PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

लाइसेन्सको अनलाइन फाराम भर्न अझै उस्तै सास्तीः लाखौं खर्चिँदा पनि सुध्रेन प्रणाली, हप्तामा ४ दिन मात्र चल्छ



शुक्र गिरी

लाइसेन्सको अनलाइन फाराम भर्न अझै उस्तै सास्तीः लाखौं खर्चिँदा पनि सुध्रेन प्रणाली, हप्तामा ४ दिन मात्र चल्छ

काठमाडौंः सरकारले २० लाख रुपैयाँ खर्च गरेर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन आवेदन प्रणाली बनाए पनि समस्या भने सल्टिएको छैन। बरु झन्झट झन् बढेको छ। लाइसेन्स आवेदन सहज बनाउन भनेर तयार पारिएको नयाँ प्रणाली आएपछि पनि सेवाग्राहीको सास्ती उस्तै छ।

सेवाग्राहीले अनलाइन फाराम भर्न बिचौलिया खोज्नुपर्ने भएपछि बिचौलियाको उपस्थिति निरुत्साहित गर्न यातायात व्यवस्था विभागले ठूलो खर्च गरेर नयाँ प्रणाली बनाएको थियो। तर विभागको यो प्रणालीमाथि नै अहिले प्रश्न चिह्न खडा भएको छ। नयाँ बनाएको प्रणालीले अझ धेरै सेवाग्राहीले सास्ती पाएको गुनासो गरेका छन्।

नयाँ प्रणालीमा ओटिपी कोड नआउने, अनलाइन भुक्तानी नहुने, कार्यालय भिजिट डेट लिन नमिल्ने, सर्भर डाउन भइरहने जस्ता अनेकौं समस्या देखिएका छन्। यसअघि भारतीय कम्पनीले बनाएको प्रणालीमा पनि सर्भर डाउन भइरहने समस्या थियो।

यस्तैखाले समस्या देखिएपछि त्यसलाई समाधान गर्न सरकारले नयाँ प्रणाली बनाएको थियो। तर पहिलेभन्दा पनि बढी समस्या नयाँ प्रणालीमा देखिएका छन्। त्यसमाथि तीनपुस्ते विवरण भर्नुपर्ने जस्ता आवश्यकता समेत थप गरी अनलाइन फाराम भर्न अहिले पहिलेको भन्दा निक्कै झन्झटिलो पनि बनाइएको छ।

भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले बनाएको प्रणालीमा समस्या आएको भन्दै सरकारले केही समय पहिले कामख्या आइटी सोलुसन प्रालिलाई हायर गरेर नयाँ प्रणाली विकास गरेको थियो। जसलाई सरकारले ७० लाख रुपैयाँ अनुमानित सञ्चालन खर्च समेत दिनुपर्छ।

नयाँ प्रणालीमा आफूलाई कुन मितिमा परीक्षा दिने भनेर रोज्न पाइने व्यवस्था गरिएको छ। त्यो सिस्टमले काम नगर्दा अनलाइन फाराम नै भर्न मिल्दैन। फाराम भर्न मिल्ने तर मिति रोज्ने सेगमेन्टमा भने केही गर्न नमिलेका कारण अनलाइन आवेदन नै दिन नपाएको सेवाग्राहीहरुले गुनासो गरेका छन्।

यो प्रणालीमा करिब १० हजार अनलाइन आवदेन स्टोर गर्ने क्षमता छ। तर विभागका अधिकारीहरुले भने काठमाडौं उपत्यकामा मात्र लाइसेन्सका लागि आवेदन दिने धेरै भएका कारण यस्तो समस्या आएको भन्दै पन्छिने गरेका छन्। यसको समाधानका लागि गम्भीर चासो राखेको देखिँदैन।

बरु विभागका आईटी इन्जिनियर सन्तोष पोखरेल दाबी गर्दै भन्छन् कि अहिलेको प्रणाली पहिलेको भन्दा धेरै व्यवस्थित र सजिलो भएको छ।

'ग्राहकलाई सजिलो होस् भनेर राम्रो व्यवस्था मिलाएका छौं। तर सफ्टवेयरमा भने आन्तरिक समस्या आइरहेको छ। त्यो पनि हामी समाधानको प्रयास गरिरहेका छौं,' उनले भने, 'सर्भरको आन्तरिक समस्याबाहेक अरु त्यस्तो समस्या रहेको छैन।'

अनलाइन फाराम पनि हप्तामा ४ दिन मात्र

विभागका अनुसार अबदेखि लाइसेन्सको अनलाइन फाराम हप्ताको ४ दिन मात्र भर्न मिल्नेछ। तर विभागले यसबारे आधिकारिकरुपमा कुनै प्रकारको सूचना वा केही जानकारी सार्वजनिक गरेको छैन।

विभागका आईटी इन्जिनियर पोखरेलले सफ्टवेयरमा आन्तरिक समस्या देखिएका कारण हाललाई हप्तामा चार दिन मात्र लाइसेन्सको अनलाइन फाराम भर्न मिल्ने बताए। 'हाल सफ्टवेयरमा आन्तरिक समस्या देखिएको हो। यसको समाधान भइरहेको छ,' उनले भने, 'अबदेखि हप्तामा चार दिन अर्थात् आइतबारदेखि बुधबारसम्म मात्र अनलाइन फाराम भर्न मिल्छ। त्यही अनुसार सफ्टवेयरले काम गर्छ।'

पोखरेलका अनुसार यी दिनबाहेकमा भने फाराम भर्दा आफूले भनेको मिति वा कुनै पनि दिन रोज्न पाइने छैन।

'आइतबारदेखि बुधबारभन्दा अरु कुनै दिन फाराम भरेमा मिति रोज्न वा प्रक्रिया नै अगाडि बढ्दैन,' उनले भने, 'यस समयमा फाराम भर्नेले डेट नै लिन मिल्दैन।'

विभागका एक अधिकारीले भने अहिले नयाँ प्रणाली चलखेल गर्नका लागि ल्याइएको आरोप लगाए।

'बीचमा अनलाइन फाराम भर्नका लागि बिचौलियालाई नै घुसाउने नियत हो। अनलाइन भनेको त सबैले भर्न सक्ने सहज हुनुपर्ने होइन र,' उनले भने, 'घण्टौंसम्म भर्न नसकिने पनि हुन्छ ररु यो सबै नियतबस गरिएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell