PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

इराकमा सुरक्षित मानिएको 'ग्नीन जोन' तोड्दै संसद भवनभित्र पसे प्रदर्शनकारी, तस्विर खिचाउँदै गरे नाचगान



पहिलोपोस्ट

इराकमा सुरक्षित मानिएको 'ग्नीन जोन' तोड्दै संसद भवनभित्र पसे प्रदर्शनकारी, तस्विर खिचाउँदै गरे नाचगान
तस्विर : Getty Images

इराकको राजधानी बगदादमा रहेको संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन्। इराकी सिया प्रमुख मुकताडा अल सदरका समर्थकहरुले प्रधानमन्त्रीका लागि मनोनित गरिएका मोहम्मद सिया अल सुदानीको विरोध गर्दै संसदभित्रै पसेर विरोध जनाएका हुन्।

उच्च सुरक्षा व्यवस्था हुने ‘ग्रीन जोन’ लाई तोड्दै उनीहरु संसद भवन भित्र पसेका थिए। सो क्षेत्रमा सरकारी कार्यालय र राजदूतावासहरु छन्। प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरे पनि पर्खाल नाघेर प्रदर्शनकारीहरुले सुरक्षा प्रोटोकल तोडेका थिए। प्रदर्शनकारीहरु संसद भवन प्रवेश गर्दा सांसदहरु उपस्थित थिएनन्।

इरान समर्थित सुदानीलाई प्रधानमन्त्री बनाउन लागिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। सदरको पार्टीले सन् २०२१को अक्टोबरमा भएको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको थियो। तर, उनले सरकार बनाउन सकेका थिएनन्। उनले आफ्ना विपक्षी दलहरुसँग सहकार्य नगर्ने निर्णय गरेपछि सरकार निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन।

 संसद भवन भित्र प्रदर्शकारी । तस्विर : रोर्यटस

संसद भवनमा प्रदर्शनकारीहरुले सिया प्रमुख सदरको तस्विर लिएर प्रवेश गरेका थिए। संसदको बैठक कक्षमा प्रदर्शनकारीहरुले नाचगान गरेका थिए। धेरैजसो भवनभित्र तस्विर लिन व्यस्त देखिन्थे।

संसद भवन भित्र प्रवेश गर्न इराकका कयौं शहरबाट मानिसहरु बगदाद पुगेका थिए। प्रदर्शन गरिरहेकाहरु भ्रष्टाचार र भ्रष्टाचारी नेताहरुको विरुद्धमा उभिएको बताउँदैछन्।

संसद भवन कब्जा गरेपछि सदरले ट्वीटरबाट सन्देश दिँदै सबैलाई घर फर्किन आग्रह गरेका थिए। त्यसलगत्तै प्रदर्शनकारीहरु संसद भवनबाट बाहिरिएका थिए। पूर्व प्रधानमन्त्री मुसतफा अल खादीमीले प्रदर्शनकारीहरुलाई तत्काल संसद भवन छाड्न आग्रह गरेका थिए। उनले प्रदर्शनकारीहरुले संसद भवन नछाडे सुरक्षाकर्मीहरुले कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएका थिए।

संसद भवनभित्र गएर प्रदर्शन गर्नुलाई सदरले आफ्नो शक्ति प्रदर्शन गरेको रुपमा विश्लेषण गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell