काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आयल निगम तत्काल कुनै पनि हालतमा निजीकरणमा नजाने बताएका छन्। नेपाल एलपी ग्यास उद्योग संघको शनिवार भएको २७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बडूले निगम कुनै पनि हालतमा निजीकरण नहुने बताएका हुन्।
बडूले यसअघि पेट्रोलियम पदार्थको आपूर्तिमा निगमको एकाधिकार हट्नुपर्ने बताउँदै यसको व्यापारमा निजी क्षेत्रलाई भित्र्याउने आशय सार्वजनिक रुपमै पटकपटक व्यक्त गर्दै आएका थिए।
'आयल निगमले निजी क्षेत्रको सहयोगमा नै इन्धन आपूर्ति गर्न सकिरहेको छ। अहिले पनि त्यसैगरी चलिरहेको छ। समस्या ढुवानीमा छ,' उनले भने, 'विश्व बजारमा इन्धनको मूल्य घट्ने प्रक्षेपण अहिले छ। तथापि यो आखिर हामीले आयात नै गर्ने भएकाले विदेशी मुद्रा सकेसम्म खर्च गर्न नपरे हुन्थ्यो भन्ने सरकारको चासो छ। किनकि घाटामा गइरहेको आयल निगमलाई परवरिस गर्नैपर्ने अवस्था छ।'
यद्यपि, सबैको ध्यान इन्धन खपत घटाउनमा हुनुपर्ने उनको भनाइ छ। तत्काल इन्धन खपत कम नगर्ने हो भने मुलुकको अर्थतन्त्रमै प्रभाव पर्ने उनले बताए। एलपी ग्यास, पेट्रोल लगायत सबै इन्धनको खपत तत्कालका लागि घटाउन आवश्यक रहेको उनले औंल्याए।
यस्तै, उनले व्यवसायीहरुलाई निराश नहुन पनि आग्रह गरेका छन्। सरकारले अहिले अर्थतन्त्रको अवस्थालाई ध्यानमा राखेर मुलुकको उत्पादन विस्तारलाई प्राथमिकता दिएको उनले जिकिर गरे। त्यसक्रममा उनले सरकारको स्वामित्वमा रहेको केही उद्योग निजी क्षेत्रलाई जिम्मा दिन सकिने पनि बताउन छुटाएनन्।
हालको अवस्थामा विद्युत निर्यात प्रोत्साहनका लागि १५ प्रतिशत छुटको व्यवस्था लागू गर्न सकिने उनको भनाइ थियो। 'उद्योग वाणिज्य क्षेत्र चलायमान हुन पर्छ। निर्यात वृद्धि गराउने कुरालाई प्राथमिकतामा राख्नेछौं। यसका लागि बोर्डमा पेश प्रक्रिया कानुनसम्मत हुन आवश्यक छ। यो सुरु भइसकेको छ,' उनले भने।
व्यवसायीको समस्या समाधानसहितको रायअनुसार सरकार अगाडि बढ्ने पनि उनले आश्वासन दिए। लगायतका वैकल्पिक ऊर्जा प्रयोग प्रोत्साहनका लागि संघ सदैव तयार रहेको बताए।