बुटवल : रुपन्देही प्रहरीले अवैध सालका गोलिया बरामद गरेको छ। रुपन्देहीको कञ्चन गाउँपालिका-५ स्थित डाँडालाइनमा लुकाई राखेको अवस्थामा प्रहरीले करिब ४२ क्युफिट सालका गोलिया बरामद गरेको हो।
अवैध रुपमा सालको काठ लुकाई राखेको छ भन्ने सूचनाको आधारमा आइतवार दिउँसो ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले उक्त काठ बरामद गरेको हो। बरामद काठको मूल्य दुई लाख १० हजार हुने बताइएको छ।
जनप्रतिनिधि र स्थानीयहरुको रोहबरमा बरामद गरिएको उक्त काठ रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहलाई बुझाएको प्रहरीले जनाएको छ।