
काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज दिउँसो नेपाल आउँदै छन्।
पछिल्लो समय सरकारले अमेरिकी सेनाको नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अगाडि नबढाउने निर्णय गरेपछि आकास्मिक रुपमा उनी नेपाल आउन लागेका हुन्। अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्ये एसिया मामिला ब्युरोका सहायक मन्त्री लु नेपाल आउन लागेका हुन्।
उनी कतार एयरवेजको विमानबाट दिउसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने परराष्ट्र स्रोतले जानकारी दियो। यद्यपि परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे आधिकारिक जानकारी दिएको छैन।
यसअघि एमसीसी पारित गराउन दबाव दिन उनी नेपाल आएका थिए। गत नोभेम्बरमा नेपाल आएर उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरुलाई भेट गरेका थिए।
त्यसयता एमसीसीको विरोधमा सडक र सदनमा आवाज उठिरहँदा उनले प्रमुख दलका नेताहरुलाई टेलिफोन गरी दबाव दिएका थिए।
फेरी एकपटक अमेरिकासँगको एसपीपीमा सदन र सडकमा आवाज उठ्न थाल्दा लु नेपाल आउन लागेका हुन्।
उनले प्रधानमन्त्री देउवा, परराष्ट्र मन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम रहेको छ। उनले राजनीतिक दलका नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।