PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर, घर-घरमा छिर्न थालेको स्थानीयको गुनासो



रासस

ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर, घर-घरमा छिर्न थालेको स्थानीयको गुनासो
फोटो : रासस

काठमाडौं : काठमाडौं महानगरपालिका-५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ। ढल फुटेर सडक जलमग्न भएका कारण सवारी आवतजावत र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन।

ढल फुटेर रुद्रमती (धोबीखोला)मा मिसिन थालेको छ। ढल जाम भएर घर-घरमा छिर्न थालेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरे। धोबीखोला कोरिडोर बनाउनुअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल विच्छ्याएको थियो।

त्यसबेला गुणस्तरीय काम नभएकाले प्रत्येक वर्ष वर्षातका सयमा यो सडकमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ। वडाध्यक्ष वीरेन्द्र प्रजापति कालोपुलसम्म ढल जाम हुँदा यस क्षेत्रमा समस्या भएको बताउँछन्। यस विषयमा अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनियरलाई जानकारी गराएर स्थलगत रुपमा पनि देखाएको उनले जानकारी गराए।

अधिकार सम्पन्न वाग्मतीलाई देखाएको एक हप्ता पूरा भएपनि समस्या समाधानका लागि कुनै पहल भने भएको छैन। अधिकार सम्पन्न वाग्मतीले दुई दिनसम्म प्राविधिकलाई समस्या समाधानका लागि खटाएको जनाएको छ।

समितिका सूचना अधिकारी कमल अर्याल त्यस क्षेत्रमा भूमिगत गरिएको विद्युतको लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको बताउँछन्। वर्षातमा खोलामा पस्न नसकिने र ढलमा बालुवा भरिएकाले पनि पानी बाहिर आएको उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell