिस गरेको छु। तर, दर्शकले यसलाई कसरी लिन्छन् त्यो सेकेन्डरी कुरा हो। आफ्नो मनबाट भन्न मन लागेको कथा मैले भनेको छु,’ उनले भने।

पछिल्लो समय जनयद्धका विषयमा धेरै फिल्म बन्ने गरेका छन्। नेपाली फिल्मकर्मीहरुले जनयुद्धको दु:खद् कथा मात्रै देखेको धेरैको आरोप छ। तर खगेन्द्र भने ‘फिल्ममेकर’ले आफ्नो तरिकाले आफ्नो ‘स्टोरी’ भन्न पाउनुपर्ने तर्क राख्छन्।

‘जनयुद्धका कथा भन्ने बेला भएको छ या छैन र दर्शकले इन्जोय गर्छन् या गर्दैनन् यो फरक पाटो हो। तर मेकरले आफ्नो तरिकाले फिल्म भन्न पाउनुपर्छ। यदि कुनै कथाले मेकरको मन छोएको छ भने त्यो कथा भन्नैपर्छ,’ उनी भन्छन्।

+++++

फिल्म ‘पानीफोटो’ बाट खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यू गर्दैछन्। लेखक,कलाकार हुँदै निर्देशक बनेका ‍उनी निर्देशन चुनौतीपुर्ण कार्य रहेको बताउँछन्।

‘साँच्चै नै निर्देशन निकै चुनौतीपुर्ण काम हो। पुरै कथालाई कसरी अगाडि बढाउने भन्ने कुरा निर्देशकको हातमा हुन्छ। फिल्मको भाव केहो? सिन के हो? भन्ने ध्यान दिने निर्देशकको जिम्मा हो।’

तर, खगेन्द्रसँग यसअघि नाटक निर्देशन गरेको अनुभव पनि छ। नाटक र फिल्ममा लगभग निर्देशकिय पाटोहरू मिल्दोजुल्दो हुँदा सहज भएको सुनाउँछन् उनी। ‘मैले नाटक निर्देशन गरेको भएर धेरै कुराहरू मिल्दो रहेछ। नाटकमा पनि कलाकारसँग पात्रबारे छलफल गरिन्छ त्यस्तै फिल्ममा पनि हुन्छ। प्राविधिक पक्षहरूमा पनि धेरै समानता हुन्छन्। नाटकमा अनुभव भएकाले त्यस्तो जोखिम र गाह्रो भएन। प्रि प्रोडक्सनमा निकै तयारी थियो जसकारण सरर काम भयो।’

निर्देशनमा आउँदा साथीहरूले गलत निर्णय गरेको भनि बताएको सम्झन्छन् उनी। तर खगेन्द्रलाई भने यो काम गलत लागेन। हजुरआमासँग जोडिएको कथा भन्नु नै आफ्ना लागि ठूलो कुरा रहेको उनी सुनाउँछन्।

‘धेरैले मलाई किन निर्देशनमा गएको होला भने। साथीहरूले त तैले गलत गरिस् समेत भने। मलाई मनमा लागेको कथा भन्नु थियो। मनबाट गरेको काम कसरी गलत हुन सक्छ र? म जहिल्यै मन लागेको कुरा निकै गम्भिरताका साथ गर्छु। त्यसैमा इन्जोए गर्छु। त्यसैले कहिले पनि डराउँदिन,’ उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell