PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सरकारका कामप्रति राष्ट्रपतिको असन्तुष्टि, ‘खुट्टाले टेकेर हिँड्ने कि टाउकाले?’



पहिलोपोस्ट

सरकारका कामप्रति राष्ट्रपतिको असन्तुष्टि, ‘खुट्टाले टेकेर हिँड्ने कि टाउकाले?’
फाइल फोटो

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पछिल्लो बेथितिलाई लिएर चिन्ता प्रकट गरेकी छिन्। मुलुकको बजेटको आकार बराबरकै व्यापार घाटा हुने स्थिति आएकोलाई लिएर उनले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएकी हुन्।

'नीतिगत रुपमा काम गर्नका लागि बजेट छुट्याइने गरिएको छ। तर कार्यान्वयनमा त्यो कुरा हुन सकेको छैन। हाम्रो समस्या नीतिगत होइन, कार्यगत हो,' राष्ट्रपति भण्डारीले आज सम्पादकहरुसँगको छलफलमा भनिन्।

विदेशी मुद्राको सञ्चितको अवस्था खराब, आयात रोक्नुपर्ने सरकारको वाध्यता, बजेटमाथिको विवाद र सीसीटीटी फुटेज प्रकरणका सन्दर्भमा राष्ट्रपतिले मुलुकको अवस्थाबारे अभिव्यक्ति दिएकी हुन्। अघिल्लो सरकार हुँदा बालुवाटार र शीतल निवासबीच हरेकजसो विषयमा संवाद हुँदै आएको भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार बनेपछि मुलुकका दुई 'मूल घराना'बीच संवादहीनताको स्थिति छ।

त्यसको संकेत राष्ट्रपतिले आफ्नो अभिव्यक्तिमा पनि प्रकट गरिन्। 'आज बिहान नेपाल टेलिभिजनको स्क्रोलमा लेखेको देखेँ –बजेटभन्दा ठूलो आकारमा आयात भइरहेको,' उनले भनिन्। वित्तीय अवस्था खराब हुँदै गरेको सन्दर्भलाई उनले टेलिभिजनको स्क्रोलमा देखेको उल्लेख गर्नुको अर्थ विशेष थियो।

'अर्थतन्त्रमा हाल देखिएको चुनौतीलाई कम गर्न तत्काल दुई उपाय अवलम्बन गर्नुपर्ने देखिएको छ,' राष्ट्रपति भण्डारीले भनिन्, 'पहिलो हो –फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बन। आर्थिक अनुशासनलाई हामीले अझ कठोरतापूर्वक पालन गर्नु आवश्यक छ। अहिले सबैले मुठी कस्नुपर्ने समय छ।'

राष्ट्रपति भण्डारीले हरेक नागरिक, परिवारदेखि राज्यका नियकायहरुलाई खर्च सकेसम्म नियन्त्रण गर्न आग्रह समेत गरिन्।

हिजोमात्रै राष्ट्रपति भण्डारीले अर्थविद्हरुसँग मुलुकको अवस्थाबारे छलफल गरेकी थिइन्। आफ्नो अभिव्यक्तिको अधिकांश अवधि अर्थतन्त्रका समस्यामाथि खर्च गरेकी उनले अर्थतन्त्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्नेगरी कामको सुरुवात गर्नुपर्ने बताइन्।

उनले पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्दै लैजाने नीतिलाई प्राथमिकता दिएकी थिइन्। 'यस सम्बन्धी विद्यमान नीतिहरुको इमान्दारीपूर्वक कार्यान्वयन गर्न सबैको सचेत प्रयास आवश्यक देखिएको छ,' उनले भनिन्।

चुनाव खर्च महङ्गो भन्ने अभिव्यक्ति आएको विषयलाई लिएर पनि उनी असन्तुष्ट सुनिइन्। 'पैसाकै भरमा जित्ने हो चुनाव?,' भण्डारीले भनिन्।

जताततै हात्तीहरु! खुट्टाले टेकेर हिँड्ने कि टाउकाले?

मुलुकको आर्थिक अवस्थाले निक्कै गम्भीर बनाएको अभिव्यक्ति दिएकी राष्ट्रपति भण्डारीको सरकारको काम गर्ने शैलीप्रति सन्तुष्ट सुनिइनन्। कसैलाई नतोकी उनले पटकपटक जताततै हात्तीहरु रहेको बताइन्। त्यो हात्ती सिंहदरबारदेखि जताततै रहेको उनको अभिव्यक्ति अमूर्त रहे पनि सरकारका कामप्रति असन्तुष्टि हो भन्ने बुझ्न कठिन थिएन। चलाखीपूर्वक राष्ट्रपति भण्डारीले पत्रकारहरुप्रति इंगित गर्दै भनिन्, 'तपाईँहरु पनि हात्ती नै हुनुहुन्छ। यसको अर्थ शक्तिशाली भनेको हो है अन्यथा होइन नि।'

उनको अभिव्यक्तिमा हात्तीसँग जोडिएको सन्दर्भ थियो – टाउकाले टेकेर हिँड्ने कि खुट्टाले टेकेर हिँड्ने। यो अभिव्यक्ति पनि अमूर्त भए पनि राज्यका निकायहरुको काम गराइप्रतिको चर्को असन्तुष्टि भन्ने बुझ्न कठिन थिएन।  

उनले आफ्नो संवैधानिक सीमितता र पद तथा गोपनीयताको शपथका सन्दर्भ उठाउँदै कतिपय विषयमा विचार बनाएर पनि बोल्न नसकिरहेको र नमिल्ने सुनाइन्। संघीयता गलत हो भन्ने विषयमा जनस्तरमा आवाज उठिरहेको छ भन्ने सन्दर्भलाई लिएर सोधेको प्रश्नमा उनले कूटनीतिक शैलीमा जवाफ दिइन्। 'यस्तो विषयमा मेरो विचार नहुने होइन। यसबारेमा मेरो आफ्नै धारणा छ। सांसद् हुँदा पनि धारणा थियो। त्यतिखेर बोलियो पनि होला,' राष्ट्रपति भण्डारीले भनिन्,'अहिले म पदीय मर्यादका कारण पनि यस्तो विषयमा बोल्न मिल्दैन। हुँदैन।'

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाबाट पास भएर राष्ट्रिय सभामा पुगेको नागरिकता विधेयकको विषयमा अहिले नै केही नबोल्ने बताइन्। उनले पहिले अध्ययन गर्ने र त्यसपछिमात्र के हो बुझ‍्ने बताइन्। 'यो विधेयकक विषय आजको होइन। १० वर्षदेखि रहँदै आएको छ। त्यसमा के छ पहिले हेर्छु अनि बुझ्नुपर्छ,' उनले भनिन्।

बालेनदेखि सारीसम्म

राष्ट्रपति भण्डारीले मुलधारे मिडिया र सामाजिक सञ्जालमा आएका विभिन्न खाले ट्रोल र विवादित सन्दर्भका विषयमा पनि प्रस्ट पारिन। पत्रकार कृष्णमुरारी भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेनसँगको भेटको विषय उठाएपछि बिचमै रोकेर राष्ट्रपतिले प्रष्टीकरण दिएकी थिइन्।

'मेयर बालेनसँग मेरो भेट भएकै छैन,' उनले भनिन्, 'यहाँ उहाँको सवारी नै चलेको छैन। मैले बोलाउने सूचीमा राखेको चाहिँ छु।'

स्थानीय निर्वाचनअघि एउटा फोटो भाइरल भएको थियो जसमा राष्ट्रपति भण्डारी र बालेनबिच कुरा भएको तर दुरी टाढा रहेको देखिन्थ्यो। त्यही सन्दर्भ कोट्याएपछि भण्डारीले भनिन्, 'विश्व पानी दिवसका दिन अरुहरु पनि हुनुहुन्थ्यो त्यसमा।'

मिडिया र सोसल मिडियामा आएका विषयवस्तुप्रति आफ्नो कुनै टिप्पणी नहुने राष्ट्रपति भण्डारीले प्रस्ट्याइन्। 'त्यतिखेर कतिले विज्ञप्ति निकाल्नुपर्छ भन्नु भएको थियो। मैले यस्तो विषयमा विज्ञप्तिसिज्ञप्ति निकाल्न पर्दैन भनेको हुँ,' उनले भनिन्, 'तपाईँहरुलाई पनि जे लाग्छ त्यही लेख्नुस्। तपाईँले लेखेको कुराले मलाई अझ बलियो बन्न सघाउँछ। सुध्रिने अवसर पनि दिलाउँछ।'

बाराको गढीमाइ मन्दिरमा राष्ट्रपति भण्डारीको जुत्ता उनका सुरक्षाकर्मीले बोकेको सन्दर्भ पनि उनले उठाइन्। 'मन्दिरभित्र जाँदा एउटा र निस्किँदा अर्को बाटो रहेछ। म दर्शनका लागि जुत्ता खोलेर गएँ। अर्कोतिर पुग्दा मेरो जुत्ता ल्याइदिसकेको रहेछ। मलाई त थाहा थिएन कसले ल्याइदियो। त्यहाँ तपाईँहरुकै टेलिभिजनका प्रतिनिधि जानुभएको रहेछ सबै खिचेर देखाउनुभयो। त्यो उहाँको काम थियो गर्नुभयो,'उनले भनिन्, 'पछि थाहा पाएँ मैले सुरक्षाकर्मीले टिपेर ल्याइदिनु भएछ।'

राष्ट्रपति भण्डारी त्यत्तिमै अडिनन्। उनले चीन भ्रमणको एउटा सन्दर्भ नै सुनाइन्। चीन भ्रमणका क्रममा एउटा गुफा हेर्न जाँदा उनी हिँड्न सकिनछिन्। सन्दर्भ उनले रक्षामन्त्री हुँदाको सुनाएकी हुन्। एक घन्टाजति हिँड्नुपर्ने ठाउँमा जान नसकेपछि त्यहाँ चिनियाँ परम्परागत तामदानमा बोकेर पुर्‍याएको उनले बताइन्। 'त्यसरी त जान्न भन्दा मान्दै मानेनन्। बोकेरै पुर्‍याउने चलन रहेछ। अहिले पनि मसँग छ त्यस्तो फोटो,'उनले भनिन्।

ट्रोल हुँदाका विषयलाई उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्‍यसलाई सामान्य रुपमा लिएको सुनाइन्।

उनले आफूले लगाउने सारीको विषय पनि सोसल मिडियामा आएको सन्दर्भ उठाउँदै नेपालमा बुनेको सारी लगाएको व्याख्या गरेकी थिइन्। 'मैले नेपालमा बुनेको सारी लगाएँ भन्दैमा अर्थतन्त्रलाई ठूलो योगदान पुग्यो भन्ने होइन, 'राष्ट्रपति भण्डारीले भनिन्। नेपालमा बन्ने सारीका लागि चाहिने धागो विदेशबाटै आउने बताउँदै यहाँको श्रम 'भ्यालु एड'मात्र भएको सुनाइन्। गुन्द्रुकदेखि तागाधारीले लगाउने जनै समेत आयात भइरहेको बताउँदै उनले प्रश्न गरिन्, 'एउटै देशबाट ८/९ खर्बको सामान आउँदो रहेछ।'

राजनीतिमा फर्किने हो?

एक वर्षअघि राष्ट्रपति भण्डारीले यसैगरी सम्पादकहरुसँग छलफल गरेकी थिइन्। त्यतिखेर भन्दा यसपाला उनका अभिव्यक्ति प्रष्ट थिए। कोभिड १९ को संक्रमण केही मत्थर भएपछि राष्ट्रपति भण्डारीले 'अफ दि रेकर्ड' कुराकानी गरेकी थिइन् सम्पादकहरुसँग। त्यतिखेर केपी ओली प्रधानमन्त्री थिए। मिडियामा राष्ट्रपतिका लागि हेलिकप्टर किन्नेदेखि महङ्गोमा नयाँ गलैचा फेरिएका सन्दर्भ पनि जोडिएका थिए। त्यतिखेर मिडियाको प्रस्तुतिलाई लिएर उनी असन्तुष्ट देखिन्थिन्। तर, मंगबारको भेटमा भने उनी मिडियाप्रति निक्कै उदार देखिइन्।

आर्थिक सन्दर्भभन्दा बाहिर नजाने उद्देश्यले उनले सुरुमा लिखित वक्तव्य नै पढेर सुनाएकी थिइन्। त्यसमा मुलुकको वित्तीय अवस्था खराब रहेको र सुधारका केही काम थालनी भएको पनि उल्लेख छ। जतिखेर राष्ट्रपतिले अर्थतन्त्र डामाडोल भएको भन्दै चिन्ता प्रकट गरेकी छिन्, त्यतिखेर बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालय समेत हाँकिरहेका छन्। देउवा पछिल्लोपटक प्रहरीको बढुवाको विषयमा नमिठोसँग मुछिएका पनि छन्। नेकपा (माओवादी केन्द्र) बाट अर्थमन्त्री भएका जनार्दन शर्मा बजेट र सीसीटीभी क्यामरा प्रकरणका कारण राजीनामा दिन वाध्य भएपछि देउवाको थाप्लोमा अर्थतन्त्रको जिम्मेवारी पनि थपिएको हो। यस्तो बेलामा राष्ट्रपतिले सम्पादकसँग भेट गरेर असन्तुष्टि प्रकट गर्नुको राजनीतिक अर्थ हुने नै भयो। राष्ट्रपति भण्डारी के पुन: राजनीतिमा फर्किने तयारी हो?

आफ्नो पहिलो कार्यकाल संविधान कार्यान्वयनकै विषयमा सकिएको र दोस्रो कार्यकालमा राम्रो गर्ने प्रयास गरेको उनको स्वमूल्याङ्कन रहेछ।

'म आफैँले मूल्याङ्कन गर्ने विषय त होइन। तपाईँहरु, सबैले मूल्याङ्कन गर्ने विषय हो,' उनले भनिन्।

सांसददेखि पहिलो महिला रक्षामन्त्री तथा राष्ट्रपतिसम्मको राजनीतिक विरासतलाई लिएर उनी सन्तुष्ट सुनिइन्। त्यसको अर्थ के अब उनी राजनीतिबाहिर हुन्छिन् त? अथवा राजनीतिमा फर्किन्छिन्?

उनले अझै केही गर्न सक्ने अभिव्यक्ति त दिइन् तर पार्टी राजनीतिमै आउने या नआउने खुलेर बताउन चाहिनन्। राजनीतिको कुरा उठेपछि उनले राष्ट्रिय सहमतिका विषयमा एक हुनुपर्ने धारणा भने राखिन्। 'समाजवाद उन्मुख अर्थतन्त्र भनिएको छ संविधानमा नै। पार्टीहरुको समाजवाद उन्मुख अर्थव्यवस्था भनेको के हो? यस्ता विषयमा राष्ट्रिय सहमति हुन सक्छ नि,' राष्ट्रपति भण्डारीले भनिन्, 'मुलुकका हितका विषयमा मिल्नेसम्मका विषयमा एकमत हुन आवश्यक छ। सरकार फेरिँदा ती नीति फेरिनु भएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell