
काठमाडौं : पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ बेलायतबाट प्रदर्शनमा आउने भएको छ। भोलि शुक्रवार २९ जुलाईदेखि बेलायतका विभिन्न शहरहरुमा यो फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए।
गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले फिल्मलाई सबैभन्दा पहिला गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन गर्न लागिएको उनको भनाइ छ। यो फिल्म सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्ड्समा पनि प्रदर्शन हुनेछ।
फिल्मको कथा निर्देशक शाही आफैँले लेखेका हुन्। फिल्मले उठाएको ब्रिटिस आर्मीसँगको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस सिनेमाघर युके आर्मी सिनेमामा पनि फिल्म प्रदर्शन हुने निर्देशक शाहीले बताए।
फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ। यो फिल्म आगामी भदौ २४ गतेबाट नेपालमा प्रदर्शन हुँदैछ।
नेपालमा प्रदर्शन हुनुअघि फिल्मको अमेरिका, ब्रुनाई, सिंगापुर र अस्ट्रेलियामा पनि स्क्रिनिङ हुनेछ। शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन्। निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्धाञ्जली दिन फिल्म निर्माण गरेको जानकारी दिए।