PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

सांसद विश्वकर्माको आशंका : देश अधोगतितिर लागेको कारण कतै हाम्रा तथ्यांकहरुमा समस्या त छैन?



पहिलोपोस्ट

सांसद विश्वकर्माको आशंका : देश अधोगतितिर लागेको कारण कतै हाम्रा तथ्यांकहरुमा समस्या त छैन?

काठमाडौं : नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गरे। मंगलवार सरकारले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताएका हुन्।

उनले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताए। सांसद विश्वकर्माले राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनु पर्ने बताए। उनले सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जातीहरु वा थरहरुमा आफ्नो विमति रहेको बताए।

उनले भने, ‘हाम्रो देश अहिले अधोगतितिर लागेको कारण कतै हाम्रा तथ्यांकहरुमा समस्या त छैन भन्ने प्रश्न उठेको छ। हामीकहाँ राष्ट्रिय परिचयपत्र बन्दैछ। त्यसमा सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जातीहरु वा थरहरु विगतमा लामो समयको शोषण, अन्याय, अत्याचार, विभेदका कारण अपमानित भएका थरहरुलाई राष्ट्रिय परिचयपत्रमा राखिदिएकोमा यो समुदायको ठूलो आपत्ति छ। दमाई राखिएको छ, शब्दकोषमा जाँदा कपडा सिलाउने जातीलाई दमाई भनिन्छ भनिएको छ। तर, दमाई होइन, यो परियार जाती हो। कामी भनेर राखिएको छ, फलामको काम गर्नेलाई कामी भनिएको छ, तर विश्वकर्मा हो कामी होइन। सबैले फलामको काम गर्दैनन्।’

सांसद विश्वकर्माले अहिलेको तथ्यांक विधेयकले देशको तथ्यांकका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell