काठमाडौं : बुधवार चलचित्र विकास बोर्डको परिसरको माहोल फरक थियो। कोट पाइन्टमा चिटिक्क देखिएका थिएँ अभिनेता भुवन केसी। वरिपरि पत्रकारहरूको खचाखच भिड। बोर्डको मुलद्वारमा कर्मचारीहरू केसीलाई स्वागत गर्न तमतयार थिएँ। र, केसी पनि उत्साहित देखिन्थे अध्यक्षको रूपमा पदभार ग्रहण गर्न।
एक कर्मचारीले भुवनलाई माला लगाइदिएँ। साइत हेरेर ज्योतिषले मन्त्र पढ्न थाले। अनि भुवनले पूजा गर्न थाले। केही समय पूजा गरेपछि उनलाई चलचित्र विकास बोर्डको भवनभित्र प्रवेश गराइयो। भित्र प्रवेश गराउँदा पत्रकार र कर्मचारीको भिडले घेरिएका थिए उनी। त्यसपछि उनले अध्यक्षको कूर्सीमा पदभार ग्रहण गरे।
पदभार ग्रहण गरेसँगै भुवनले आफूलाई दिएको अवसर र जिम्मेवारीप्रति नेपाल सरकारलाई धन्यावाद दिएँ। ‘४० वर्षदेखि म फिल्म क्षेत्रमा सक्रिय छु। फिल्म क्षेत्रका कलाकार, प्राविधिक,निर्देशक लगायतका समस्याहरू देख्दै आएको छु। आफैँले भोगेको पनि छु। त्यो समस्या समाधानका लागि म यता आएको हुँ। यसलाई समाधान गर्न सक्दो कोसिस रहनेछ,’ उनले भने।
उनले छिट्टै एक सम्मेलन गरेर चलचित्रकर्मीहरूको समस्या संकलन गर्नेसमेत बताए। ‘छिट्टै हामी एक राउण्डटेबुल सम्मेलन गर्ने छौँ। जसमा हामी कलाकारदेखि प्राविधिकका चलचित्रसम्बन्धी समस्याहरू के - के छन्? व्यक्तिगत रूपमा सोध्ने छौँ। समाधानको निष्कर्ष निकालेर योजना बनाउने छौँ,’ उनले भने।
चलचित्र क्षेत्रमा आएको ४० वर्ष भइसकेको बताउने केसी यो क्षेत्रको विकास गर्न कुनै कसर नछोड्ने बताउँछन्।
‘मेरो जन्म नै कलाकार हुनको लागि भएको हो भन्ने लाग्छ। १० वर्षको उमेरदेखि रेडियो नेपालबाट बाल गायक हुँदै यो सिनेमा क्षेत्रमा आएको हुँ। थुप्रै फिल्म खेल्ने मौका पाए। फिल्म निर्माण र निर्देशन पनि गरे। यी सबै चिजलाई मुल्याङ्कन गरेर हेर्दा मैले यो क्षेत्रमा धेरै काम गर्न पाएँ हुन्थ्यो जस्तो लाग्छ। नमरुन्जेल यसै क्षेत्रको लागि काम गर्न मन छ। अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन दिने उद्धेश्यले आएको हुँ। तन, मन र वचनले काम गर्नेछु।’
केसीको नियुक्तिलाई लिएर सामाजिक संजालमा आलोचनासमेत भइरहेको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले केसीमाथि लगाएको दुर्व्यवहारको आरोपलाई लिएर केसीको नियुक्तिमाथि प्रश्न उठाइएको छ। सरकारले यौन दुर्व्यवहार गर्नेलाई अध्यक्ष बनाएको भनि आलोचनासमेत भइरहेको छ। यसै विषयलाई लिएर पत्रकारले केसीलाई प्रश्न तेर्साएँ। ‘यसमा कुनै सत्यता छैन,’ भूवनले यति जवाफ फर्काए। यो विषयमा थप केही बोलेनन्।
गत वैशाखमा केसी काङ्ग्रेस प्रवेश गरे। यसअघि एमाले प्रवेश गरेका केसी बोर्डको अध्यक्ष हत्याउनकै लागि काङ्ग्रेसमा प्रवेश गरेको आरोप छ। यतिका वर्ष योगदान गरेको कलाकार भएर पार्टीको टिका लगाएर बोर्डको अध्यक्ष बनेको भनि उनीमाथि टिकाटिप्पणी भइरहेको छ।
केसी ‘पार्टीको टिका’ लगाएर अध्यक्ष बनेको कुरालाई सहजै स्विकार्छन्। चलचित्र क्षेत्रको विकासका लागि आफू जतासुकै जान र शहिद हुन तयार रहेको उनको भनाई छ। ‘म कुनै पार्टीमा गए पनि वा जहाँ गएपनि चलचित्र क्षेत्रको विकासको लागि गएको हुँ। मेरो सपना नै चलचित्रकर्मीको उत्थान र विकासका लागि हो। म एक जना शहीद भएर मेरो कलाकार प्राविधिक साथी र मेरो चलचित्र राम्रो हुन्छ भने म शहिद हुन तयार छु। म जहाँ जान पनि तयार छु।’
चलचित्रकर्मीहरूले पुरा नभएका कुराहरू आफूमाथि आशा गरेका कारण निकै चुनौती समेत रहेको भुवनले सुनाएँ।