PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

वाग्मतीमा बढ्दै कोरोनाको ग्राफ, प्रदेशका स्वास्थ्य मन्त्री भन्छन् : संक्रामक रोग फैलिनबाट रोक्न पूर्वतयारी आवश्यक



पहिलोपोस्ट

वाग्मतीमा बढ्दै कोरोनाको ग्राफ, प्रदेशका स्वास्थ्य मन्त्री भन्छन् : संक्रामक रोग फैलिनबाट रोक्न पूर्वतयारी आवश्यक

हेटौंडा : वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पछिल्लो समयमा प्रदेशमा कोरोना संक्रमणको ग्राफ उकालो लागेकोले सबैजना सजग हुनुपर्ने बताएका छन्। वाग्मती प्रदेश सभामा सार्वजनिक महत्वको बारेमा वक्तव्य राख्दै उनले संक्रमण फैलिन नदिन सरकार प्रतिकार्यका लागि तयार अवस्थामा रहेको भन्दै खोपमा विशेष ध्यान दिन जोडसमेत दिएका छन्।

'पछिल्लो समय कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ उप-प्रजातिहरू विश्वव्यापी रुपमा फैलिदै गएसँगै नेपालमा पनि यसको संक्रमण दर बढिरहेको छ,' मन्त्री लामाले भने, 'वाग्मती प्रदेशमा दोस्रो लहरपश्चात दैनिक नयाँ संक्रमितको संख्या घट्दै २० जनाको हाराहारीमा पुगेको अवस्थाबाट हाल पुन: संक्रमण बढ्दै साउन ८ गतेको दिनमा आइपुग्दा दैनिक २३४ जना नयाँ संक्रमित पुष्टि भएको छ।'

कोरोनाविरुद्ध खोप अभियान वाग्मतीमा शतप्रतिशत सफल भएको उनले बताए। मन्त्री लामाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिले पनि सचेतना फैलाउन अति आवश्यक रहेको बताए।

'कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रणको लागि खोपको साथसाथै आम नागरिकहरुमा सचेतना फैलाउन अति आवश्यक छ। नागरिकहरुलाई कोभिड-१९ को बुस्टर डोज सम्मका सबै मात्रा समयमै उपलब्ध गराउने कार्यमा सबैको सहयोगको लागि अनुरोध गर्न चाहन्छु,' लामाले भने।

त्यसैगरी लामाले मंकिपक्स, झाडापखला, हैजा, डेंगु,स्क्रब-टाइफसजस्ता संक्रामक सरुवा रोगहरुको समयमै पूर्वतयारीका साथ रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाउन पनि आग्रह गरेका छन्।

'यस्ता स्वास्थ्य समस्या रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि समुदायमा जनचेतना अभियान, स्वास्थ्यकर्मीहरुको परिचालन तथा क्षमता विकास, स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधि तथा उपकरणको व्यवस्थापन आदि कार्यहरु संचालन गर्नको लागि स्थानीय तहहरु, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरु, सरोकारवाला निकायहरु, जनप्रतिनिधिहरु, सुरक्षा निकायहरु, संचारकर्मीहरु, अभियन्ताहरु लगायत सम्पूर्ण जनसमुदायको ऐक्यबद्धताको लागि हार्दिक अपिल गर्न चाहन्छु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell