PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

फेन्सिङका पायस, ब्याडमिन्टनका प्रिन्ससहित ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट, को-को परे?



पहिलोपोस्ट

फेन्सिङका पायस, ब्याडमिन्टनका प्रिन्ससहित ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट, को-को परे?
फाइल फोटो।

काठमाडौं : फ्रान्सको पेरिसमा सन् २०२४ मा हुने गृष्मकालीन ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी बुधवार छनोट भएका छन्। सम्बन्धित खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले खेलाडीहरु छनोट गरेको हो।

यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्वीकृत समेत गरेको हो। छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट हुने रहनेछ।

छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायस योञ्जन (सेबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजीमुनि), सुटिङकी सुष्मिता नेपाल (१० मिटर एयर राइफल), तेक्वान्दोकी युनिसिया राई (४९ केजीमुनि), डान्स स्पोर्ट्सकी दीपक लामा (बि बोइङ), गल्फका सुभाष तामाङ (व्यक्तिगत) र भारोत्तोलनका सागर भण्डारी (१०९ केजीमुनि) रहेका छन्।

छात्रवृत्तिअन्तर्गत प्रत्येक खेलाडीले मासिक ७ सय ५० डलर प्राप्त गर्नेछन् र यो ओलम्पिकको अन्तिम छनोटसम्म कायम रहनेछ। छनोटमा सफल रहे ओलम्पिक प्रतियोगितासम्म नै छात्रवृत्ति कायम हुनेछ। ओलम्पिक कमिटीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता, खेल सामग्री, बीमा, स्वास्थ्य परीक्षणदेखि अन्य तयारीका लागि चाहिने सबै प्रक्रियामा खर्च गरिनेछ।

कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले ओलम्पिक छात्रवृत्तिले नेपाली खेलाडीको तयारीमा सहयोग पुग्ने विश्वास पोख्दै भने, ‘छात्रवृत्तिको मुख्य लक्ष्य ओलम्पिक छनोट रहेको छ र यसले खेलाडीलाई ओलम्पिक छनोटको तयारी गर्न मदत गर्नेछ।’

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २००४ को एथेन्स ओलम्पिकदेखि यस प्रकारको छात्रवृत्ति प्रदान गर्न सुरु गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell