PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

दालको कन्टेनरभित्र प्रतिबन्धित विदेशी चुरोट, भन्सार क्लियरिङका एजेन्टसँग मिलेर दुबईबाट भारत हुँदै यसरी ल्याइयो नेपाल



राधेश्याम पटेल

दालको कन्टेनरभित्र प्रतिबन्धित विदेशी चुरोट, भन्सार क्लियरिङका एजेन्टसँग मिलेर दुबईबाट भारत हुँदै यसरी ल्याइयो नेपाल

वीरगंज : मुङको दाल ल्याइएको कन्टेनरमा ठूलो परिमाणमा प्रतिबन्धित विदेशी चुरोट बरामद भएपछि त्यसरी ल्याउने कम्पनीलाई वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ११ करोड जरिबाना गरेको छ।

भन्सार कार्यालयका अनुसार दालको कन्टेनरभित्र चुरोट आयात गर्ने कम्पनी काठमाडौंको टोखास्थित कालिका इन्टरप्राइजेज प्रालिलाई जरिबाना गरिएको हो। कम्पनी सञ्चालक टोखाका नवराज गिरीले भन्सार क्लियरिङ एजेन्ट निरन्जन घिमिरेसँग मिलेर ठूलो परिमाणमा विदेशी चुरोट भित्र्याउन खोजेको थिए।

यससँगै कम्पनी संचालक गिरी र भन्सार एजेन्ट घिमिरेका नाममा पक्राउ पुर्जी जारी गरिएको छ। हेटौँडा स्थायी घर भएका घिमिरे वीरगंजमा नै बसोबास गर्दै भन्सार क्लियरिङ एजेन्टको काम गर्दै आएका हुन्। दुवै जनालाई पक्राउ गरी यथाशीघ्र कार्यालयमा दाखिला गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पक्राउ पुर्जीको माग गरिएको छ।

अवैध किसिमले ठूलो परिमाणमा विदेशी चुरोट ल्याएको उक्त फर्मलाई पटक-पटक पत्रचार गरी कार्यालयमा उपस्थित हुन बोलाउँदा पनि नआएकाले साउन ६ मा पर्सा प्रहरीलाई पक्राउ गरी दाखिला गर्न पत्र पठाएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए।

कार्यालयलाई झुक्याएर मालसामान पास गराउन खोजेको आयातकर्ता कम्पनीका सञ्चालक र एजेन्टलाई भन्सार कार्यालयले १० करोड ७२ लाख रुपैयाँ जरिबाना निर्धारण गरेको छ। उक्त रकम तिरेपछि सो कम्पनीले माल लैजान पाउने कार्यालयले बताएको छ। अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढ्नेछ।

कन्टेनरमा दालसहित चुरोट बरामद भएको थियो। उक्त कन्टेनर भन्सार कार्यालयले शिल गरी जफत गरेको छ।

दुबईदेखि ल्याइएको थियो चुरोट

दालको कन्टेनरमा बरामद भएको चुरोट दुबईबाट भारत हुँदै नेपालसम्म आइपुगेको हो। दुबईबाट भारतसम्म पानीजहाजमा र भारतको कोलकत्ताबाट रेलमार्ग हुँदै वीरगंज सुक्खा बन्दरगाहमा आएको जीइएसयू ५०४८८०३४५ जी १ नम्बरको कन्टेनरमा गत जेठ दोस्रो साता आइपुगेको थियो।

गत जेठ १३ गते शंका लागी कन्टेनर खोलेर चेकजाँच गर्दा २६ हजार ६ सय १० किलो दाल भएको दाबी गरिएको कन्टेनरमा १४ हजार ८ सय २५ किलो मात्र दाल थियो। यसबाहेक ५८ लाख ३८ हजार ४ सय खिल्लीका चार सय कार्टुन विदेशी चुरोट भएको फेला परेको थियो।

कन्टेनर खोलेर हेर्दा अगाडि र पछाडिको भागमा मुङ दालको बोरा र बिच भागमा भने चुरोटका कार्टुन राखेको भेटिएको थियो।

कन्टेनरबाट इन्डोनेशियन ब्रान्ड गुडाङ गरम र बेलायती ब्रान्ड मोन्ड भेरियन्सका चुरोटहरु फेला परेको थियो। गुडाङ गरमले इन्डोनेशियामा ‘सूर्य’ ब्रान्ड नाममा समेत चुरोट उत्पादन गरेर विश्वका विभिन्न देशका बजारमा पुर्‍याउने गरेको छ।

गुडाङ गरम र मोन्ड भेरियन्स दुवै ब्रान्डका विदेशी चुरोट नेपाली बजारमा अहिले पनि पाइराखेका हुन्। तर, भन्सार नाकालाई छक्याएर कर छली गर्दै यसरी ठूलो परिमाणमा चुरोट भित्र्याउन खोजिएको फेला परेको भने पहिलोपटक नै भएको बताइएको छ।

नेपालमा पछिल्लो पाँच वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणासम्म बढेपछि अहिले चुरोट असाध्यै महँगो भएको छ। नेपालमा उत्पादन भई बिक्री हुने चुरोटमा ५५ देखि ७० प्रतिशतसम्म कर लाग्ने गरेको छ।

चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, भ्याट लगायतका कर लाग्ने गरेको छ। जुन कर अन्य देशमा चुरोटमा लगाएको भन्दा धेरै रहेको समेत बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell