काठमाडौं : साफ यू २० प्रतियोगिता अन्तर्गत आज हुने खेलमा नेपाल र भारत आमनेसामने हुँदैछन्। भारतको भुवनेश्वरमा जारी प्रतियोगितामा नेपाल र भारत आज साँझ ७:१५ बजे कालिंगा स्टेडियममा आमनेसामने हुनेछन्।
नेपालले यसअघि दुई खेल खेल्दा दुबैमा सहज जित निकालेको छ। पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलको जित निकालेको थियो। अर्कोतर्फ घरेलु टोली भारतले पहिलो खेलमा बंगलादेशसँग २-१ गोलको पराजयसँगै प्रतियोगिताको सुरुवात गरेको थियो। दोस्रो खेलमा श्रीलंकामाथि ४-० ले हराएको थियो।
लिगका शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन्। यस्तोमा दक्षिण एसियाली फुटबलको 'पावर हाउस' भारतसँगको खेलले अर्थ राख्नेछ। हालसम्मको खेलमा तीन खेल खेलेर बंगलादेश ९ अंक सहित शीर्षस्थानमा छ भने दुई खेलबाट ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। अर्कोतर्फ दुई खेलबाट एउटामात्र जित निकालेको भारतसँग ३ अंक छ। माल्दिभ्स र श्रीलंकाले हालसम्म जित निकाल्न सकेका छैनन्।
'टिममा विश्वास छ'
भारतसँगको खेलको पूर्व सन्ध्यामा प्रशिक्षक मेघराज केसीले नेपालबाट नै चारवटा देशसँग खेल्न भनेर आएकोले सबै प्रतिस्पर्धी टिमलाई एउटै नजरले हेरेको बताए।
'तेस्रो खेलमा भारत र चौथो खेलमा बंगलादेशसँग छ भनेर हामीलाई पहिल्यैबाट थाहा थियो। हामी हाम्रो टिममा विश्वास गर्छौं। हाम्रो टीमले जसरी टीमवर्क गरेर मेहनत गरिरहेको छ, त्यो अनुसार प्रदर्शन गर्नेमा ढुक्क छु,' प्रशिक्षक केसीले भने, 'हामी यहाँ अपर्झट योजनाबिना आएका होइनौं। त्यसले गर्दा ४ वटालाई हराउन मेहनत गर्नुपर्छ।'
उनले उमेर समूहमा दक्षिण एसियाका सबै टोलीको स्तर उस्तै भएकोले अलिकति तलमाथि देखिने तर खास फरक नहुने दाबी गरे।
'हामी भारतसँग साँध जोडिएकाले पनि दर्शकहरुले भारतसँगको खेललाई विशेष रुपमा हेर्नुहुन्छ। त्यही प्रकारको चाहना पनि हुन्छ,' उनले भने, 'हामी स्पोर्टस पर्सनको हिसाबले आफूले जानेको सिकेको कुरा म्याचमा एप्लाइ गरेर सकेसम्म प्रतिस्पर्धी टिमलाई हराउने कोसिस गर्छौं।'
केसीले अरुले के सोच्छ कस्तो खोज्छ भन्दा पनि प्रदर्शन पनि राम्रो गर्ने र सँगसँगै नतिजा पनि राम्रो निकाल्ने आफ्नो लक्ष्य रहने बताए। टिममा इन्ज्युरीका समस्या नहुनु नेपाली टोलीको राम्रो पक्ष भएको केसीले बताए।
'अहिलेसम्म टिममा समस्या छैन। खेलाडीमा इन्ज्युरी पनि छैन। अलिकति गर्मीको चाहीँ प्रभाव छ। खेलाडीले गर्मी पनि सहनु पर्छ। नेपालबाट जस्तो हिँडेको थियौं त्यस्तै छौं,' उनले भने।
'फर्कियो आत्मविश्वास'
अर्कोतर्फ भारतीय टोलीका प्रशिक्षक वेङकटेस सानमुगमले टिममा आत्मविश्वासको अभाव रहेको र पछिल्लो खेलमा श्रीलंकामाथि ४-० को जित निकालेसँग त्यो फर्किएको बताए।
'खेलमा जित सबैभन्दा महत्वपूर्ण पाटो हो। ठूलो अन्तरले जित निकाल्दा खेलाडीमा खेलाडीमा जित्न सक्छौं भन्ने भावना विकसित हुन्छ। मलाई आशा छ, यही मानसिकतालाई हामी अर्को खेलमा पनि निरन्तरता दिन सक्छौं,' प्रशिक्षक वेङकटेसले भनेका छन्।
उनले श्रीलंकामाथि जित निकालेको भए पनि नेपाल र माल्दिभ्ससँगको खेललाई ध्यानमा राखेर तयारी गरेको बताए।
'नेपालसँगको खेलमा हाम्रो लागि धेरै महत्वपूर्ण छ, खेलाडीले पनि त्यो कुरा बुझेका छन्। नेपालले उनीहरु कतिको बलियो छन् भन्ने देखाइ सकेका छन्, त्यसैले खेल टफ हुनेछ। दुबै टोली बराबरीका छन्। प्रतिस्पर्धात्मक खेल त हुन्छ नै, तर हामीले हाम्रो खेल खेल्न सक्यौ भने हाम्रो लक्ष्य पुरा गर्न सक्छौं,' उनले भने।
नेपालले अन्तिम खेलमा बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। शीर्ष दुई टोलीले अगस्ट ५ मा फाइनल खेल्नेछन्।