PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

चिनियाँ रक्षा मन्त्रालयको चेतावनी : पेलोसी ताइवान आए पीएलए मौन बस्दैन



पहिलोपोस्ट

चिनियाँ रक्षा मन्त्रालयको चेतावनी : पेलोसी ताइवान आए पीएलए मौन बस्दैन
Photo:mod.gov.cn

अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीको सम्भावित ताइवान भ्रमणको विषयलाई लिएर चीनको विदेश मन्त्रालयपछि रक्षा मन्त्रालयले समेत अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनले अमेरिकी अधिकारीहरुलाई त्यससँग सम्बन्धित रहेर चेतावनी दिएको स्वीकार गरेको अर्को दिन नै रक्षा मन्त्रालयका प्रवक्ताले अर्को चेतावनी दिएका हुन्। 

चिनियाँ रक्षा मन्त्रालयले भनेको छ - पेलोसीको भ्रमण भए चिनियाँ सेना कुनै पनि हालतमा चुपचाप बस्नेछैन र कुनै पनि बाह्य हस्तक्षेप र "ताइवान स्वतन्त्रता" पृथकतावादी प्रयासहरूलाई विफल पार्न कडा कदम चालिनेछ। 

चीनको रक्षा मन्त्रालयका प्रवक्ता थान खफेइले अमेरिकी तेस्रो वरियताकी अधिकारी पेलोसीले ताइवान भ्रमण गरे यसले एक चीन नीति र चीन अमेरिकाबीच भएका तीन वटा समझदारीको उल्लंघन हुने बताएका छन्। 

'यसले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका साथै चीन-अमेरिका सम्बन्धको राजनीतिक आधारलाई गम्भीर रूपमा नोक्सान पुर्‍याउनेछ,' उनले भनेका छन्, 'यसले पक्कै पनि द्विपक्षीय सैन्य सम्बन्धमा गम्भीर क्षति पुर्‍याउनेछ र ताइवान घाँटीमा तनाव बढाउनेछ।' 

चीनले अमेरिकासँग ताइवान पृथकतावादीलाई सहयोग नगर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नसमेत भनेको छ। साथै उसले पेलोसीको भ्रमण रोक्न माग गरेको प्रवक्ता थानले भनेका छन्। 

'यदि त्यसो भएन भने, चिनियाँ सेना कुनै पनि हालतमा चुप लागेर बस्ने छैन र कुनै पनि बाह्य हस्तक्षेप र "ताइवान स्वतन्त्रता" पृथकतावादी प्रयासहरूलाई विफल पार्न र राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न कडा कदम चाल्नेछ,' थानले भनेका छन्।  

प्रवक्ता थानको यो अभियव्यक्तिले पीएलए सम्भावित भ्रमणको प्रतिरोधका लागि पूर्ण रुपमा तयार रहेको संकेत दिएको चिनियाँ सैन्य विज्ञ सङ चोङफिङले ग्लोबल टाइम्ससँग भनेका छन्। 

गत सोमवार मात्र न्युयोर्क टाइम्सले पेलोसीको प्रस्तावित भ्रमणलाई लिएर बाइडेन प्रशासन तनावमा रहेको समाचार प्रकाशन गरेको थियो। 

उक्त समाचारमा पेलोसी सवार विमानलाई ताइवानमा अवतरण हुनबाट रोक्न चीनले सैन्य जहाज स्कर्ट गर्न पठाउन सक्ने चासो व्यक्त गरिएको छ। 

त्यस्तै चिनियाँ अधिकारीहरु तथा विश्लेषकहरुले पनि ताइवानको आकाशमा पेलोसीको विमानसँगै पीएलएका लडाकु जहाजपनि सँगसँगै देख्न सकिने अनुमान गरेका छन्। यसले पीएलएका विमानहरु ताइवान टापुमा हवाइ पेट्रोल गर्ने बाटो खुला गर्ने र यो चीनकै लागि फाइदा हुनेसमेत विश्लेषण चिनियाँ विज्ञहरुले गरेका छन्। 

ढिलो चाँडो पीएलएका विमानहरु ताइवानको आकाशमा उड्ने र त्यसले ताइवानमाथि चीनको सार्वभौमिकता स्थापित गर्न मद्दत पुग्ने अनुमान गरिएको छ। त्यसका लागि चीनलाई एउटा अवसरको आवश्यकता रहेको र त्यो अवसर पेलोसीको भ्रमण हुन सक्ने ग्लोबल टाइम्सको रिपोर्टमा उल्लेख छ। 'भ्रमणले पीएलएलाई ताइवानको आकाशमा युद्धक विमान पठाउन उत्तम कारण दिने छ,' समाचारमा भनिएको छ। 

पेलोसीको यो भ्रमणलाई लिएर बाइडेन प्रशासन पनि चिन्तामा छ। यो भ्रमणले तिक्ततापूर्ण रहेको दूई देशबीचको सम्बन्धलाई थप संकटमा धकेल्ने चिन्ता राष्ट्रपति जो बाइडेनले बताएका छन्। 

चिनियाँ विश्लेषकहरुले पेलोसीले  ताइवान भ्रमण गरे सम्पूर्ण ताइवान टापुलाई पीएलएको 'ड्रिल जोन' घोषणा गरी अन्य विमानलाई रोक्नुपर्ने सुझाव दिएका छन्। 

त्यस्तै पीएलएको रकेट फर्सले नयाँ क्षेप्यास्त्रसहित अमेरिकी एयरक्राफ्ट क्यारियर र अन्य ठूला सैन्य भेसलहरुलाई लक्षित गरी ड्रिल गर्न सक्नेसमेत बताइएको छ। ताइवानलाई वरिपरीबाट घेर्ने गरी ड्रिल गर्नसक्नेसमेत बताइएको छ। 

सन् १९९५ र १९९६ मा तत्कालीन ताइवानका नेता लि थङ हुइको अमेरिका भ्रमणलाई रोक्नका लागि ताइवानलाई जलक्षेत्रबाट घेर्ने गरी पीएलएले क्षेप्यास्त्र परीक्षण गरेको थियो। त्यसयताका २७ वर्ष चिनियाँ सेनाले आफ्नो शक्तिलाई थप बलियो बनाइसकेको छ।  

सोमवार मात्र ताइवानलाई दुबै तिरबाट घेरेर पीएलएका युद्धक विमानहरु उडेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell