PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

अमेरिकी सभामुखको सम्भावित ताइवान भ्रमणले बढ्यो टकराव : चीनले आक्रमण गर्नसक्ने अमेरिकी आशंका, बढायो सैन्य सक्रियता



पहिलोपोस्ट

अमेरिकी सभामुखको सम्भावित ताइवान भ्रमणले बढ्यो टकराव : चीनले आक्रमण गर्नसक्ने अमेरिकी आशंका, बढायो सैन्य सक्रियता
Photo: AP

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीच टकराव बढ्दै गएको छ। पेलोसी ताइवान भ्रमणमा निस्किए उनी सवार विमानमाथि चीनले आक्रमण गर्न सक्ने आशंका अमेरिकी अधिकारीहरुले गरेको एपीले जनाएको छ। 

पेलोसी त्यहाँ प्रवेश गर्ने कदम चाले उनको सुरक्षामा नै खतरा हुने अधिकारीहरुले विश्लेषण गरिरहेका छन्। त्यसैले पेन्टागनले कुनै पनि भइपरी आउने आकश्मिकताका लागि योजना तयार गरिरहेको समाचारमा उल्लेख छ। 

'अझै निश्चित त भइसकेको छैन, यदि पेलोसी ताइवान गइन् भने अमेरिकी सेनाले इन्डो-प्यासिफिक क्षेत्रमा सैन्य उपस्थितिलाई बढाउनेछ,' ती अधिकारीले एपीलाई बताएका छन्।  

ती अधिकारीले पूर्ण विवरण दिन अस्वीकार गरे। तर पेलोसीको ताइवान उडानका लागि आवश्यक सुरक्षाका लागि लडाकु विमानहरू, जहाजहरू, निगरानी उपायहरु र अन्य सैन्य प्रणालीहरूलाई सक्रिय पार्दै उडान र त्यहाँको सुरक्षालाई बढाइने छ। 

कुनै पनि अमेरिकी उच्‍च अधिकारीको विदेश भ्रमणका लागि थप सुरक्षा आवश्यक पर्छ। तर, पेलोसीको यस साता हुने सम्भावित भ्रमण यसअघिका भ्रमणका सुरक्षा माथि उठेर गरिनेछ। उनी सन् १९९७ यता ताइवान भ्रमण गर्ने अमेरिकी निर्वाचित उच्च अधिकारी हुन्। 

पेलोसीको भ्रमणको सुरक्षाका विषयमा जानकारी माग्दा अमेरिकी जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष मार्क मिलेले यसबारेमा भन्न सक्ने समय आइनसकेको बताएका छन्। उनले यदि सभामुख पेलोसी वा अन्य अधिकारीहरु भ्रमणमा जाँदा सुरक्षा सहयोग मागे आफूहरु आवश्यक सुरक्षा प्रदान गर्ने र भ्रमण सुरक्षाको प्रत्याभुति दिनसक्ने बताएका छन्। 

अमेरिकाले बेइजिङलाई चीनको सरकारको रुपमा आधिकारिक मान्यता दिए पनि उसले ताइवानसँग अनौपचारिक तथा सैन्य सम्बन्ध बनाउँदै आएको छ। पछिल्लो समय चीन र अमेरिकाबीच कुटनीतिक टकराब बढ्दै जाँदा यो भ्रमण हुन लागेको हो। 

अमेरिकी अधिकारीहरुले भ्रमणका क्रममा पेलोसीको उडान वरिपरीको क्षेत्रलाई 'बफर जोन' घोषणा गर्नुपर्ने बताएका छन्। अमेरिकाले त्यसका लागि यसअघि नै आफ्नो सैन्य उपस्थितिलाई बढाइरहेको छ। 

सेनाले आकाश वा जमिनमा हुने जुनसुकै घटनाका लागि आवश्यक तयारी अवस्थामा रहेको जनाएको छ। यद्यपि पेलोसीको सचिवालयले भने उनको भ्रमणबारे स्पष्ट केही भनिसकेको छैन। 

तर, राष्ट्रपति जो बाइडेनले पेलोसीको भ्रमणलाई सेनाका अधिकारीले तत्कालका लागि यो उपयुक्त कदम नहुने बताएको जनाएका छन्। 

बिहीवार बाइडेन र चिनियाँ समकक्षी सि चिनफिङबीच टेलिफोन सम्बाद हुँदै छ। यस संवादबारे आधिकारिक घोषणा भइसकेको भने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell