PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

पर्सा राष्ट्रिय निकुञ्जमा दोब्बरले बढ्यो बाघको संख्या



पहिलोपोस्ट

पर्सा राष्ट्रिय निकुञ्जमा दोब्बरले बढ्यो बाघको संख्या

वीरगंज : मधेश प्रदेशस्थित पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सख्या दोब्बरले वृद्धि भएको छ। बाघ दिवसको अवसर पारी वन मन्त्रालय मातहतको निकुञ्ज विभागले जारी गरेको बाघ गणना २०२२ को प्रतिवेदन अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४१ पुगेको हो। यसअघि सन २०१८ मा भएको बाघ गणनाको नतिजा अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा जम्मा १८ वटा बाघ थिए।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहका अनुसार बासस्थानको व्यवसाथापन, उल्लेख्य आहारा प्रजाति, चोरी शिकारीमा नियन्त्रण, बाघ संरक्षणमा समुदायको सहकार्यलगायत कुराले पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सख्या बढेको बताए।

बाघ गणनाको नतिजा अनुसार देशभरको निकुञ्जहरुमा अहिले बाघको संख्या ३५५ पुगेको छ। नेपालमा १२ वटा निकुञ्ज र १ वटा कोशी टापु आरक्ष छन्। पाटे बाघ मात्र तराईको जगल क्षेत्रमा रहेका निकुञ्जमा मात्रै पाइने दुलर्भ वन्यजन्तु हो।

विश्वबाटै बाघ लोप हुने आशंकाले सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरुले अगामी दश वर्षमा बाघको सख्या दोब्बर पार्ने प्रतिबद्धता गरेका थिए। त्यो प्रतिबद्धता नेपालले मात्र पूरा गरेको छ।

नेपालको पछिल्लो नतिजाअनुसार चितवनमा १२८, बर्दियामा १२५, पर्सा ४१, शुक्ला ३६ र बाँकेमा २५ वटा गरी ३५५ वटा पाटेबाघ पुगेको छ। सन २०१८ को गणना अनुसार २३५ वटा बाघ थियो। सन् २०२२ मा १२० बढेर ३५५ पुगेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए। सन २०१८ को नतिजाको तुलनामा चितवनमा ३५, बर्दियामा ३८, पर्सा २३, शुक्ला २० र बाँके राष्ट्रिय निकुञ्जमा ४ ओटा पाटेबाघ बढेका छन्।

केहीदिन अघिमात्र नेपाललाई बाघको संख्या प्रतिबद्धता अनुसार दोब्बर पार्ने राष्ट्रका रुपमा घोषणा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell