- शिशिर वैद्य -
सामान्यतया बिहानी हिँडाईको मेरो चक्र कमलादी गणेश, घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै भित्री शहर घुमेर पुरा हुने गर्दछ। वर्षाका कारण नहिँडेको धेरैदिन भइसकेको थियो। आइतबारको दिन मैले फेरि हिँड्न सुरु गर्ने निधो गरें। हिँडाईको चक्र उहि थियो। घण्टाघर अघिल्तिर ट्राफिक संकेत बत्ती बलिरहेको थियो। म रोकिएँ। तर, कलेज जान हतारिएका विद्यार्थीहरु गफ गर्दै, मोबाइलमा कुरा गर्दै ट्राफिक संकेत बत्तीको वास्ता नगरिकनै बाटो काटिरहेका थिए। बाटो काट्ने संकेत चिह्न हरियो बले पछि म हिँड्न थाल्दा ट्राफिक बत्तीको संकेत वास्ता नगरिकनै दुई मोटरसाइकल हुईंकिदै गए। पारि पुगेर यसो सोचेँ। देश ‘सिस्टम’मा चलेन भन्ने यिनै युवा हैनन् र ?
पाइला अघि सार्दै म उपत्यका प्रहरी कार्यालय अघिल्तिर पुगें। त्यहाँ संधै झैं डोरी लगाएर पेटी साँघुरो पारिएको थियो। डोरी नाघेर अघि बढ्नै लाग्दा मैले परैबाट पेटीमा केही ठुलो संरचना निर्माण गरि राखेको देखेँ। अगाडि बढेर हेरेँ झण्डै तीन फिट लम्बाई र ती फिट चौडाई अनि दुई फिट जति अग्लो ढलान गरिएको रहेछ त्यहाँ। ढलान माथि जिआई पाताको गोलाकार बनाएर जाम गरिएको थियो। गोलाकार भित्र दुई इन्च मोटो कालो पाईप थियो। मोबाइल निकालेर मैले केही तस्बिरहरु खिचें। अनि आफ्नो बाटो लागें।
घर पुगेर मोबाइलमा फोटो हेरेँ। त्यत्रो बडेमानको संरचना निर्माण गरेको छ केको लागि होला? सेतो मछिन्द्रनाथको रथ यात्रा चलाउनु पर्ने ‘सम्पदा मार्ग’मा कसले बनाउन दिएछ यस्तो संरचना? मन अधिर बन्यो। आक्रोशित बन्यो। त्यसपछि मैले फेसबुकमा स्टाटस लेखें - सेतो मछिन्द्रनाथको रथयात्रा चलाउनु पर्ने उपत्यका प्रहरी कार्यालय, रत्नपार्क अगाडि यो के संरचना निर्माण गरेछन्? हेर्दा झण्डाको बेस जस्तो लाग्यो। रथ यात्रामा बाधा पुग्ने यस्तो संरचना निर्माण गर्ने अनुमति कसले दियो? मेयर, उपमेयर लगायत नेवाः समुदायका साथीहरुले यसलाई देखेका छैनन्? यो निन्दनीय कार्यको विरोध गरौं।
स्टाटस लेखेको केही बेरमै केही साथीहरुले कमेन्ट गर्न थाले - कुतत्वहरुबाट काठमाडौंको मौलिकता जोगाउन हतार भइसक्यो। राष्ट्रिय झण्डा जताततै राख्नु आवश्यक छैन। नेपालमा भत्काए पनि पैसा आउँछ, बनाए पनि पैसा आउँछ, आदि आदि। स्टाटसमा मैले कसैलाई ट्याग गरेको थिइन। भाइ अर्जुनसुन्दर श्रेष्ठले महानगर प्रमुख बालेन साह, उपप्रमुख सुनिता डंगोल, वडा अध्यक्ष भाइराम खड्गी, वडा सदस्यहरु विरेन्द्र महर्जन, अरुण तण्डुकार, नीना खड्गी, सम्पदा अभियन्ताहरु गणपतिलाल श्रेष्ठ, यादवलाल कायस्थ सबैलाई ट्याग गरेर मैले उठाएको विषयमा गम्भीर भइदिन अनुरोध गरेका रहेछन्।
स्टाटस देखेर वडाका नवनिर्वाचित भाइहरु र सम्पदा सरोकारवाला मित्रहरु सजग बने, फेसबुकमै कसले बनाएको होला र के गर्ने भन्ने विषयमा बहस चल्यो। भोलिपल्ट बिहान ८:३० बजे सबै संरचना निर्माण गरिएको स्थानमा भेला हुने र छलफल गर्ने भन्ने सल्लाह भयो। म पुग्दा वडा सदस्य भाइहरु विरेन्द्र महर्जन, अरुण तण्डुकार, नीना खड्गी र सम्पदा अभियन्ता भाइ गणपतिलाल श्रेष्ठ पुगिसकेका थिए। अरु केही साथीहरु पनि सँगै थिए। विरेन्द्रले वडालाई उक्त संरचना निर्माणबारे केही जानकारी नभएको बताए। उपत्यका प्रहरी कार्यालयसँगै रहेकोले कसैलाई केही थाहा होला की भनेर सोधखोज गर्दा कसले बनाएको भन्ने जानकारी नभएको जवाफ आयो। सबैमा आक्रोश थियो। सम्पदा मार्गमा यस्तो संरचना निर्माण गर्ने कुन निकाय होला ? कसैले विद्युत प्राधिकरण हुनुपर्छ भने, कसैले झण्डा राख्न लागेको हो भने निकै बेर सम्म पनि के हो र कसले हो भन्ने टुँगो लागेन। छलफलकै क्रममा कसैले यो पक्कै बृहत् रानीपोखरी आयोजनाले बनाएको हुनुपर्छ भन्ने तर्क गरे। बृहत् रानीपोखरी आयोजना उपत्यका विकास प्राधिकरण अन्तर्गत पर्छ भन्ने थाहा भएपछि उक्त संरचना पक्कै सोही कार्यालयले बनाएको हुनुपर्दछ भन्ने टुँगोमा पुगियो। सडकमा बसेर लामो छलफलको केही अर्थ थिएन। त्यसैले वडाले नै यसको पहल गर्ने र सबै तिर चिठ्ठी पठाएर तुरुन्त सो संरचना भत्काउन लगाउने भन्नै निर्णय गरियो। सम्पदा अभियन्ताहरु तात्तिए - जसले बनाएको भए पनि भोलि सम्म नभत्काए, हामी आफै भत्काउँछौं।
घाम उक्लिएर आधा दिन बित्दा नबित्दै पत्ता लाग्यो, सो संरचना उपत्यका विकास प्राधिकरणले बनाएको रहेछ। वडाले प्राधिकरणसँग समन्वय गर्यो। प्राधिकरणले सम्पदा मार्ग रहेको जानकारी नभएकोले संरचना निर्माण हुन गएको बतायो। वडा कार्यालयले आफूहरुले सांकेतिक रुपमा निर्माण भएको संरचना माथिको डण्डी तत्काल काट्ने र प्राधिकरणले बाँकी ढलान भत्काउने प्रतिबद्धता जनायो। सहमति अनुसार वडाले डण्डी काट्यो र प्राधिकरणले ढलान फुटाएर संरचना भत्कायो।
सम्पदा मार्गमा बनेको संरचना भत्काउन सफल भएकोमा सबै खुशी भएका छन्। तर, मेरो मनमा भने प्रश्न उठेको छ : हरेक वर्ष हुने जात्राको मार्गमा त यस्तो संरचना निर्माण गरिन्छ भने उपत्यकामा मनाइने बाह्र वर्षे जात्राका मार्गहरु कसरी सुरक्षित होलान्? उपत्यका विकास प्राधिकरण नामको संस्था के साँच्चै उपत्यकाको विकासको लागि गठन भएको हो? उक्त संस्थाले उपत्यकाको सम्पदा, संस्कृति र जात्रा पर्वको बारेमा जानकारी र सरोकार नराखिकन कसरी उपत्यकाको विकास योजना बनाइरहेको छ? यो निकै गम्भीर विषय हो।
संघीय सरकार मातहत रहेको उक्त संस्थाको ऐन, नियम र नियमावली पढ्दा स्थानीय सरकारभन्दा प्राधिकरणमाथि रहेको प्रतित हुन्छ। उदाहरणका लागि प्राधिकरण नियमावली दफा १५ बमोजिम— स्थानीय सरकारले चाहेमा प्राधिकरणको स्वीकृति लिई आफ्नो क्षेत्र भित्रको कुनै ठाउँमा जग्गा विकास कार्यक्रम संचालन गर्न सक्नेछ। संघीय संस्थासँग स्वीकृति माग्दै कार्यक्रम संचालन गर्नु पर्ने अवस्थामा हामीले स्थानीय सरकारबाट के अपेक्षा राख्ने?
कुरा फेरि रत्नपार्क तिरै मोडौं। प्राधिकरणले उक्त संरचना बनायो। विरोध भयो। उसले भत्कायो। अब यो संरचना बनाउन र भत्काउन लागेको खर्चको हिसाब कसले माग्ने? यो जनताले तिरेको करको दुरुपयोग हो की हैन? बाहिरी चक्रपथ विकास आयोजना, नयाँ शहर आयोजना, चिखु आवास, दिव्यश्वरी जग्गा एकिकरण आयोजना, जग्गा विकास योजनाबाट सार्वजनिक सम्पत्तीको सिर्जना जस्ता आयोजनाहरु संचालन गरिरहेको उपत्यका विकास प्राधिकरणले ति आयोजनाहरु संचालन गर्दा काठमाडौंका सम्पदाहरुमा पर्न सक्ने असरका विषयमा अध्ययन गरेको छ कि छैन? सम्पदा अभियन्ताहरुले निकै पहिले देखि उठाउँदै आएको सम्पदा असर मूल्यांकन नगरिकन उपत्यकामा गरिने कुनै पनि विकास आयोजनाले उपत्यकाको विकास हैन विनाश मात्रै हुने पक्का छ। यसका लागि सबै सरोकारवाला, सम्पदा अभियन्ता एवं नेवाः समुदाय सचेत र सजग रहन आवश्यक छ।