PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

पाल्पा बस दुर्घटना : सबै मृतकको सनाखत, घाइतेमध्ये ८ जना डिस्चार्ज



पहिलोपोस्ट

पाल्पा बस दुर्घटना : सबै मृतकको सनाखत, घाइतेमध्ये ८ जना डिस्चार्ज

बुटवल : पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत भएको छ। दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

दुर्घटनामा परि ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसीकोट नगरपालिका ७ का ४० वर्षीय लाल बहादुर राना, रुपन्देही देवदह नगरपालिका ७ की ८७ वर्षीया डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका २ का ४५ वर्षीय यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका ५ की २४ वर्षीया पूर्णीमा कामी र बागलुङ बडिगाड गाउँपालिका १० की ५५ वर्षीया यमकलि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

बागलुङको बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो।

त्यस्तै, दुर्घटनामा बस चालक रुपन्देहीको कन्चन गाउँपालिका ५ का ३३ वर्षीय किषन श्रीस, बागलुङको बडीघाट गाउँपालिका १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ का ५७ वर्षीय गोविन्द थापा, गुल्मीका चन्द्रकोट गाउँपालिका ८ की २१ वर्षीया रचना सुवेदी, सोही ठाउँका ६ वर्षीय रिया सुवेदी, १८ वर्षीया प्रियंका काफ्ले, ३१ वर्षीय चन्द्र बहादुर कामी, कपिलवस्तुको वाणगंगा नगरपालिका २ का ४२ वर्षीय पिताम्बर रेग्मी घाइते भएका थिए। 

त्यसैगरि, गुल्मीको सत्यवती गाउँपालिका ६ का ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँका १५ वर्षीय पुजन ढकाल, नवलपरासीको वर्दघाट नगरपालिका ५६ वर्षीय अम्मरे कामी, बागलुङको पाटनका ३० वर्षीय टेकलाल रसाइली, रौतहटको विरेन्द्रवन ७ का २८ वर्षीय सञ्जयकुमार ठाकुर, म्याग्दीको रुमा गाउँपालिका २ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँका ४ वर्षीय बिस्वाश रोका, रुपन्देहीको देवदह नगरपालिका ७ का खड्क बहादुर बिक घाइते भएका थिए।

घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा सिजन थापा, गोविन्द थापा, रचना सुवेदी, प्रियंका काफ्ले, रिया सुवेदी, छबिलाल ढकाल, पुजन ढकाल र अम्मरे कामी रहेका छन्।

अस्पतालमा उपचाररत घाइतेहरु मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको थियो।

बसका चालक किसन श्रीसका अनुसार हार्थोक तर्फबाट ओरालोमा झर्दै गरेको मोटरसाईकल गलत दिशामा आएको र त्यसलाई साइड दिने क्रममा चिप्लिएर बस दुर्घटना भएको हो। उनको खुट्टामा चोट लागेको छ। आइतबार बिहानदेखी दिउँसोसम्म बस दुर्घटना क्षेत्रमा पानी परेका कारण सडक चिप्लो समेत रहेको स्थानीयको भनाई छ। सडकको डिल भासीएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

उक्त ठाउँ नजिकै यसअघि मलामी सवार बस दुर्घटना भएको थियो। गत पुस १८ गते बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका थिए। ओरालो, घुम्ती र साँघुरो सडकका कारण यस क्षेत्रमा वर्षेनी दुर्घटनाका कारण अकालमै ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell