PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

परिवर्तन भयो भुवन केसीको 'रोल' : चुनौतीको चाङ बोकेर प्रवेश गरे चलचित्र विकास बोर्ड



पहिलोपोस्ट

परिवर्तन भयो भुवन केसीको 'रोल' : चुनौतीको चाङ बोकेर प्रवेश गरे चलचित्र विकास बोर्ड

काठमाडौं : अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डको अध्यक्षका रुपमा पदभार ग्रहण गरेका छन्। बोर्डका नवनियुक्त अध्यक्ष केसीले आज चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

बोर्डका कर्मचारीहरुले फूलमाला लगाइदिएर भुवनको स्वागत गरेका थिए। केसी भवन परिसर बाहिर पूजा गरेर कार्यकक्ष प्रवेश गरेका थिए।

भुवन केसी केहीसमय अघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए। अध्यक्षका लागि १० जनाको नाम छानिएकोमा सरकारले केसीलाई नियुक्त गरेको हो। केसीको नियुक्तिलाई लिएर सामाजिक संजालमा आलोचना समेत भइरहेको छ। अभिनेत्री साम्राज्ञी शाहले केसीमाथि लगाएको दुर्व्यवहारको आरोपलाई लिएर केसीको नियुक्तिमाथि प्रश्न उठाइएको छ।

पदभार ग्रहण गर्दै केसीले आफू समग्र फिल्म क्षेत्रको विकासका लागि आएको बताए। चलचित्र क्षेत्रका कलाकारदेखि प्राविधिकसँग बसेर कुराकारी गर्ने र समस्या सुनेर समाधानका योजना बनाउने उनले बताए।

'म ४० बर्ष देखि यसै क्षेत्रमा छु। मैले कलाकार, निर्माता, निर्देशक र प्राविधिकका सबै समस्या बुझेको छु। जसकारण मैले यस चलचित्र क्षेत्रको विकासमा सहयोग गर्न कुनै कसर छोड्ने छैन,' उनले पदभार ग्रहण पछि भने। 

भुवनले नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने आफ्नो प्रयत्न हुने बताएका छन्।

विदेशी फिल्मको दबदबाले थिचेको नेपाली फिल्म क्षेत्र र कोरोना भाइरसको महामारीका कारण प्रभावित उद्योगलाई उकास्न भुवनलाई चुनौती छ। नायकका रुपमा आफ्नो छुट्टै स्टारडम बनाएका भुवनलाई अब बोर्डमा रहेर त्यही सफलता कायम राख्दै फिल्म क्षेत्रलाई पनि अब्बल बनाउन थप चुनौती थपिएको छ।

केसी चलचित्र विकास बोर्डको १७ अध्यक्ष हुन। करिब डेढ महिनादेखि बोर्ड अध्यक्षको पद खाली थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell