
काठमाडौं : देशका ६ वटै महानगरका प्रमुखको भेला आजदेखि पोखरामा सुरु हुँदैछ। पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ।
महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ। साउन १४ गतेसम्म संचालन हुने सो सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र वीरगंज महानगर प्रमुख राजेशमान सिंह बिहीबार साँझनै पोखरा आइपुगेका छन्। अन्य महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत आज बिहानसम्म आइपुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।
सम्मेलनमा महानगर संचालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने प्रमुख आचार्यले बताए। महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको प्रमुख आचार्यले बताए।
भने, ‘गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौती र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ। सम्मेलनले पोखरा घोषणापत्र जारी गर्छ। घोषणापत्र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्नेछौँ।’
सम्मेलनको पहिलो दिन पोखरा, काठमाडौं, विराटनगर, भरतपुर, ललितपुर र वीरगंज महानगरपालिकाका प्रमुखले आ-आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौतीबारे धारणा राख्ने कार्यसूचीमा उल्लेख छ। त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुती दिनेछन्।
महानगरका उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्ने बताइएको छ। प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौतीबारे बताउनेछन्।
सम्मेलनको दोस्रो दिन पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासनसम्बन्धी प्रस्तुति राख्ने कार्यसूची छ। उनको प्रस्तुतिपछि सहभागीबिच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची छ। रासस