PahiloPost

Jul 3, 2024 | २० असार २०८१

लमजुङ पुगेर प्रदीप पौडेलले भने : हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको थियो



पहिलोपोस्ट

लमजुङ पुगेर प्रदीप पौडेलले भने : हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको थियो

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको बताएका छन्। हलो क्रान्ति सुरुवात भएको स्थल, लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा बाटेगरा पुगेर बुधवार नेता पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताएका हुन्।

हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले बुधवार दुराडाँडामा गरेको कार्यक्रममा पौडेलले चेतनशील यस ठाउँको विकास निर्माणमा सरकारले ध्यान पुर्‍याउन नसकेको बताए।

‘समाज परिवर्तनका लागि त्यसबेला यहाँ हलो क्रान्ति भएको थियो। यहाँ हलो जोतेपछि त्यसले नेपालका धेरै जिल्लामा हलचल ल्यायो’, पौडेलले भने, ‘समाज सुधार गर्न र सामन्तवादविरूद्ध लड्ने त्यसबेला तोयानाथहरू थिए। भलै उनीहरू कांग्रेस थिए। तर, यो कांग्रेसको मात्र अभियान भने थिएन।’

हलो क्रान्तिलाई सुरुमा कांग्रेसले केन्द्रीय कार्यक्रम नबनाएको र पछि मात्रै आत्मसाथ गर्दै यो अभियानलाई निरन्तरता दिन खोजेको देखिएको उनले बताए। हलो क्रान्ति भएको ठाउँको प्रचार हुन नसकेको पनि उनले बताए। यहाँको विकासका लागि प्रचार तथा दबाब सिर्जना गर्न उनले स्थानीयलाई पनि आग्रह गरे।

लमजुङकै नेता पृथ्वीसुब्बा गुरूङ गण्डकी प्रदेशमा यसअघि मुख्यमन्त्री भएपनि हलो क्रान्ति सुरु भएको ठाउँको विकासमा ध्यान नपुर्‍याएको उनले बताए।

‘मैले उनलाई आक्षेप लगाउन खोजेको त होइन तर यस ठाउँको विकास गर्न यहीँका नेताले पहल गर्नुपर्ने हो’, उनले भने, ‘यहाँको महत्व सबैभन्दा बढी यहीँका नेताले बुझेको हुनुपर्ने!’

समुदायमा रहेका विभेदलाई हलो क्रान्तिले हल गरेको पनि उनले बताए। यसैबिच, पौडेलले हलो क्रान्तिका अभियन्ताहरूको स्मरणमा बनाइएको नामावली स्तम्भको पनि उद्घाटन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell