- राजु आचार्य
माछाले मुन्टो पानीबाट निकाल्दै भन्यो
तिर्खा लाग्यो, पानी देऊ
मानिसले माछालाई भन्यो,
बिजुली बेचेको पैसाले स्विमिङ पुल बनाई दिम्ला
अहिले बगर तिरै आराम गर
चरो आकाशबाट भुईँ झर्दै भन्यो
प्रदूषणले आँखा पोल्यो, अस्पताल देखाई देऊ
मानिसले चरोलाई भन्यो
मैले जिते स्वास्थ्य नि:शुल्क बनाई दिम्ला
अहिले निजी अस्पतालतिर रोग छुट्टयाउँदै राख
मृग वनबाट गाउँ झर्दै भन्यो
भोक लाग्यो, घाँस देऊ
मानिसले मृगलाई भन्यो
सिमेन्टले घेरेर ठुलो पार्क बनाई दिम्ला
अहिले डोजरले खनेको चौरमा आराम गर्दै राख
कमिला जमिनमाथि निस्कँदै भन्यो
निन्द्रा लागेन, डोजर लखेटिदेऊ
मानिसले कमिलालाई भन्यो
शहरको बिचमा सेल्फी खिच्न मिल्ने गरी तिम्रो मूर्ति बनाई दिम्ला
अहिले अर्को पहाडतिर बसाइसराइ गर
रुखले आफ्नो काटिएको शरीर देखाउँदै भन्यो
उभिन गार्हो भयो, वन विनाश रोकिदेउ
मानिसले रुखलाई भन्यो
कहिले नकाट्टीने गरी संग्रहालयमा बत्ती बालेर सजाई दिउँला
अहिले गमलामा जीवन यापन गर्दै गर
यो मानिसलाई
माछा बस्ने पानी धमिलो भएको थाहा छैन
चराको आँखा पोल्ने गरी आकाश बिग्रिएको थाहा छैन
वनमा मृगहरू कराउन छोडेको थाहा छैन
कमिलाहरू वन्यजन्तु हुन भन्ने पनि थाहा छैन
नि:शल्क अक्सिजन दिने रुख जोगाउनु पर्छ भन्ने थाहा छैन
यो मानिसलाई केहि थाहा छैन भन्ने पनि थाहा छैन
त्यसैले त भन्न मन लाग्छ
ए मान्छे
तिमि मान्छे जस्तो भएनौं
प्रकृतिले फेरि पनि भन्यो ‘तिमी मान्छे जस्तो भएनौं’