PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुदूरपश्चिममा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो



पहिलोपोस्ट

सुदूरपश्चिममा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या एक सय नाघेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो। हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन्। जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय सङ्क्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

कुनै बेला शून्यमा झरेको कोरोना सङ्क्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो। भारतसँग सीमा जोडिएको भएकाले भारतमा सङ्क्रमणदर बढ्दै जाँदा त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको छ।

‘भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको छ। जोखिम बढ्दै गएकाले सतर्कता अपनाउन थालिएको छ,’ उनले भने। 

हाल पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको जोशीले बताए। सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररुपमा भइरहेको छ। भने, ‘जोखिम बढेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। कैलाली र कञ्चनपुरमा एक एक हजार शय्याका होल्डिङ सेन्टर निर्माण सम्पन्न हुँदैछन्।’

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररुपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ। 

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार दुई सय १२ को कोरोना परीक्षण गरिएकोमा ५९ हजार आठ सय ६७ मा सङ्क्रमण पुष्टि भइसकेको छ। सङ्क्रमणकै कारण यस प्रदेशमा ६३३ को ज्यान गइसकेको छ। कोरोना सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्न निर्देशनालयको आग्रह छ। भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell