काठमाडौं : स्याङ्जाको वालिङमा रहेको सयपत्री बालविकासकी शिक्षिका मल्लिका राना एक महिनाको लागि काठमाडौंमा छिन्। बालबालिकालाई मन्टेश्वरी पद्धतिबाट पढाउने तालिम लिन उनी काठमाडौं आएकी हुन्।
एक सातामात्र भयो उनले यहाँ तालिम सुरु गरेको। उनलाई सिकाइएको यो नयाँ पद्धतिबाट बालबालिकालाई अझ राम्रोसँग पढाउन सक्छु भन्ने आत्मविश्वास बढेको छ।
मल्लिकासँगै सिक्ने समूहमा मिसिएकी छिन् बाह्रबिसे-६ डाँडाकटेरीमा रहेको सेतीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक राधा न्यौपाने पनि। उनलाई पनि अन्य शैक्षिक तालिम र सिकाइभन्दा यसपटक फरक अनुभूति भइरहेको छ।
‘साना बालबालिकालाई हातको सिपदेखि व्यवहारिक ज्ञान दिलाउने र फरक तरिकाले व्यवहार गर्न सिकाउने यो तालिम असाध्यै राम्रो लागिरहेछ। यसअघि सरकारी तवरबाट विभिन्न तालिम लिएको त हो तर यो अरुभन्दा फरक किसिमको रहेछ। बालबालिकालाई कसरी सिकाउने भन्ने सिप यहाँ पाठ्यक्रममै सिकिरहेछु,’ उनले भनिन्।
स्याङ्जाकै श्री रामराज्य आधारभूत विद्यालयकी धनकुमारी गाहा, बाह्रबिसेको नमुना संसारकी अन्जु प्रधान र दीपज्योति आधारभूत विद्यालकी दीपा श्रेष्ठ पनि यही समूहमा उनीहरूसँगै छन्।
धनकुमारी भन्छिन्, ‘अहिलेसम्म किताबमा सीमित थिएँ। अब व्यवहारिक रुपमा प्रयोग गरेरै सिक्ने विधि पनि थाहा हुँदैछ। बालबालिकाको लागि किताब वाहेकका शैक्षिक सामग्रीहरु कति महत्वपूर्ण रहेछ भन्ने कुरा पनि यहीँ आएर महसुस भयो।’
यहाँ भेला भएका सबै शिक्षिकाहरूले बालबालिकाहरूलाई पढाइने परम्परागत शिक्षण पद्धति भन्दा अलि भिन्न मन्टेश्वरी पद्धतिबारे सिकिरहेका छन्।
उनीहरु महिला छात्रावासमा बस्छन् र दिनभर शैक्षिक सिकाइमा व्यस्त रहन्छन्। उनीहरु सबैलाई समान सिकाइको एउटै मालामा उनिरहेकी छिन् मन्टेश्वरी पद्धति प्रशिक्षण विज्ञ सुष्मा लामाले, जो ३० वर्षदेखि शिक्षण पेशामा छिन्।
परम्परागत शिक्षा प्रणालीमा भएका कमी कमजोरीलाई हटाएर बालबालिकाको शिक्षालाई कसरी व्यवहारिक र प्रभावकारी बनाउने भन्नेमा केन्द्रित सुष्मा हाल मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष पनि हुन्।
मन्टेश्वरी शिक्षा यस्तो पद्धति हो जहाँ स-साना बालबालिकालाई प्रयोगमार्फत विभिन्न क्रियाकलापमा सहभागी गराउँदै सिकाइन्छ। यसमा बालबालिकाले छोएर, हेरेर, गनेर, खेलेरै सिक्ने वातावरण तयार हुन्छ।
परम्परागत सिकाइमा जस्तो घोक्ने र किताब रट्ने कामलाई यो पद्धतिले नकार्छ। प्रयोगात्मक विधिबाट बालबालिकाले आफैँ सिक्ने जान्ने बुझ्ने भएकाले पनि मन्टेश्वरी विधि विश्वभर सफल सिकाइ पद्धति मानिन्छ।
परम्परागत विद्यालयमा शिक्षक शिक्षिका केन्द्रित सिकाइ विधि हुन्छ भने मन्टेश्वरीमा बालबालिकाको आवश्यकतालाई हेरी सोही अनुसारको सिकाइको वातावरण तयार पारिन्छ। परम्परागत विद्यालयहरुमा पूर्व निर्धारित पाठ्यक्रमहरुमा बालबालिकाको रुची र आवश्यकतालाई खासै ध्यान दिइएको हुन्न। तर, मन्टेश्वरीमा बालबालिकालाई एक अर्कासँग प्रतिस्पर्धा नगराई व्यक्तिगत क्षमता र रुचीका आधारमा सिक्न प्रोत्साहित गरिन्छ।
आफ्नै पुरानो विद्यालयबाट तीन ब्याच एसएलसी उतारिसकेपछि सुष्मालाई पनि स-साना बालबालिकालाई परम्परागत शिक्षा प्रणालीले भनेजस्तो सिकाइ नदिएको भान भयो। यसैकारण सुष्माले १७ वर्षअघि मन्टेश्वरी शिक्षाबारे पढिन् र यसै अनुसार पढाउन बेस्ट मन्टेश्वरी सञ्चालन गरिन्।
साथसाथै, उनले मन्टेश्वरी शिक्षाबारे प्रशिक्षण दिन पनि सुरु गरिन्। तालिमपछि शिक्षिकाहरुले बालबालिकाका लागि किताबबाट रटाइनुमा मात्र सीमित रहेका कुराहरुलाई कसरी प्रयोगात्मक र व्यवहारिक रुपमा सिकाउने भन्नेमा सुष्मा तल्लिन छिन्। योसँगै उनले यसै अवधिमा शिक्षिकाहरुलाई जीवन बाँच्ने कला अर्थात ‘आर्ट अफ लिभिङ’ पनि सिकाइरहेकी छिन्।
+++
पाँचथर रानीगाउँका किताबसिंह सुब्बा ‘फ्याक्ट्री बाबु’ बनेर दार्जिलिङको चिया बगान पसेपछि सुब्बा परिवार उतैतिर फैलिन पुग्यो। सुष्मा पनि उतै जन्मिन् र हुर्किइन्। तर, भाग्यले उनलाई डोहोर्याएर फेरि नेपालै नै ल्यायो।
झापाका संजीव लामासँग विवाह गरेर नेपाल छिरेकी सुष्माको सम्बन्ध त्यसयता शिक्षासँगै जोडिइरह्यो। आफ्नै हजुरबुबा किताब सिंहको नामको फेरो समाएर नातिनी सुष्मा पनि आफ्नो सम्पूर्ण समय किताब र शिक्षाकै वरिपरि बिताइरहेकी छिन्।
उनले अहिलेसम्म सयौँ बालबालिकालाई शिक्षाको उज्यालो बाटो देखाइसकेकी छिन्। साथै, बालबालिकाका ‘गुरुमा’हरुलाई वास्तविक ‘गुरु’ बनाउन आवश्यक सिप र दक्षताका साथै आध्यात्मिक चिन्तनको मार्गतर्फ पनि डोहोर्याइरहेकी छिन्।
सुष्माले १७ वर्षदेखि बेस्ट मन्टेश्वरी चिल्ड्रेन्स हाउस नामक शिक्षालय चलाइरहेकी छिन्। यससँगै उनको शिक्षालयको हालसम्म ७ वटा आफ्नै चेन र अन्य धेरै ठाउँमा फ्रेन्चाइजी संचालनमा छन्।
सुष्माले संचालन गरेको मन्टेश्वरीमा आवद्ध हुन अन्य शैक्षिक तालिमका अलावा शिक्षक शिक्षिकालाई अनिवार्य गरिएको छ ‘आर्ट अफ लिभिङ’को तालिम। यसले उनीहरुलाई प्राविधिक वा शैक्षिक रुपमा मात्र नभई आत्मिक रुपमै असल बनाउँछ भन्ने सुष्माको बुझाइ छ।
जब कोही उनको शिक्षालय प्रवेश गर्छन् तब उनी उनीहरूलाई ‘आर्ट अफ लिभिङ’को तालिममा पठाउँछिन्। यस शिक्षालयमा अधिकांश महिलाहरु आवद्ध छन्। उनीहरू आर्थिक रुपमा सबल र मानसिक रुपमा खुशी भएर बालबालिकाहरुबिच जाउन भन्ने सुष्माको उद्देश्य छ।
सुष्मा भन्छिन्, ‘शिक्षक शैक्षिक गुणस्तर राम्रो भएको व्यक्तिमात्र होइन। ऊ त बच्चाको दिमाग, शरीर र आत्मालाई नै सकारात्मक उर्जा दिन सक्ने कला भएको व्यक्ति पनि हो। शिक्षक आफैँ पोजेटिभ स्टेट अफ माइन्डको भएन भने कसरी बालबालिकालाई उनीहरुको खुबी बुझेर व्यवहार गर्न सक्ला। फेरि अवस्था असामान्य भएका बेला पनि शिक्षकले सामान्य भएर बालबालिकालाई व्यवहार गर्न सक्नुपर्छ।’
यी सबै गुण ‘आर्ट अफ लिभिङ’को तालिमले दिने उनको बुझाइ छ। र, उनको बुझाइको पछाडि उनकै अनुभव। किनकी उनी विगत १७ वर्षदेखि आफैँ ‘आर्ट अफ लिभिङ’लाई आत्मसात् गरिरहेकी छिन्।
झट्ट सुन्दा नौलो लाग्न सक्छ आफ्ना शिक्षक-शिक्षिकाका लागि सुष्माले गरिरहेको यो प्रयास। तर, यसबाट लाभ लिएका शिक्षिकाहरु भने ‘आर्ट अफ लिभिङ’को तालिमले आफूहरुलाई बालबालिकाबिच कसरी सकारात्मक उर्जा बोकेर जाने भन्ने कला सिकाएको महसुस गर्छन्।
२२ वर्षदेखि शिक्षण पेशामा रहेकी दिव्या प्रधानले बेस्ट मन्टेश्वरीमा आबद्ध भएपछि धेरैपटक ‘आर्ट अफ लिभिङ’को कोर्स गरिसकेकी छिन्।
‘कुनै पनि टिचरले आफूले नबुझी बच्चालाई पढाउन सक्दैन। आर्ट अफ लिभिङले जे कुरामा पनि शतप्रतिशत समर्पित भएर काम गर्ने कला सिकाउँछ। यसका पाँच आधारभूत सिद्धान्तहरुले हामीलाई दैनिक जीवनमा भइरहेका अवरोधहरुलाई कसरी सहज बनाउँदै अघि बढ्ने भन्ने बोध गराउँछ। शिक्षक यसैपनि बालबालिकाप्रति समर्पित भएरै काम गर्ने पेशा हो। अझ आर्ट अफ लिभिङको तालिमपछि बच्चा कुनै पनि कारणले भिक्टिमाइज नहोस् भन्ने सोचेर काम गर्ने गुण स्थापित हुँदो रहेछ,’ उनी अनुभव बताउँछिन्।
बेस्ट मन्टेश्वरी चिल्ड्रेन्स हाउसका सबै चेनमा गरेर ६ सयजति बालबालिका छन्। हरेक विङमा १० देखि १२ शिक्षक शिक्षिका छन्। लाजिम्पाट विङमा मात्र कक्षा १० सम्म पढाई हुन्छ। अन्यत्र सबैतिर ५ कक्षासम्म मात्र छ।
ति सबै बालबालिकालाई कलेजसम्म पुग्दा जुन मार्गमा हिड्न तयार पारिएको छ त्यसमा आध्यात्मिक अभ्यास पनि समावेश हुने सुष्माले बताइन्। उनले मन्टेश्वरीमा पढाउने ९० प्रतिशतभन्दा बढी शिक्षक महिला नै राखिएको बताइन्।
उनी भन्छिन्, ‘पुरुषले बालबालिका हेर्न र पढाउन नसक्ने भनेको होइन। तर, महिलाको तुलनामा बालबच्चाको हेरचाह गर्ने प्राकृतिक शक्ति र स्वभाव पुरुषमा पाइदैन। महिलाको मल्टिटास्किङ क्षमता हुन्छ। उनीहरुसँग सहनशीलता र धैर्यता पुरुषको भन्दा बढी हुन्छ। जुन कलिला बच्चाको हेरचाहका लागि उपयुक्त मानिन्छ।’
एउटा शिक्षकका लागि आवश्यक पर्ने धैर्यता, अनुशासन, असल बानी व्यहोरा र व्यवस्थापकीय कला ‘आर्ट अफ लिभिङ’को तालिमले सिकाउने सुष्मा बताउँछिन्। यसले खुशी भएर काम गर्ने र सन्तुष्टिका साथ बाँच्ने कला सिकाउँछ। साथै, कामप्रतिको समर्पणभाव अनि आफ्नो काममा शतप्रतिशत दिने र व्यक्तित्वलाई कसरी उत्कृष्ट बनाउने भन्ने बारे सकिने उनको बुझाइ छ।
उनी भन्छिन्, ‘जीवनमा सफल बन्नुमात्र ठूलो होइन, असल हुनु महत्वपूर्ण हो। अनि खुशी भनेको पैसाले मात्र दिँदैन। आफ्नो कामबाट आत्मसन्तुष्टि लिन जान्यो भने मानिस अधैर्य बन्दैन। काममा शतप्रतिशत दिने मानिस असफल पनि हुँदैन।’
सुष्माको बुझाइमा अध्यात्म विज्ञान र प्रविधिलाई बदलिँदो परिवेशको शिक्षासँगै एकैसाथ अघि बढाउन सक्ने शिक्षक नै असल शिक्षक हो।
‘जबसम्म एउटा शिक्षकमा त्यो मूल्य मान्यता र प्रतिबद्धता हुँदैन उनीहरुले कसरी तीन वर्षका कलिला मुनाहरुलाई सम्हाल्न सक्छन्, त्यो पनि एक थप्पड नलगाई, चर्को स्वर नगरी अनि कठोर नबनी,’ उनले भनिन्।
त्यसैले सुष्मा आफ्ना सबै शिक्षक शिक्षिकालाई ‘आर्ट अफ लिभिङ’को तालिममा पठाउँछिन्।
+++
सन् २००५ मा मन्टेश्वरी पद्धतिको स्कुल खोलेसँगै सुष्माले ‘आर्ट अफ लिभिङ’बारे पनि सिक्न बुझ्न थालिन्। त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर घुम्न जाँदा देखिन् उनले एउटा स्टल अनि त्यहाँ राखिएका केही जानकारीमूलक सामाग्रीहरु।
कौतुहलताले डोहोर्याएर त्यहाँ पुगेकी सुष्मा १७ वर्षदेखि यही पद्धतिलाई अनुशरण गर्दै शैक्षिक क्षेत्रमा आफ्नो कामलाई अघि बढाइरहेकी छिन्। यसले सुष्माको जीवनमा के परिवर्तन ल्यायो त?
‘आर्ट अफ लिभिङको तालिम लिनु अघि ममा सबैथोक जान्ने छु भन्ने भ्रम थियो। शिक्षण सिकाइको सबै पक्ष आउँछ भन्ने एक किसिमको अभिमान पनि थियो। तर, तालिम पछि जुन कमिटमेन्ट र डेडिकेसन ममा आयो त्यो त मैले सोचेभन्दा र जानेभन्दा फरक रहेछ। आर्ट अफ लिभिङले मलाई के सिकायो भने जिउने कला जान्यो भने जीवन असाध्यै सुन्दर हुँदोरहेछ। अनि शिक्षण भनेको असाध्यै समर्पणभाव भएको पेशा रहेछ। फेरि संसारमा मानवता जतिको ठूलो धर्म अरु कुनै पनि त रहेनछ,’ उनले भनिन्।
आफूले सिकेका यही कुराहरु आफ्ना सहकर्मीहरूले पनि बुझ्नुपर्छ भनेर नै उनले स्कुलका सबैलाई पालै पालो तालिममा पठाउन थालिन्।
उनी भन्छिन्, ‘अन्य धेरै किसिमका तालिमहरू शिक्षण पेशासँग जोडिएका हुन्छन्। तर, ती सबै तालिमहरू त भौतिक मात्र न हुन्। त्यसमा आध्यात्मिक पाटोलाई पनि जोड्न सके सुनमा सुगन्ध थपिएला!’
शिक्षा त्यसमा पनि एकदमै कलिला बालबालिकालाई राम्रो सिकाइ दिनु असाध्यै ठूलो कला हो। त्यसका लागि परम्परागत पद्धतिभन्दा मन्टेश्वरी पद्धति सिर्जनात्मक छ। बालबालिकाको वास्तविक र चौतर्फी विकासका लागि मन्टेश्वरी पद्धति कति महत्वपूर्ण रहेछ भन्ने कुरा उनले आफ्नै शैक्षिक क्षेत्रको अनुभवले बुझ्न सकिन्।
उनले आफ्नो संस्थाको तर्फबाट ग्रामीण भेगका सरकारी विद्यालयहरुमा पनि मन्टेश्वरी पद्धतिको सिकाइ अघि बढाइरहेकी छिन्। भोटेकोशीका दुई र बाह्रबिसेका १३ वटा सरकारी विद्यालयहरुमा मन्टेश्वरी पद्धति लागू गरेको उनले जानकारी दिइन्।
‘काठमाडौंका सुविधासम्पन्न स्थानका बालबालिकाले मात्र यो सुविधा पाउने अनि ग्रामीण क्षेत्रका बालबालिका बञ्चित भए भने शिक्षामा समानताको सुरुवात कसरी हुन्छ, शिक्षामा विभेदबाट हुर्किन बाध्य बालबालिकाको भविष्य दुई बर्गमा विभाजित हुँदै गए अर्को वर्ग संघर्ष सुरुवात नहोला र?’ उनी प्रश्न गर्छिन्।
तीन वर्षअघि ती सरकारी विद्यालयहरुलाई मन्टेश्वरीको पाठ्यक्रम हस्तान्तरण गरेका दिन सुष्माले महसुस गरिन् यो नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। उनी आफैँ त्यहाँ आधारभूत संरचना र सिकाइ पद्धतिको थिती बसाल्न पुगिन्।
मनास्लु हिमालको तल्तिरकै विद्यालयमा पनि उनले मन्टेश्वरी सिकाइ पद्धति अनुसारको पाठ्यक्रम तयार पारिदिइन्। त्यहाँका शिक्षिकाहरुलाई तालिम दिइन्। जो काठमाडौंसम्म आउन भ्याएनन् उनीहरुलाई अनलाइन तालिम पनि दिइन् उनले।
मन्टेश्वरी शिक्षणलाई गाउँ तहमा लैजानुपर्नेमा अडिग छिन् सुष्मा। त्यसैले उनले ग्रामीण क्षेत्रका विद्यालयसँग हातेमालो थालेकी हुन्। सरकारी स्कुलका शिक्षिकाहरुलाई एक महिनाको तालिम संचालन गर्दै उनीहरुमार्फत ती विद्यालयहरुमा मन्टेश्वरी पद्धति लागू गर्ने अभियानमा लागिरहेकी छिन् सुष्मा।
यही अभियाको एउटा पाटो हुन् मल्लिका, धनकुमारी, अन्जु र दिपा जस्ता २५ जना शिक्षिकाहरु जो यतिबेला एकै ठाउँमा भेला भएर मन्टेश्वरी सिकाइ पद्धतिसँगै आर्ट अफ लिभिङ पनि सिकिरहेछन् । यस तालिमले उनीहरुलाई शिक्षण कर्ममा मद्दत गर्नुका साथै खुशीसाथ जिउने र काममा उत्कृष्ट हुने कलाको पनि बोध गराउनेछ।
शिक्षिका हुन त्यति सजिलो छैन। आफूले जानेर ससाना बालबालिकालाई पनि सिकाउनुपर्छ। त्यसमाथि उनीहरुसँग कठोर नभई कोमल रुपले व्यवहार गर्दै, गल्तीलाई माफ गर्दै सही बाटोतर्फ डोहोर्याउन सक्नुपर्छ। बालबालिकालाई सजाय दिने छुट कसैलाई हुनु हुँदैन।
मन्टेश्वरी र आर्ट अफ लिभिङ दुवै पद्धतिको प्रशिक्षक सुष्मालाई आफ्नो जीवनमा जुन भूमिका दिइएको छ त्यस भूमिकालाई उत्कृष्ट रुपमा निर्वाह गर्नुपर्छ भन्ने बोध छ। त्यसैले त उनी महिलाहरुलाई बालमनोविज्ञान अनुसारको शिक्षण पद्धति र जीवन बाँच्ने कला दुवै सिकाइरहेकी छिन्।
कलिला बालबालिकालाई अबोधपनबाट व्यवहारिक ज्ञानको बाटोमा डोहोर्याउने भूमिका भन्दा ठूलो केही होला र? उनी ती सबै शिक्षिकालाई ‘गुरु’ बनाउने यात्रामा छिन् जसले शिक्षालाई व्यापारभन्दा पर सेवा र मानवतासँग जोडिरहेका छन्।