PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

डीआर कङ्गोमा युएन मिसनविरुद्धको प्रदर्शन हिंस्रक बन्दै : कस्तो छ नेपाली शान्ति सैनिकको अवस्था?  



पहिलोपोस्ट

डीआर कङ्गोमा युएन मिसनविरुद्धको प्रदर्शन हिंस्रक बन्दै : कस्तो छ नेपाली शान्ति सैनिकको अवस्था?  
Photo : AFP

काठमाडौं : डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा परिचालित राष्ट्रिय संघीय मिसनविरुद्ध प्रदर्शन चर्किँदै गएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा रहेको संयुक्त राष्ट्र संघको स्थायित्व मिसन (मोनुस्को) विरुद्ध भएका प्रदर्शनका क्रममा कम्तिमा १५ जना मारिएका छन्। 

सोमवारदेखि मिसनले दशक लामो सैन्य समूहबीचको लडाइ रोक्न असफल भएको भन्दै प्रदर्शन सुरु भएको थियो। सोमवारदेखि सुरु भएको प्रदर्शन मंगलवार उत्तरतिर बढिरहेको छ। मंगलवार बेनी र मुटेम्बोमासमेत प्रदर्शन भएको थियो। त्यहाँ सरकारी प्रवक्ता प्याट्रिक मुयायाले गोमामा ५ जनाको मृत्यु भएको र ५० बढी घाइते भएको बताएको अल जजिराले जनाएको छ। त्यस्तै बुटेम्बोमा सात जना सर्वसाधरण मारिएकोसमेत बताएका छन्। 

त्यस्तै एक शान्ति सैनिक तथा दुई राष्ट्र संघीय प्रहरी अधिकारी बुटेम्बोमा मारिएको मिसनले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

त्यहाँ सुरु भएको प्रदर्शन अगाडि त्यहाँको सत्तारुढ दल युडीपीएसको युवा संगठनले वक्तव्य जारी गर्दै राष्ट्र संघीय मिसनलाई कङ्गो भूमि छाड्न माग गरेको थियो। 

यसैबीच राष्ट्र संघका महासचिव एन्टोनियो गटेर्रेसले घटनाको निन्दा गरेका छन्। 

यो मिसन विश्वकै ठूलो शान्ति मिसन हो। तर, पटकपटक यसको आलोचना हुँदै आएको छ। पछिल्लो आन्दोलन गत जुलाई १५ मा त्यहाँका सिनेटका अध्यक्षले आफ्ना समर्थकहरुलाई मिसनले आफ्नो झोला प्याक गर्नुपर्ने बताएका थिए। 

फोटो : एपी


यसैबीच त्यहाँको सैन्य समूह एम २३ ले सर्वसाधारलाई लक्षित गरी आक्रमण थालेको ह्युमन राइट वाचले जनाएको छ। मध्ये जुन यता २९ सर्वसाधारण मारिएको उसले जनाएको छ। 

नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा रहेको संयुक्त राष्ट्र संघको स्थायित्व मिसन (मोनुस्को)मा कार्यरत नेपाली सैनिकहरु सुरक्षित रहेको निर्देशनालयले जनाएको छ। गत अप्रिलमा कङ्गोमा विद्रोहीको आक्रमणबाट मिसनमा खटिएका नेपाली सैनिक अनिल गुरुङको मृत्यु भएको थियो। त्यसअघि विद्रोहीले हेलिकप्टर खसाल्दा ८ जना राष्ट्र संघीय अधिकारीको मृत्यु भएको थियो। 

यही सोमवारदेखि गोमा शहरमा रहेको मिसन फोर्सको मुख्यालयमा स्थानीयहरुले विभिन्न माग राखी मिसनविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरुले त्यहाँ रहेका मिसनका भौतिक संरचनामा आगजनी तथा लुटपाट गरेका छन्। 

'मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी गराईन्छ,' निर्देशनालयले जारी गरेको वक्तव्यमा भनिएको छ 'साथै, उक्त मिसनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितीको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएकोसमेत जानकारी गराईन्छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell