PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

स्वस्थ पर्यावरण संरचना सिर्जनामा फिस्टे चरा ठूलो कि बाघ?



पहिलोपोस्ट

स्वस्थ पर्यावरण संरचना सिर्जनामा फिस्टे चरा ठूलो कि बाघ?

- बेदवहादुर खड्का 

गाउँघरतिर मानिसहरु मसिना चरालाई फिस्टे/फिस्टो नामले पुकार्ने गर्दछन्। त्यसै भएर केही समय अघिसम्म गाउँघरको परिवेशमा हुर्केको अलि चलाख खालको फुच्चे केटोलाई ठूला भनाउँदाहरुले ‘ए फिस्टे’ भनेर जिस्क्याउँथे।

जे होस्! हेला गरेर सम्बोधन गरिने फिस्टे केटो पनि पछि गएर समाजमा ठुलै योगदान र राज्यको सम्मानजनक ठाउँमा पुग्दा फिस्टे भनेर अपहेलना गर्नेहरुलाई पछुतो लागे जस्तै : फिस्टे/फिस्टो चरोले पुर्‍याउने पर्यावरणीय योगदान पनि बाघको भन्दा कम नभएको हुँदा सधैँभरी बाघलाई मात्र सर्वोपरी ठान्नेहरुका लागि यस लेखले पनि कही लज्जास्पद ‘टिप्स’ दिन्छ की भन्ने कुरा यो पंक्तिकारलाई लागेको छ। तर, कुन जीवलाई कुन स्तरको महत्व दिने भन्ने कुरा आ–आफ्नो हेराईमा भरपर्छ। मनोरञ्जनका दृष्टिकोणबाट हेर्दा चरा सौखिनहरुले बाघलाई खासै महत्व दिएको देखिँदैन। त्यसैगरि बाघका ‍सौखिनहरुले चराहरुलाईे कमै महत्व दिएको देखिन्छ। हुन त भन्नेले भन्छन : बाघ जङ्गलको राजा हो,  देख्दैमा आकर्षक देखिन्छ र हिन्दु धर्ममा बाघलाई देवीको वाहनको रुपमा पनि लिईन्छ।

त्यसो भन्दैमा यस सृष्टिमा सृजित भएका सबै प्राणीलाई बाघका अगाडि मूल्यहिन बनाई दिनु भएन नि! होइन र?

तर जैविक इकोसिस्टममा स–साना देखि ठूला खाले जीवसम्मको भूमिका प्राकृतिक संरचना निर्माण गर्न र त्यसलाइ स्वस्थ्य र स्वच्छ राख्न समान हुन्छन्। ठूला वन्यजन्तुको ठुलै र सानाको सानै योगदान हुने होइन। तर हाम्रो सोचाईमा बाघ संरक्षण गरेपछि कमिला/गड्यौलासम्मको संरक्षण हुन्छ भन्ने बुझाई रहेको छ। तर वास्तवमा स–साना जीव र वनस्पतिहरुको संरक्षण भएपछि बाघको स्वतः संरक्षण हुने हो।

जैविक इकोसिस्टम भित्र फिस्टे चरामात्र होइन यो भन्दा मसिना मौरी, भमरा लगायतका किटपतङ्ग, कमिला र गड्यौला समेतको लिङ्क (सम्बन्ध) केलाएर हेर्दा बाघ, चितुवा र हिउँ चितुवासम्म जोडिएको हुन्छ। साना र मसिना प्राणीहरु बचाउन सकिएन भने बाघजस्ता ठूला प्राणीहरु प्राकृतिक रुपमा बचाउन सकिदैन। तिनीहरुलाई बचाउन त सकिएला तर केवल चिडिया खानामा। यसरी चिडियाखानामा मात्र जोगाइएका बाघ वा अन्य ठुला वन्यजन्तु प्रजातिहरुको केही अर्थ रहँदैन किनकि यसले पर्यावरणमा कुनै भूमिका खेल्न सक्दैन। प्रकृतिमा एउटा मात्रै जीव र वनस्पति लोप हुने बित्तिकै त्यसमा आश्रित अरु थुप्रै जीव र वनस्पतिहरु लोप हुने खतरामा रहन्छन्।

फिस्टे चराको महत्व

नेपालमा पाइने ८९१ प्रकारका चरामध्ये ६० प्रजाति भन्दा बढी फिस्टे चराहरुको समूह छ। कतिपय फिस्टे चराहरु घुमन्ते/फिरन्ते र भ्रमणशिल स्वभावका रहेका छन् भने कयौं फिस्टे चराहरु रैथाने स्वभावका हुन्छन्। यस्ता फिस्टे चराहरु वर्षा याममा उच्च हिमाली भू–भागमा समेत बच्चा कोरल्न पुग्छन भने हिउँदमा समथर भू–भागसम्म आइपुग्छन्। फिस्टे चराको मूख्य आहारा सबै किराफट्याङ्ग्रा, तिनका फूल, लार्भा र प्यूपाहरुसमेत हो। बासस्थान र त्यहाँ पाइने आहाराको कारण फिस्टे चराहरुले विभिन्न नाम पाएका छन्। जस्तै रुखको पातमा टाँसिएका किरा खाने भएकाले पाते फिस्टो, घाँसमा हुने किरा खाने भएकाले घाँसे फिस्टो र झाडीमा हुने किरा खाने र त्यसैमा लुक्ने भएकाले झाडी फिस्टो। यहाँसम्म कि ध्वाँसे फिष्टो लगायतका कतिपय चराहरुले लामखुट्टेसमेत खान्छन्।

फिस्टे चराहरुको सरदर लम्बाई १० सेमी र तौल १० ग्राम जतिमात्र हुन्छ। प्रत्येक फिस्टे चराले दिन भरीमा वा प्रतिघण्टा कति किरा फट्याङ्ग्रा खान्छ होला? सबैले पत्याउने जवाफ के हुन सक्छ भने दिन भरीमा झण्डै १०० वटा र घण्टामा १० वटा जति किरा फट्याङ्ग्रा खान सक्छ। तर, वास्तवमा प्रतिघण्टा एउटा फिस्टोले सरदर १८०–२०० वटा र दिन भरीमा सरदर १० घण्टाको दिन मान्दा १८००–२००० वटा किरा फट्याङ्ग्रा खाएको अध्ययनले देखाएको छ। यसमा किरा फट्याङ्ग्राका फुल, लार्भा, र प्यूपासमेत पर्दछ। यो कुरा सुन्दा जो कोहीलाई पनि अचम्मै लाग्न सक्दछ। यति ठूलो संख्यामा फिस्टेचराहरुले किरा नखाई दिने हो भने वा किरामा निर्भर चरा लोप भएर गयो भने त्यस वरपरको वातावरण के हुन्छ होला! एकपटक कल्पना गरौ त!

किराहरुले शाकाहरी भोजन ग्रहण गर्ने क्रममा हरिया पातहरु खाएर ठुटै बनाउँछन, तिनै किरा फट्याङ्ग्राहरु खाएर चराले पर्यावरणमा सन्तुलन कायम गर्दछन्। हाम्रो घर आँगनको कृषिवाली किराले नष्ट गर्‍यो भने त किटनाशक औषधी छिटौँला तर प्राकृतिक वन क्षेत्रहरुमा के किटनाशक औषधी हालेर किरा फट्याङ्ग्राहरु नियन्त्रण गर्न सक्छौ?

सक्दैनौ भने हामीहरु फिस्टे चराहरुको संरक्षणलाई किन महत्व दिदैनौ? विकासको नाममा यिनीहरुको बासस्थान किन खलबल्याउँछौ?

हामीहरु ठूला खाले जीवको संरक्षणका लहरहरु फैलाइ रहेका छौं तर किन स–साना जीव र चराहरुको संरक्षणका लहर फैलाउन ध्यान दिदैनौ? यी प्राणीहरु युगान्तकाल सम्मको लागि धरतीमा पैदा भएका हुन्, नकी कुनै एक पुस्ताका लागि। अब भनौ चरा र बाघको आकार र तौलमा ठूलो सानो होला तर प्रकृति सन्तुलन कायम राख्न बाघभन्दा फिस्टे चरो पनि कम छैन। सानो भनेर हेप्नु हुदैन। त्यसैले पर्यावरण स्वस्थ्य राख्नमा स–साना प्राणीको पनि अग्रणी भूमिका हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन।

चराहरुको जैविक सम्बन्ध हरेक जीव प्राणीमा जोडिएको हुन्छ। वन जङ्गल, झाडिबुट्यान, सिमसार क्षेत्र, घाँसे क्षेत्र र कृषि क्षेत्रमा फिस्टे चराहरुको उपस्थित हुनु नै स्वस्थ्य प्राकृतिक वातावरणको संकेत हो। यस्ता क्षेत्रहरुमा चराहरुको उपस्थितिले एकातर्फ किरा खाएर वातावरणलाई सन्तुलन कायम गर्दछन् भने अर्कोतर्फ घाँसहरुको फुलहरुमा परागसेचन गरी स्वस्थ्य घाँस उत्पादनमा वृद्धि गराउन र विष्टाको माध्यमवाट घाँसका बीऊ एक स्थानबाट अर्को स्थानमा प्रसारण गरी वन्यजन्तुको चरन क्षेत्र विस्तार गर्नमा सहयोगी सिद्ध हुने गरेको छ। यसै चक्रले बाघका आहारा प्रजातिहरु वृद्धि गराउनमा सहयोग पुग्दछ। प्राकृतिक रुपमै सृजित वनजङ्गल, झाडी बुट्ट्यान, घाँसे मैदान एवं हरिलारसिला पाखा र चरन क्षेत्रहरुले आ–आफ्नै महत्व र विशेषता बोकेको छ। हरियाली वनस्पतिहरुले जमिनलाई चिस्यानमा राखेर पोषणयुक्त घाँसपातको वद्धीविकास गरिदिने, घाँसपात, रुखबिरुवाको जराले माटोलाई अट्ठ्याई राख्नेहुनाले बाढीपैह्रोका भयलाई न्यूनीकरण गर्नमा सहयोग यिनै चराहरुको भूमिकामा निर्भर रहन्छ। हुन त यस्तो प्रकारको स्वास्थ्य प्राकृतिक संरचना संन्तुलन कायम राख्न किटपतङ्ग, माहुरीलगायत भमराको पनि महत्वपूर्ण भुमिका रहेको पाइन्छ।

चरामा अभिरुची

मानिसहरुलाई चरा अवलोकन गर्नु मनोरञ्जनको विषय होला तर अर्कोतर्फ हेर्दा चराहरुले पर्यावरण सन्तुलन कायम राख्नमा अग्रणी भूमिका खेलेका हुन्छन्। त्यही भएर होला विदेशी राष्ट्र प्रमुखहरु र, राजदूतहरु चरा अवलोकन र तिनीहरुको दिनचर्या बुझ्नमा चाख राख्दछन्। जसको पछिल्लो उदाहरण भनौ वा केही वर्ष अगाडि अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टर नार्गाजुन शिवपुरी राष्ट्रिय निकुञ्जको भ्रमण गरेर चरा अवलोकन गर्नु भएको कुरा विभिन्न पत्रपत्रिका खबर बनेकै हो। तर यी प्रतिनिधिपात्र मात्र हुन्।

उच्च ओहदामा रहेका नेपालीहरुमा पनि चराहरुप्रति माया, मोहको विकास भइ देशवासीहरुको मनमा उत्साह जगाउने, तिनीहरुको संरक्षणको भाव झल्काउने कार्य हुन सके चरा संरक्षणको प्रभाव र महत्व स्थानीय स्तरसम्मै पुग्दथ्यो होला। नेपालमा उच्च पदस्थ राजनीतिज्ञहरु र कर्मचारीहरुमा चराहरुको संरक्षण प्रतिको लगावमा कमी भएको महसुस गरिएको छ। किनभने बडाले गरेको कामको नक्कल तल्लोस्तरसम्म पुग्दा चरालगायत सबै जीवजन्तु र वनस्पति संरक्षणमा टेवा मिल्ने हुन्छ। उच्च तहमा सायद हाम्रोमा प्रकृतिमा रमाउने संस्कार नभएर होला चरासम्बन्धी अभिरुची र संरक्षणका कार्यहरु अगाडि बढ्न नसकेका हुन जस्तो लाग्दछ। तर, नेपालमा केवल विदेशी पर्यटक आवगमनले प्रभाव पारेको क्षेत्रमा मात्र चरा संरक्षणको भाव रहेको देखिन्छ र अन्यत्रयस्तो भाव विकास भएको देखिएको छैन।

चराहरुको प्राकृतिक वातावरण सन्तुलनको भूमिका सबै हामी नेपालीले नबुझेसम्म सबै चराहरु सुरक्षित अवस्थामा बाँच्न पाउने सम्भावना न्यून नै रहने छ।

संरक्षणको भाव

पृथ्वी एउटा गोलघर हो जहाँ माकुराको जालोजस्तै लाखौ प्रजातिका जीवजीवात्मा, वनस्पतिहरु रहेका छन्, जसमा प्रकृतिको अभिन्न अङ्गको रुपमा मानव जाति पनि रहेको छ। जसरी मानवलाई स्वस्थ्य भएर बाँच्नको लागि शरीरका हरेक अङ्गप्रत्यङ्गको सम्बन्ध गाँसिएको हुन्छ र कुनै अङ्गले काम गर्न छोड्यो भने मानिस रोगी बन्छ त्यसरी नै पृथ्वी स्वस्थ्य राख्न लाखौ हजारौ प्रजातिका जीवजीवात्मा, वनस्पतिहरुले सक्रिय भूमिका खेलेका हुन्छन् तर हामी त्यसलाई जानेर वा नजानेर भत्काई रहेका हुन्छौं वा विनास गरिरहेका हुन्छौ। हावापानी, माटोलाई समेत दूषित बनाई आफ्नै घरवरपरको क्षेत्रलाई प्रदूषित बनाई विभिन्न रोगहरुलाई निम्त्याएका छौं।

हिँउदमा डाक्टरहरुले बिहानको समयमा काठमाण्डौंमा हिँडडुल नगर्न र गरे पनि घाम लागेपछि मात्र गर्न सुझाएका छन्। गाउँघरमा बस्ने मानिसको तुलनामा काठमाण्डौंका मान्छेको हाँसो कृत्रिम भएको छ। यो सबै पर्यावरण असन्तुलनको परिणाम हुन सक्छ। हुन त असन्तुलित खानपान पनि त्यतिकै जिम्मेवार रहेको छ। जसले ‘फास्टफुड’ आफनो खानपानमा धेरै प्रयोग गर्छ उसको शीघ्र मृत्यु हुन्छ भन्ने कुरा स्वंय डाक्टरहरु नै बताउँछन भने अर्कोतर्फ हामीले प्रकृतिलाई धेरै दुःख दियौं भने प्रकृतिले पनि धेरै दुःख दिन्छिन् भन्ने प्रमाण विभिन्न समयका बाढी पहिरोले अहिलेका मानवलाई झल्को दिइरहेकै छ। यस्ता प्राकृतिक विपत्तिहरुवाट बच्न मानिस आफै लागि पर्नुपर्छ, यसमा हाम्रै हात छ, अरु कसैले गर्दैन, राज्यको मात्र भर पर्नु पनि हुँदैन र आफुले गर्न सक्ने काम आफैले गर्दा आफू र समाजलाई फाईदा पुग्ने थियो कि?

फिस्टे चराको पर्यावरण सन्तुलनमा महत्वपूर्ण भूमिका रहेजस्तै विभिन्न अन्य वनस्पति र जीवहरुको भूमिका पक्कै पनि छ। मानवका लागि स्वस्थ्य जीवन जीउनको लागि स्वच्छ वायु चाहिन्छ जुन कुरा ठूला भनाउँदा जीवजन्तुहरु साना मसिना प्राणीहरुले मिलेर तयार गर्ने स्वस्थ्य पारिस्थितिकीय प्रणाली मै निर्भर रहन्छन भन्ने कुरा भुल्नु हुँदैन। भुल्यौ कि मानवले अस्वस्थ्य जीवनशैली अपनाउनु पर्ने हुन्छ। अतः वातावरण संरक्षण र दिगो विकास संगसंगै लैजान हामी सबैको पहल हुन आवश्यक देखिन्छ।

तस्विर : फिस्टे चरा (मोहनविक्रम श्रेष्ठ) ।  बाघ (बेदवहादुर खड्का)


-खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन। उनी गोही अध्ययन र संरक्षणमा चासो राख्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell