
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले करिब ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको बताएकी छिन्।
‘अन्तराष्ट्रिय कानुनको विकासमा शक्तिको भूमिका, एसियाको सन्दर्भ’ विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा ठोस योगदान गर्दै आएको पनि बताइन्।
‘हामीले करिव ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौं। किनभने यसबाट हाम्रो मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने हाम्रो विश्वास रहेको छ। हामी सबै प्रकारको युद्धको विरोध गर्दछौं। र, राष्ट्रका बिचमा कुनै विवाद उत्पन्न भएमा समाधान खोजिनुपर्ने मान्यता राख्दछौं। विश्वमा आणविक हतियारको होडबाजी रोकिनुपर्छ भन्ने हाम्रो सुदृढ विश्वास रही आएको छ,’ उनले भनिन्।
संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व र विश्वबन्धुत्वको भावना र अहस्तक्षेपको र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तराष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको पनि उनले बताइन्।
‘कानुनको मार्गदर्शनको आधारमा नेपालले विश्वका सम्पूर्ण भूपरिवेष्ठित राष्ट्रहरुको पारवहन अधिकारको पैरवी मात्रै गर्दै आएको छैन, मित्र राष्ट्रहरु हुँदै समुन्द्रसम्म नेपालको आफ्नै पहुँच स्थापित गर्न ठोस पहल गरी सफलता समेत हासिल गरेको छ,’ उनले भनिन्।
सम्मेलनमा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अन्तराष्ट्रिय कानुनले राष्ट्रहरुबिचमा हुने व्यापारिक सम्बन्ध, राजनीतिक सम्बन्ध र अन्य पारस्परिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेकी थिइन्। उनले राष्ट्रहरुबिचमा मानव अधिकारको प्रत्याभूति दिलाउन पनि अन्तर्राष्ट्रिय कानुनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेकी छिन्। न्यूज एजेन्सी नेपाल