काठमाडौं : आज नेवार समुदायले गथांमुग: पर्व मनाउँदैछ। प्रत्येक वर्ष दिलागा चर्हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो।
आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाउने प्रचलन छ। भूतप्रेत, बोक्सी लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने गरिएको कथन छ।
फलामबाट राक्षसी शक्तिलाई पराजित गर्न बेलुकी घरको मूल ढोकामा (प्यांकी) तीन खुट्टे फलामे किला ठोक्ने प्रचलन समेत रहेको छ। यसबाट घरभित्र भूतप्रेत पस्न नसक्ने र फलाम ठोकेपछि घरबाट राती बाहिर निस्कन नहुने जनविश्वास रहेको छ।
खेतीपातीको समय सकेपछि मानिसहरु आराम गर्ने यो समयमा उनीहरुलाई सफा गर्ने प्रोत्साहन गर्ने स्वरुप यो पर्व सुरु भएको स्थानीय बताउँछन्।
धेरैले गथांमुग:को अर्थ घण्टाकर्ण हो भन्ने बुझेका छन्। आजको दिनलाई घण्टाकर्णका रुपमा समेत व्याख्या गर्ने गरिन्छ। तर, गथांमुग: र घण्टाकर्ण फरक फरक पात्र हुन्। त्यसैले गथांमुग:लाई घण्टाकर्ण भन्न नहुने आवाज पनि उठिरहेको छ। नेपाल भाषामा ‘गं’ (घण्ट) र ‘ग:’ (शहर)को अर्थ फरक हुन्छ। तर, कुनै कालखण्डमा ‘ग:’ लाई ‘गं’ बुझेर गथांमुग:लाई घण्टाकर्णका रूपमा व्याख्या गर्न नहुने संस्कृतिविदहरुको मत छ।
संस्कृतिविद् ओम धौभडेल घण्टाकर्ण देवता नमान्ने राक्षस रहेको बताउँछन्। राक्षसले धेरै दु:ख दिएपछि उसलाई समाएर गथांमुग:को दिन चोकमा उभ्याएर बेलुकी खोलामा लगेर फालेको सम्झनामा घण्टाकर्णको दहन गर्दै आएको बताउँछन्।
त्यसैले आजको दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नर्कट र छ्वालीबाट राक्षसको प्रतीक बनाई त्यसलाई जलाउने परम्परा रहेको छ। भक्तपुरका टोलटोलमा घण्टाकर्णको प्रतीकका रुपमा छ्वालीबाट राक्षस बनाएर जलाउने गरिन्छ। कतैकतै भने घण्टाकर्णलाई नगरबाट तानेर खोलासम्म लगेर बाल्ने चलन रहेको छ।