PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

युवतीको निजी तस्विर दुरुपयोग गरेर ब्ल्याकमेलः यौन सम्पर्क गर्न नमानेपछि जबर्जस्ती करणीको प्रयास



रमेश पराजुली

युवतीको निजी तस्विर दुरुपयोग गरेर ब्ल्याकमेलः यौन सम्पर्क गर्न नमानेपछि जबर्जस्ती करणीको प्रयास

बुटवलः युवतीको तस्बिर दुरुपयोग गरी ब्ल्याकमेलिङ गर्दै जबर्जस्ती करणी गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गैडहवा गाउँपालिका ९ का २१ वर्षीय जगन्नाथ मल्लाह र १७ वर्षीय किशोर रहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।

रुपन्देही सैनामैनाकी १९ वर्षीया युवतीले एकवर्षअघि आफ्नो मोबाइलमा खिचेका तस्बिर फेला पारी उनीहरुले ब्लाकमेलिङ सुरु गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

बार्गेनिङ गरी यौन सम्पर्क गर्न ती युवाले गरेको माग अस्वीकार गरेपछि जबर्जस्ती गर्न खोज्दा भागेकी युवतीलाई प्रहरीले उद्धार गरेको थियो। निजी तस्बिर सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाएर भाइरल बनाइदिने डर धम्की दिँदै आफूसँग यौन सम्बन्ध राख्न प्रस्ताव गरेको पीडित युवतीको भनाइ छ।

यसरी सुरु भयो ब्ल्याकमेल

करिब डेढ बर्ष पहिले युवतीले आफ्नो मोबाइलमा खिचेका निजी तस्विर अपरिचित व्यक्तिले फेला पारेपछि ब्ल्याकमेलिङ सुरु भएको युवतीले प्रहरीलाई दिएको बयानमा बताएकी छिन्। ती फोटा युवतीकी बहिनी नाता पर्ने एकजनालाई केही दिनअघिदेखि पठाएर ‘तेरो दिदीको बेइज्जत गरिदिन्छु, फोटो भाइरल गराइदिन्छु, यदि इज्जत बचाउने हो भने दिदीलाई मैले भनेजस्तो गर्न भन्’ भन्दै म्यासेज पठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि युवतीले डरमा परेर ती अपरिचित व्यक्तिलाई आफ्नो फोन नम्बर दिएको पाइएको छ। नम्बर पाएपछि पटकपटक फोन गरी भेट्न आउने भए आउ नत्र फोटो भाइरल गराइदिन्छु भनी डर धम्की दिएपछि ती युवती शनिबार साँझ भेट्न तयार भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

साँझ करिब आठ बजेको आसपासमा ती युवकसँग युवतीको भेट भएको प्रहरीले जनाएको छ। फोटा डिलिट गरिदिन युवतीले अनुरोध गरे पनि उनीहरुले केही तल आमी भन्ने ठाउँमा जाऔँ, अनि त्यहीँ बसेर डिलिट गरौँला भनी ९ बजे अटोमा चढाई दुई किलोमिटर टाढा कञ्चन गाउँपालिकाको हात्तीबजारमा लगेको युवतीले प्रहरी बयानमा बताएकी छिन्।

त्यहाँ पुगेपछि ती युवकहरुले यौन सम्पर्क गर्न नदिएसम्म फोटा डिलिट नगर्ने शर्त राखेको पीडित युवतीले प्रहरीलाई बताएकी छिन्। इज्जत बचाउने भए यौन सम्पर्क गर्नुपर्छ भन्दै जबर्जस्ती करणीको प्रयाससमेत गरेको युवतीले प्रहरीसँग बताएकी छिन्।

त्यसपछि युवती त्यहाँबाट भागेर कलौनी–लुम्बिनी मूलबाटोमा निस्किएको खुलेको छ। युवती भागेपछि पुनः ती युवकले फोन गरेर भोलि बिहान फेसबुकमा तस्बिर भाइरल गराइदिने धम्की दिएपछि एकान्त ठाउँमा रुँदै  बसेको अबस्थामा राति पौने ११ बजे प्रहरीको गस्ती टोलीसँग भेट भएको थियो।

पीडित युवतीले प्रहरी निरीक्षक मरासिनीलाई आफू ब्ल्याकमेलिङमा परेकोले बचाउन अनुरोध गरेपछि प्रहरी युवतीलाई बलात्कारको प्रयास गर्ने युवाहरुको खोजीमा लागेको थियो।

खोजीका क्रममा युवकलाई राति १ बजे सैनामैना नगरपालिका ७ देउवापारबाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट ब्ल्याकमेलिङमा प्रयोग भएको एउटा स्मार्टफोन र १२ थान कण्डम बरामद भएको प्रहरी निरीक्षक मरासिनीले बताए।

पक्राउ परेका दुवै जनामाथि जबर्जस्ती करणी उद्योग कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell