PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

साढे तीन किलोमिटर सडक विस्तार ६ वर्षसम्म सकिएनः बुटवल चौराहा-गोलपार्क सडकको बेहाल,  काम अपलपत्र भएपछि ठेक्का तोड्ने तयारी



रमेश पराजुली

साढे तीन किलोमिटर सडक विस्तार ६ वर्षसम्म सकिएनः बुटवल चौराहा-गोलपार्क सडकको बेहाल,  काम अपलपत्र भएपछि ठेक्का तोड्ने तयारी

बुटवलः बुटवल बजार क्षेत्रको निर्माणाधीन सडकको निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि काम सम्पन्न नभएको भन्दै बेलहिया–बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ। 

शुक्रबार सूचना प्रकाशित गर्दै व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकले ठेक्का लगाएका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएको र बाह्य समस्याबिना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको भन्दै ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै सूचना प्रकाशित गरेको छ।

आयोजना प्रमुख दीपककुमार झाले ठेकेदार कम्पनीलाई निर्माण कार्य अगाडि बढाउन विभिन्न मितिमा लिखित र मौखिक ताकेता गर्दासमेत सन्तोषजन कार्य प्रगति नभएको बताए। झाले सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का किन अन्त्य नगर्ने भन्दै सूचना प्रकाशित गरेको जानकारी दिए।

‘ठेक्का सम्झौता अन्त्य गर्नु नपर्ने कुनै मनासिव कारण भए सात दिनभित्र भरपर्दो स्पष्टीकरणसहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनेका छौँ। स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका शर्त र सिओसी तथा प्रचलित ऐन नियमअनुसार कानुनी कारबाही अगाडि बढाउने तयारी छ’, आयोजना प्रमुख झाले भने।

आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया सुरु गरेको हो। आयोजनाले बिरुवा कन्स्ट्रक्सन प्रालि मध्यबानेश्वर, बिरुवा-श्रेष्ठ-एपेक्स जेभी काठमाडौं र द कञ्चनजंगा-बिरुवा जेभी, मध्यबानेश्वर काठमाडौंले पाएको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो। यी तीनवटा ठेक्का बेलहिया, पड्सरी र बुटवलका हुन्।

बुटवलको मुख्य बजार क्षेत्रको सडक बेहाल हुँदा वषौँदेखि सर्वसाधारणले समस्या खेप्दै आएका छन्। राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक विस्तारको काम तीनपटक म्याद थप्दा पनि पूरा भएको छैन। अन्तिम पटकका लागि भन्दै थपिएको म्याद पनि गत असार ३० मा सकिएको छ। चौराहादेखि पाल्पा रोडसम्मको सडक हिलाम्य र धुलाम्य छ।  निर्माण कम्पनीले वषौँदेखि अलपत्र पारेको सडकमा पछिल्लो समय सक्रियता देखाउँदै मध्य असारमा सडक सम्याउने तथा केही ठाउँमा कालोपत्रको काम सुरू गरेको भए पनि बीचमै काम रोकिएको छ।

खाल्डाखुल्डी र खण्डहर सडकमा ट्राफिक जामदेखि गाडी फस्ने गरेका छन्। वर्षायामको पानीले अहिले बजार क्षेत्रमा पानी पर्दा जलमग्न हुने गरेको छ। जसका कारण पैदलयात्री र सवारीसाधनलाई समेत आवत-जावतमा समस्या भएको छ ।

चौराहा-गोलपार्क खण्डको करिब साढे तीन किलोमिटर सडक विस्तारका लागि ठेकेदार कम्पनी द कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले ठेक्का पाएको थियो। चौराहा-गोलपार्क सडक खण्डमा नाली निर्माणको काम अहिले पनि चलिरहेको इन्जिनियर सविता ज्ञवालीले बताइन्।

‘सर्भिस लेन र नालीमाथि रहेका विद्युत्का पोल, ट्रान्सफर्मर हटाएर भ्याइएको छैन। खानेपानीको काम पनि भइरहेको छ’,  उनले भनिन्, ‘विद्युत् प्राधिकरणले समयमै विद्युत्का पोल, ट्रान्सफर्मर नसार्दा नालीको काममा थप ढिलाइ भएको छ।’

२०७३ चैत १७ गते ठेक्का सम्झौता भई २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो। सडक विस्तारको बाटो खुलेपछि पुनः तोकिएको समय अवधिमा समेत निर्माण कम्पनीले काम गर्न नसक्दा म्याद थपेर २०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको हो। भ्याट र पिएससमेत गरी ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपैयाँ ३८ पैसामा सडक निर्माणको ठेक्का लागेको थियो। ठेकेदार कम्पनीले हालसम्म १३ करोड भन्दा बढी रकम भुक्तानी लगिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell