कास्की : पोखरामा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ। ‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो।
तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख रुपैयाँ, द्वितीय हुनेले चार लाख रुपैयाँ, तृतीय हुनेले दुई लाख रुपैयाँ तथा सान्त्वना हुने समूहले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिए। कार्यक्रमबाट ५५ लाख आम्दानी हुने आयोजक संस्थाको अनुमान छ।
एक समूहमा महिला र पुरुष एक-एकजना गरि दुईजना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गनुपर्ने छ। लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उनको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ ‘ह्योल्मो’ले बताए।
‘प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा सङ्ग्रहालय निर्माण गर्नु रहेको छ’, उनले भने।
कार्यक्रमबाट बचत रकमबाट लोकबाजा सङ्ग्रहालय स्थापना गर्ने लक्ष्य दलिइएको छ। कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीत सङ्कलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुर्याएका स्रष्टा शेरचनको २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो। शेरचनले १६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो र....,सुखी ज्यानलाई गुँदरी काम्लो..., आहा कलिलो तामालाई सोध रामलाई..., ऐ भेना यो सला, ल्याइदेउ मलाई पछ्यौरी मलमललगायतका गीतहरु सङ्कलन गरेका थिए। शेरचन नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक किसिमको स्वाद, शैली र विम्ब भित्र्याउन सफल भएका थिए।