PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

एन्फामा महासचिवपछि सिइओको चर्चामा गौरव : भन्छन्, 'पदका लागि दबाव दिएको छैन'



पहिलोपोस्ट

एन्फामा महासचिवपछि सिइओको चर्चामा गौरव : भन्छन्, 'पदका लागि दबाव दिएको छैन'

काठमाडौं : पंकजविक्रम नेम्बाङ नेतृत्वमा आएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र आन्तरिक विवाद चर्किएको छ। एन्फाको विभिन्न पदमा नियुक्तिको विषयमा चुनावमा नेम्बाङलाई नै साथ दिएको समूह नै आरोपप्रत्यारोपमा उत्रेपछि कार्यसमितिको बैठक सञ्चालन हुन सकेको छैन।

नेतृत्वमा नेम्बाङ आएसँगै उनलाई निर्वाचनमा सहयोग गरेको एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको चर्चा महासचिवका लागि थियो। पछि शपथग्रहण गरेकै दिन नेम्बाङले तीन नियुक्ति दिए। जसमा महसचिवमा किरण राई, कोषध्यक्षमा रवीन्द्र जोशी र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाँडे। लगत्तै थापा पक्षले कार्यसमितिमा अगाडि जानकारी नगरी हुकुमी शैलीमा नियुक्ति गरेको भन्दै विरोध गर्‍यो। जसमा मुख्य 'टार्गेट' भने पाँडे थिए। उनी विदेशी नागरिक भएकाले नियुक्ति दिन नमिल्ने जोड थापा पक्षले छाडेको छैन।

त्यस्तै गौरवलाई सिईओ बनाउने चर्चा एन्फामा चलेको थियो। मौन बसेका थापाले आज एक विज्ञप्ति निकाल्दै आफूले कुनै पदका लागि दबाव नदिएको र आफ्नोबारे स्वार्थ समूहले भ्रामक प्रचार गरेको दाबी गरेका छन्।

'पछिल्ला दिनहरुमा यदि मलाई एन्फामा नियुक्त गरिएमा फिफा र एएफसीले अस्विकार गर्छ भन्ने जस्ता नकारात्मक, भ्रामक र प्रायोजित खबरहरु नियमित रुपमा प्रवाह गरिइरहेकोमा मेरो ध्यानाकर्षण भएको छ। यो सफेद झूठ र प्रायोजित रुपमा चलाइएको प्रपोगण्डा मात्र हो,' थापाले उल्लेख गरेका छन्, 'वर्तमान अध्यक्ष र महासचिवले गत महिना फिफा र एएफसीमा पटकपटक सम्पर्क गरेर यो विषयमा स्पष्टता खोजेको मेरो जानकारीमा छ। उहाँहरु सबैलाई मेरो नियुक्तिमा फिफा र एएफसीलाई कुनै समस्या नरहेको प्रष्ट पारिइसकेको छ। खासगरी महासचिवलाई त फोन, म्यासेज र प्रत्यक्ष भेटघाटको बेला पनि यो विषयमा प्रष्ट पारिइसकेको छ।'

त्यस्तै थापाले महासचिव किरण राई साफको बैठकका लागि बंगलादेश जाँदा एएफसीका केही अधिकारीहरुसँग भेट भएको र उनलाई यो विषयले कुनै फरक नपार्ने स्पष्ट जानकारी गराइएको दाबीसमेत गरेका छन्।

उनले सन् २०१३ देखि २०१८ को बीचमा पटकपटक एन्फामा काम गरिसकेको स्मरण गर्दै २०१७ मा नरेन्द्र श्रेष्ठ अध्यक्ष हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा काम गरेको र त्यो समयमा फिफा र एएफसीको म्याच कमिस्नरको काम पनि गरेको जनाएका छन्।

'त्यही समयमा मैले एएफसी फुटबल एडमिनिस्ट्रेसन सर्टिफिकेट कोर्स पनि गरेको छु। यो कोर्स एएफसीले विशेषगरी सदस्य संस्थामा भविश्यमा व्यवस्थापनको सिनियर पदमा रहेर काम गर्न सक्षम जनशक्ति उत्पादनको उद्देश्यसहित तयार गरेको हो,' उनले अगाडि भनेका छन्, 'वर्तमान अध्यक्ष र महासचिव मैले एन्फामा काम गरेको त्यो समयमा कार्यसमितिको सदस्य र उप महासचिव हुनुहुन्थ्यो भन्ने कुरा यहाँ स्मरण गर्नु किन पनि जरुरी हुन्छ भने उहाँहरुलाई त्योबेला कुनै समस्या नभएको प्रत्यक्ष जानकारी छ।'

त्यस्तै उनले आफूले एन्फामा काम गर्दा के समस्या भएको थियो भनेर प्रश्न तेर्साएका छन्।

'मैले एन्फामा काम गरेको समयमा कुनै समस्या आएको थियो? वा उनीहरुले अहिले प्रस्तुत गरिरहेको दुर्भावनापूर्ण एजेन्डामा बल पुग्ने कुनै घटना भएको थियो? यस्ता अनर्गल र हावादारी कुरा गरेर कसैको व्यक्तित्वमाथि धावा बोल्न खोज्दा उनीहरुले यस्ता प्रश्नको उत्तर दिन सक्नुपर्छ,' उनले लेखेका छन्, 'अहिले केही स्वार्थी मानिसहरुले स्थापित गर्न खोजेको भाश्यमा न कुनै तर्क छ, न सत्यता नै। फिफा र एएफसीलाई अमान्य हुने गरि मैले एन्फामा कुनै पनि भुमिका चाहेको छैन। मैले कहिल्यै पनि एन्फामा कुनै पदका लागि कसैलाई अनुरोध वा दबाव दिएको छैन।'

थापाले अगाडि दाबी गरेका छन्: बरु वर्तमान अध्यक्ष र महासचिवले नै उहाँहरुलाई सहयोग गर्न भनेर मेरो नाम प्रस्ताव गर्नुभएको हो। वर्तमान अध्यक्ष, महासचिव र कार्यसमितिका पदाधिकारी र सदस्यहरूसँग मेरो यस विषयमा छलफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell