PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

अफ्रिका बाहिर पहिलोपटक मंकिपक्स संक्रमितको मृत्यु, ब्राजिल र स्पेनमा एक-एकजनाको मृत्यु



पहिलोपोस्ट

अफ्रिका बाहिर पहिलोपटक मंकिपक्स संक्रमितको मृत्यु, ब्राजिल र स्पेनमा एक-एकजनाको मृत्यु
फोटो : onmanorama.com

स्पेन र ब्राजिलमा मंकिपक्स संक्रमितको मृत्यु भएको छ। दुवै देशमा एक-एकजना संक्रमितको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ।

मंकिपक्सबाट सबैभन्दा बढी प्रभावित हुने देश मध्ये स्पेन एक हो। त्यहाँ हालसम्म ४ हजार २९८ जनामा यो भाइरसको संक्रमण देखिएको छ। शुक्रवार त्यहाँको स्वास्थ्य मन्त्रालयले १२० जना अस्पतालमा उपचाररत् रहेको र एक जनाको मृत्यु भएको जनाएको ह। मृतकको थप विवरण उपलब्ध गराइएको छैन।

यस्तै, ब्राजिलमा ४१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको मृत्युमा उनमा रहेको गम्भीर रोगहरु पनि कारक हुन सक्ने भन्दै नागरिकलाई नआत्तिन त्यहाँको स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। ‘यसको मृत्यु दर निकै न्यून छ,’ स्वास्थ्य सचिव फाबियो बचारेटीले भने।

विश्व स्वास्थ्य संगठनले केही दिनअघि मात्रै मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेश्नल कन्सर्न’ घोषणा गरेको थियो। संगठनले हालसम्म ७० भन्दा बढी देशमा मंकिपक्सको संक्रमण फैलिएको जनाएको थियो। संगठनले मंकिपक्सका १६ हजार भन्दा बढी ‘केस’ पत्ता लागेको र पाँचजनाको मृत्यु भएको जानकारी दिएको थियो। संगठनले विश्वभरका देशहरुलाई शंकास्पद ‘केस’ हरुकाविरुद्ध सुरक्षित उपाय अपनाउन र संक्रमणबाट कसरी बच्ने भनेर जनतालाई सिकाउन आग्रह गरेको छ।

यो संक्रमण विशेष गरि मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा सामान्य रुपमा भेटिने गर्छ। अफ्रिकाबाट नै अन्य देशमा यो संक्रमण फैलिएको अनुमान गरिएको छ। केही महिना अघि मंकिपक्सको संक्रमण सुरुवातमा बेलायतमा देखिएको थियो। पछि इटाली, स्पेन, स्वीडेन, पोर्चुगल, अमेरिका, क्यानडा, स्वीटजरल्यान्ड, इजरायल लगायतका देशमा पनि यो भाइरसको संक्रमण देखिएको थियो। हाल ७० भन्दा बढी देशमा यसको संक्रमण देखिएपछि संगठनले मानिसलाई सचेत बनाउन यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो। पहिलोपटक अफ्रिकाभन्दा बाहिर ब्राजिल र स्पेनमा यो भाइरसबाट संक्रमितको मृत्यु भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell