PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भक्तपुरमा यस्तो देखियो गथांमुग: दहन

भक्तपुरमा यस्तो देखियो गथांमुग: दहन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग: दहन गरेका छन्। किसानहरुले रोपाई गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसानहरु आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुग: दहन गरिएको बताइन्छ।

कसैले भने गथांमुगःलाई घण्टाकर्ण पनि भन्ने गर्छन्। तर, गथांमुगः र घण्टाकर्ण दुई बेग्लै पात्र रहेकाले गथांमुग:लाई घण्टाकर्णसँग जोड्न नुहने कतिपयको मत छ।

घण्टाकर्ण देवताको अस्तित्व स्वीकार नगर्ने राक्षसका रुपमा लिइन्छ। उनी भगवानको नाम नसुनियोस् भनेर कनामा घण्ट झुन्डयाएर हिँड्ने गर्थे। सो राक्षसले धेरै दु:ख दिएपछि उसलाई समाएर गथांमुग:को दिन चोकमा उभ्याएर बेलुकी खोलामा लगेर फालेको सम्झनामा घण्टाकर्णको दहन गर्ने परम्परा चल्दै आएको जनविश्वास पनि रहेको छ।

नेवार समुदायले गथांमुग:लाई भूतप्रेत पन्छाउने दिनका रुपमा मनाउँदै आएका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गथांमुग:लाई विभिन्न तरिकाले बनाउने र बिसर्जन गर्ने गरिन्छ। कत्तै नकर्टको गथांमुग: बनाइन्छ त कतै छ्वालीको।

दिनभरी गथांमुग:लाई टोलको दोबाटोमा राखिन्छ। त्यसबेला स्थानीयले ‘ओम शान्ति जय नेपाल, आजु जय हा’ भन्दै गथांमुगः मनाउने गर्छन्।

काठमाडौंमा गथांमुग: बनाएर नदीमा लगेर बिसर्जन गर्ने परम्परा रहेको छ। भक्तपुरमा भने गथांमुग:को दहन गर्ने गरिन्छ। गथांमुग: दहन गर्दा बालबालिकालाई गथांमुग: छुवाउने गरिन्छ। त्यसो गर्नाले नराम्रो शक्तिले बालबालिकालाई नछुने जनविश्वास गरेको छ। भक्तपुरमा यस पर्वलाई यौन शिक्षा दिने पर्वका रुपमा समेत लिइन्छ।

उपत्यकाका धेरै जसो स्थानमा पुरुष गथांमुग: बनाइएको हुन्छ। थोरै स्थानमा भने पुरुष र महिला गथांमुग: बनाइएको हुन्छ।

भक्तपुरमा गथांमुग: दहन गर्न लैजाँदा अश्लिल गीतहरु गाउने गरिन्छ। गथांमुग:को भीमकाय शरीरमा लिङ्ग स्वरुप तस्विर टासिँन्छ भने केही स्थानमा भने काठको लिङ्ग राख्ने गरिन्छ। त्यससँगै दुई भोगेटे राख्ने गरिन्छ।

यस्तै, महिला गथांमुग:मा योनी बनाइन्छ। गथांमुग: दहनका बेला महिला र पुरुषको सम्भोग आवश्यक छ भन्ने भाव भएका गीत समेत गाउने गरिन्छ। गथांमुग: सँगै नेवार समुदायमा जात्रापर्वको सुरु हुने गर्छ।



ट्रेन्डिङ पोस्ट

Ncell