PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'हिउँको पृथ्वी यात्रा' ले भन्दैछ : प्रकृतिको संरक्षण नगरे मानव जीवन पनि संकटमा पर्नेछ



लक्ष्मी बलायर

'हिउँको पृथ्वी यात्रा' ले भन्दैछ : प्रकृतिको संरक्षण नगरे मानव जीवन पनि संकटमा पर्नेछ
तस्विर : शिल्पी थिएटर

काठमाडौं : मञ्चको पर्दा खुल्छ। पर्दा खुलेसँगै देखिन्छ सेतो अनि चम्किलो हिमाल। हिमालमा बेस्सरी सिरेटो चल्छ। बिस्तारै हावाको गति मत्थर हुँदै जान्छ। हिउँ पग्लेर पानी हुँदै नदी बन्छ। अनि पृष्ठभूमिबाट गीत गुञ्जिन्छ :

म सूर्यको न्यानो हिमालको गाजल

मेरो अस्तित्व थोपा थोपा

चिसो बरफ म तरल, उष्म बादल

मेरो व्यक्तित्व थोपा थोपा

कठोर ढुंगा म माटो हूँ कोमल

मेरो भवितव्य थोपा थोपा

म हिउँको यात्रा सागरको छाल

मेरो गन्तव्य थोपा थोपा

अनि नदीहरू एकअर्कासँग खुसी हुँदै कुराकानी गर्न थाल्छन्। एउटा नदीले भन्छ : हिमालमा मेरो विश्राम सकियो। यात्रा अब फेरि सुरू हुनेछ।, फेरि अर्को नदी प्रफुल्लित हुँदै भन्छ : पग्लेर फेरि बग्नेछु फेरि नयाँ बाटो लिनेछु। अब अर्कोको पालो ‘यो यात्रा कति लामो र रोचक हुनेछ कहिल्यै नसकिने अनन्त एउटा चक्र जस्तै।’ त्यसपछि सुरू हुन्छ तीन नदीको हिमाल हुँदै समुन्द्रसम्म पुग्ने यात्रा। अर्थात हिउँको पृथ्वी यात्रा।

प्रकृतिको महत्व बुझाउने कथा

तराईमा बसोबास गर्दै आइरहेको आदिवासी थारु समुदायको एक राष्ट्रिय निकुञ्ज नजिक बस्छ। उनीहरुको मुख्य पेशा नै माछा मार्नु हो। तर केही समयदेखि गाउँमा पानी पर्न सकेको छैन। आकाशमा पनि बाँदल देखिँदैन। वर्षा नहुँदा गाउँमा खडेरी परेको छ। बिजुली निकाल्न बाँध बाध्दा नदी पनि सुकिसक्यो। नदि मात्रै होइन पोखरी, धारा र कल पनि सुकिसके। त्यसमाथि जमिन नै तताउने गर्मी।

पानी पर्ने प्रतिक्षा र आशमा छ सो परिवारमा। पानी नपर्दा उक्त परिवार र अन्य जीवजन्तुले के कस्ता संकटहरू भोग्न बाध्य हुन्छन्? हिमाल हुँदै बगेका तीन नदीहरू समुन्द्रसम्म पुग्न पाउँछन् कि पाउँदैनन्?  विकासको नाममा प्रकृतिलाई विनाश गर्दा कस्ता- कस्ता समस्याहरू भोग्नपर्छ?  यिनै प्रश्नहरूको जवाफ हो: नाटक ‘हिउँको पृथ्वी यात्रा’।

सरल कथामा बनेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ ले गम्भिर विषयवस्तु उठान गरेको छ। नेपालमा विकासका नाममा प्रकृतिमाथि निकै हस्तक्षेप हुने गरेको छ। जंगल फँडानी भएर शहरमा परिणत भए। शहरीकरणको नाममा कंक्रिटका घरहरू निर्माण भए। नदी दोहनको समस्या त्यस्तै। तर प्राकृतिक स्रोतको विनाश गरेकै कारण हामी धेरै प्रकोपहरू भोग्न बाध्य छौँ। प्राकृतिक स्रोतको विनाश गर्दा त्यसबाट भोग्नुपरेको प्राकृतिक प्रकोप र विपतलाई पनि नाटकमा उतारिएको छ।

यस नाटकले प्रकृति र मानवबिचको सम्बन्धलाई प्रष्ट पारेको छ। नाटकले मानवलाई मात्रै नभई नदी र जीवजन्तुको भोगाई र अनुभव पनि समेटेको छ। मानिसमा मात्रै केन्द्रित नभई सबैलाई स्थान दिनु नाटकको सुन्दर पक्ष हो। नाटकले पृथ्वी मानिसहरूको मात्रै नभई सम्पुर्ण जीवजन्तुको साझा फुलबारी हो भन्ने सन्देश दिन खोजेको छ।

त्यसैगरि, पृष्ठभूमिबाट बज्ने गीतसंगीतले दर्शकलाई कथासँग ‘कनेक्ट’ गर्न निकै सहयोग गर्छ। हरेक पात्रहरूको अभिनय पनि उत्कृष्ट छ। जसले दर्शकहरूलाई बाधिराख्छ। नाटकभरि प्रयोग गरिएका ‘प्रप्स’हरूले पनि नाटकलाई विश्वसनिय बनाइदिएको छ। मिठो संगीत, प्रप्सको प्रयोग, मौलिक संवाद र जीवन्त अभिनयले गम्भिर विषयवस्तुको नाटकलाई सरल र आकर्षक बनाइदिएको छ।

नाटकले राजनीतिक व्यवस्थामाथि पनि प्रहार गरेको छ। नेताहरूले सामाजिक सञ्जालमै देखाउनकै लागि भएपनि विपत पीडितलाई दिने राहत र सहयोगमाथि नै नाटकले व्यङ्ग्य गरेको छ। नाटकमा मानव जीवनलाई मात्रै देखाइएको छैन। नदी र डल्फिनका भोगाइलाई देखाइएको छ। तर धेरै कथाहरू देखाउन खोज्दा नदीको पुर्ण यात्रा भने ‘मिस’ हुन्छ।

अमजद प्रवेज र घिमिरे युवराजको लेखन र निर्देशनमा तयार भएको हो नाटक ‘हिउँको पृथ्वीयात्रा’। नाटक साउन १५ गतेसम्म काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदैछ। नाटकमा अनुप तिमिल्सिना र स्मारिका फुँयालको गीत/संगीत रहेको छ। नाटकमा पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र बि.सी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशिला लोहार र ज्याक बरालको अभिनय छ।

के भन्छन् निर्देशक ? 

प्राकृतिक स्रोतसाधनको संरक्षणमा सबैले चासो दिनुपर्छ भन्ने उद्धेश्यका साथ नाटक तयार पारिएको बताउँछन् घिमिरे युवराज। ‘प्रकृति दैनिक जीवनमा अपरिहार्य छ। त्यसैले हामीले प्रकृतिको संरक्षणमा चासो दिनुपर्छ भन्ने नाटकको मुख्य उद्धेश्य हो। हामीले प्रकृतिलाई बचाउनुपर्छ। हरेक नागरिकले प्रकृति, हिमाल, नदी, जीवजन्तुको बारेमा सोचेनौँ भने हाम्रो जीवन पनि संकटमा छ भन्ने नाटकको मुल भाव हो,’ उनले भने।

नेपालमै भइरहेका साना साना विषयवस्तुहरू समेटेर नाटक बनाएको उनको दाबी छ। भन्छन्, ‘विश्वभरिको समस्या भन्दा पनि हामीले नेपालभित्रकै साना साना कुराहरू नाटकमा समेटेका छौँ। जो हामीसँग नै सम्बन्धित हुन्छ।’

नदीलाई कलाकारको शरीरमा ल्याएर उसको यात्रा, संघर्ष  र अनुभूति देखाउन जटिल भएको उनको अनुभव छ। यसअघि यो नाटक कालेबुङ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा एकपटक र काठमाडौं बाहिर १२ पटक मञ्चन भइसकेको समेत घिमिरेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell