
काठमाडौं : सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेनेबल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने १०.५ मिलियन युरो करिब १ अर्ब ३५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साउन ९ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो जानकारी दिएका हुन्।
उनले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीजरल्याण्डबाट प्राप्त हुने ७.४७ मिलियन स्विस फ्र्यांक करिब ९८ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताए।
उनले भने, ‘सरकारले उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोवार प्रारम्भ गर्न, म्याद थपसम्बन्धी समयभित्र निवेदन दिन नसकी म्याद थप हुन नसकेका तर भौतिक संरचना निर्माण लगायतको कार्य गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योगले म्याद थपको लागि निवेदन दिएमा उद्योग स्थापनाका लागि गर्नुपर्ने निर्णय कार्य लगायत कामको प्रगति र उद्योगको प्रकृति हेरी प्रचलित कानुन बमोजिमको विलम्व शुल्क लिई उद्योग दर्ता गर्ने निकायले तोकेबमोजिम म्याद थप गर्नसक्ने गरी बाधा अड्काउ फुकाउ गर्ने आदेश जारी गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ।’
त्यस्तै, सरकारले फिनल्याण्डमा साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल तथा सचिव सिंचाई सागर कुमार राईलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, विश्व व्यपार संगठन नेपालको आयात व्यवस्थापनसम्बन्धी कानुन र अभ्यास समेतका आधारमा आयात व्यवस्थापन तथा न्यूनिकरण गर्न नेपाल सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने पनि निर्णय गरेको छ।
प्रवक्ता कार्कीले सरकारले साउन ३० देखि भदौ १० गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेण्टल कन्फ्रेन्सको पाचौँ सत्र आईजीसीभीमा नेपालको तर्फबाट सहभागिताका लागि कानुन तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कुशलचन्द्र सुवेदीको भ्रमण स्वीकृत गर्ने, नेपाली मुलका पोलिस नागरिक डा बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्य दूत नियुक्त गर्ने, तुर्केमिनिस्तानको आसागावतमा साउन ३० र ३१ गते मिनिस्टिरियल ट्रान्सपोर्ट कन्फ्रेन्स फर एलएलडिस सीएसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको बताए।
उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनित गर्ने, गोरखा जिल्ला साविक वारपाक गाविस वडा नम्बर ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको ६-१०-३-० रोपनी जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माण गर्नका लागि भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनको लागि सहमति प्रदान गर्ने निर्णयसमेत गरेको बताए।
‘सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा प्रकाशराज रेग्मी र डा नविनचन्द्र गौतमलाई मनोनयन गर्ने। राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय गरेको छ,’ प्रवक्ता कार्कीले भने।