PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्रिप्टोबारे गठित कार्यदल नै निष्क्रिय, व्यापारीको लगानी खुल्दै



सविन ढकाल

क्रिप्टोबारे गठित कार्यदल नै निष्क्रिय, व्यापारीको लगानी खुल्दै

काठमाडौं : असार २९ गते व्यापारी अमित श्रेष्ठको काठमाडौंको पानीपोखरीस्थित घरमा प्रहरीले छापा मार्‍यो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर त्यही दिन श्रेष्ठलाई नियन्त्रणमा लियो पनि।

अमित केही वर्षदेखि धेरैजसो क्यानडामा बस्दै आएका थिए। उनी नेपाल आउनेजाने गरिरहन्थे। प्रहरीका अनुसार करिब डेढ महिनाअघि मात्र उनी नेपाल आएका थिए।

उनले क्यानडाको पीआर लिएको दुई वर्षमात्र भएको छ। उनले क्रिप्टोको कारोबार भएको भन्ने सूचना प्रहरीलाई आएको थियो। त्यसैको आधारमा प्रहरी व्यापारी श्रेष्ठको घरमा पुगेको थियो। उनको घरबाट दुईवटा ल्यापटप र मोबाइल बरामद गर्‍यो प्रहरीले। तर ल्यापटपबाट कारोबार भएको थियो वा थिएन? कति कारोबार भयो? खुल्न सकेको थिएन।

४१ वर्षका अमित श्रेष्ठको साथबाट बरामद भएका मोबाइल र ल्यापटप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको थियो। ल्याबको रिपोर्ट प्रहरीले जब प्राप्त गर्‍यो, त्यहीपछि व्यापारी श्रेष्ठमाथि लागेका आरोप प्रमाणित गर्ने प्रमाण फेला पर्‍यो।

प्रहरीको दाबीमा- व्यापारी श्रेष्ठले किप्टोमा करौडौं रुपैयाँ लगानी गरेको खुल्यो। प्रहरीले नियन्त्रणमा लिएका नुवाकोट घर भएका श्रेष्ठ विशाल सिमेन्टका पूर्व संचालकसमेत हुन्। उनले तीन वर्षअघि नै लगानी फिर्ता लिइसकेका छन्। उनी ३३ किलो सुन प्रकरणमा समेत मुछिएका पात्र हुन्।

कमर्सियल वेल्थ बैंकबाट १ लाख ९४ हजार २ सय ८५ हजार डलरको कारोबार भएको देखियो। त्यस्तै रोयल बैंक अफ क्यानडामा पनि १८ लाख ७४ हजार ४ सय २१ डलरको कारोबार भएको थियो। त्यही बैंकमा सेयरको कारोबारसमेत भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए।

विदेशी बैंकमा मात्र होइन श्रेष्ठको नेपाली बैंकको खातासमेत प्रयोग गरेको अनुसन्धानमा देखिएको छ। एभरेस्ट बैंकमा २ करोड ६ लाख ६ हजार ६ सय ९२ र एनआइसी एसिया बैंकमा ६५ लाख २४ हजार ९ सय रुपैयाँ कारोबार भएको देखिन्छ। त्यसैगरी नेपालमा विभिन्न कम्पनीहरूमा सेयर लगानी रहेको पाइएको छ।

त्यस्तै नबिल बैंकमा क्यानेडियन ६७ हजार ५ सय ९६ डलर र ६५ लाख रुपैयाँ कारोबार भएको अनुसन्धानमा खुल्न आएको एसपी मैनालीले जानकारी दिए। यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीमा जग्गा, महानगरपालिका वडा नम्बर ३ लाजिम्पाटमा जग्गा, पानीपोखरीमा थ्री-ए टु अपार्टमेन्ट गरी जम्मा ४ लाख ४९ हजार १९ डलरको सम्पत्ति रहेको देखिएको छ।

उक्त रकम तथा कारोबार शंकास्पद भएकाले अमित श्रेष्ठविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मैनालीले बताए। यसअघि उनीविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिएको थियो। थप प्रमाण जुटेपछि प्रहरीले अन्य कसुरमा म्याद थप गरेको हो।

क्रिप्टोबारे सरकारले गठन गरेको कार्यदल नै निष्क्रिय

राजस्व अनुसन्धान विभागले ३७ करोड बिगोसहित कैलालीका दिनेश खड्काविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि नेपालमा पनि क्रिप्टो कारोबार धेरै भइरहेको तथ्य बाहिर आएको थियो। महानगरीय अपराध महाशाखाको टोलीले गत माघ ६ मा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेशराज श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यस्तै माघ १८ गते महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले न्युरोडबाट ३० वर्षीय रवीन्द्र भनिने चन्द्रमणि अधिकारीलाई नियन्त्रणमा लिएको थियो। अधिकारीले प्रयोग गर्ने मोबाइलमा डेढ करोड रुपैयाँ बराबरको क्रिप्टोको कारोबार भएको खुल्न आएको थियो।

त्यसपछि सरकारले क्रिप्टो करेन्सी, अनलाइन नेटवर्किङ, हाइपर फण्ड लगायत कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले सहसचिवको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो। फागुन ३ गते कार्यदलको बैठक बसेको थियो।

त्यसपछि झनै क्रिप्टोमा संलग्न पक्राउ पर्न थालेका थिए। झापा बिर्तामोडका २२ वर्षीय अनुप मिश्रलाई पनि प्रहरीले क्रिप्टो कारोबारमा संलग्नताको आरोपमा नियन्त्रणमा लिएको थियो। उनले ३५ करोड ४६ लाख ८३ हजार रुपैयाँ कारोबार गरेको देखियो। उनले क्रिप्टो कारोबारका लागि ब्यालेन्स एकाउन्ट खोलेर विभिन्न २० वटा क्रिप्टोकरेन्सीहरु जम्मा गरी कारोबार गरेको देखिएको छ।

एक वर्षको अवधिमा ती युवकले नै उनले ३५ करोड रुपैयाँभन्दा बढी कारोबार गरिसकेका थिए। अनुपले आफ्नो नभएर दाइको नाममा समेत खाता खोलेर कारोबार गरेका थिए। सन् २०२१ मे देखि कारोबार गरेको खुलेको छ। उनले छोटो समयमा नै लाखौं रुपैयाँ कमाइसकेका थिए।

पछिल्लो समय बेरोजगार बनेका युवाहरू मात्र होइन देशका व्यापारी घरानाका सदस्यको पनि क्रिप्टोमा लगानी भएको खुल्दै आएको छ। अनुसन्धान भइरहेका अमित पनि एक व्यापारी हुन्। उनको खातामा भएको शंकास्पद रकमको प्रहरीले छानबिन गरिरहेको छ।

सरकारले पनि क्रिप्टोको थप अनुसन्धान गरिरहेको छ। क्रिप्टो करेन्सी, अनलाइन नेटवर्किङ, हाइपर फण्डलगायत कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले सहसचिवको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो। अर्थ मन्त्रालयमा सहसचिव भूपाल बरालको नेतृत्वमा गठित समिति गठन भए पनि यसको प्रभावकारिता देखिएको छैन। त्यही मात्र होइन सरकारले गठन भएको समिति अहिले निष्क्रिय छ। समितिले सरकारलाई प्रतिवेदन नै बुझाउन सकेन।

हामीले प्रतिवेदन नै बुझाएनौं। बजेट पनि आइहाल्यो। अहिले त्यतिकै छ,' गठित समितका संयोजक उपसचिव बरालले भने। त्यसो त आर्थिक वर्ष २०७९/८० को बजेटमा क्रिप्टो सम्बन्धि कुरालाई खासै समेट्न सकिएको छैन।

मुख्य सप्लायर खोज्दै प्रहरी

नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागले पछिल्लोपटक क्रिप्टो कारोबारमा संलग्नताको आरोप पक्राउ गरेका सबै युवा देखिएका छन्। उनीहरु २० देखि ३५ वर्ष उमेर समूहका छन्। धेरैजसो आइटीसम्बन्धी ज्ञान भएका युवाहरू रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरु कारोबारी भए पनि मुख्य लगानीकर्ता अरु नै भएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ।

यसअघि प्रहरीले पक्राउ गरेका युवाहरुले आफूहरूलाई बिटक्वाइनको सप्लाइ अरूले नै गर्ने गरेको बताएका थिए। यस्ता ठूला कारोबारीले एक दिनमा नै २ लाख डलर बराबरको कारोबार गर्ने गरेको देखिएको छ। यसरी कारोबार गर्न उनीहरूले भारतीय नागरिकको नाममा ब्यालेन्स खाता खोल्ने र आफैँले चलाउने गरेका छन्। मुख्य सप्लायरहरुले छोटो अवधिमा काठमाडौंमा अपार्टमेन्टदेखि गाडीसम्म खरिद गरेको खुलेको छ।

प्रहरीको अनुसन्धानमा नेपालभित्र गाउँ गाउँमा क्रिप्टोकारोबारी भएको खुलेको छ। अहिले देशभित्र विदेशी मुद्राको सञ्चित कम भएकाले विलासिताका वस्तुहरू आयात गर्न रोक लगाएको छ। तर क्रिप्टो कारोबारबाट वस्तु आयात गर्न रकम पठाइएको समेत देखिएको छ।

व्यापारीहरूले क्रिप्टोबाट नै केही देशमा रकम पठाएको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए। पछिल्लो पटक पक्राउ परेका अमितलाई पनि ठूलो क्रिप्टो कारोबार गर्नेमा राखेर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell