PahiloPost

Jul 3, 2024 | २० असार २०८१

निर्वाचन आयोगमा सनाखत गरेर प्रचण्डलाई बामदेव गौतमले भेटे सिंहदरबारमा



पहिलोपोस्ट

निर्वाचन आयोगमा सनाखत गरेर प्रचण्डलाई बामदेव गौतमले भेटे सिंहदरबारमा

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। सिंहदरबारमा दुई नेताबिच भेट भएको नेकपा एकता राष्ट्रिय अभियानका सचिवालय सदस्य निमकान्त पाण्डेले जानकारी दिए।

वाम एकताका लागि भन्दै गौतमले पछिल्लो समय ठूला कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गरिरहेका छन्। यसअघि पनि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले सिंहदरबारमा एकता/सहकार्यबारे छलफल गरेका थिए।

सोमवार प्रचण्डसँगको भेटमा गौतमले पार्टी एकताबारे कुराकानी गरेको पाण्डेले बताएका छन्।

‘कुनै एउटै विषयमा छलफल भएको होइन। विभिन्न विषयमा छलफल भयो। पार्टी एकताका विषयमा त निरन्तर छलफल भइरहेकै छ,’ उनले भने।

प्रचण्डलाई भेट्नुअघि गौतम निर्वाचन आयोग पुगेका थिए। आयोगले पार्टी दर्ताका लागि निवेदन दिएको एकता राष्ट्रिय अभियानका नेताहरुलाई सनाखतका लागि बोलाएका थियो।

निर्वाचन आयोगमा सनाखतका लागि नेताहरु गएको पाण्डेले पुष्टि गरे। उनले अब पार्टी दर्ता प्रमाणपत्रको पर्खाइमा एकता राष्ट्रिय अभियान रहेको जानकारी दिएका छन्।

गौतमले आफ्नो पार्टी घोषणा गर्दै मुख्य उद्देश्य तत्कालीन नेकपा ब्युँताउने भएको बताएका थिए। उनले पछिल्लो समय नेकपाका तत्कालीन नेताहरुसँग भेटेका छन्। पार्टी एकता नभए एकता संयोजन समिति बनाउनुपर्ने प्रस्ताव गौतमले गर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell