PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

महानगर सम्मेलनमा 'महानगर सञ्चालन ऐन'को माग



पहिलोपोस्ट

महानगर सम्मेलनमा 'महानगर सञ्चालन ऐन'को माग

वीरगंज : देशभरका ६ वटा महानगरका मेयर र उपमेयरको सम्मेलन अहिले पोखरामा जारी छ। सुदृढ परियोजना नेपालको आर्थिक सहयोग र पोखरा महानगरको आयोजनामा सरागकोट माउन्टेन लजमा आयोजित तीन दिने कार्यक्रम आइतवार समापन हुदैछ। आइतवार बिहान घोषणापत्र जारी गर्दै उक्त सम्मेलन समापन हुने वीरगंज महानगरका मेयर राजेशमान सिंहले जानकारी गराए।

काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगंज र विराटनगरका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा विज्ञहरुको उक्त सम्मेलनमा सहभागिता रहेको छ।

महानगरको काम कारबाही तथा महसुस गरिएको समस्याको बारेमा अनुभव साटासाट तथा छलफल गर्न उक्त सम्मेलन आयोजना हुने गर्दछ।

सम्मेलनमा वीरगंजका मेयर राजेशमान सिंहसँगै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र पोखराका प्रमुख धनराज आचार्य सहभागी छन्। त्यसैगरी, वीरगंजका उपमेयर इम्तियाज आलमसहित सबै महानगरका उपप्रमुखहरु र ६ जना प्रमुख प्रशासकीय अधिकृतहरू सम्मेलनमा सहभागी भएको बताइएको छ। वीरगंजका मेयर राजेशमान सिंहका स्वकिय सचिव सत्यराज घिमिरेकाअनुसार ‘मेट्रोमिट नेपाल’ नाम दिइएको उक्त सम्मेलनमा विविध विषयमा गहन छलफल भएको छ। छलफलमा महानगर सञ्चालन गर्न सरकारले छुटै ऐन ल्याउनु पर्ने आवश्यकता महसुस गरिएको जानकारी गराइएको छ। ‘२०७४ सालमा स्थानीय तह सञ्चालन ऐन बनेको छ, तर त्यसले गाउँपालिका, नगरपलिका, उपमहानगरपालिका र महानगरपालिका सञ्चालन गर्न समस्या आइरहेको छ,’ उनले भने, ‘त्यसैले महानगर सञ्चालनको लागि छुटै ऐन संसदबाट पारित गर्नुपर्ने माग उठेको छ।’

आइतवार बिहान ‘पोखरा घोषणापत्र’ सार्वजनिक गर्ने तयारी रहेको उनले बताए। त्यसैगरी, स्थानीय तहको न्यायिक समितिले गरेको निर्णय मान्य नभइरहेको समस्याप्रति पनि छलफल भएको छ। छलफलमा संघ सरकारसँग जसरी महान्याधिवक्ताको कार्यालयले हरेक मुद्दा लड्छ, त्यसैगरी, स्थानीय तहहरुको छाता सगठनको रुपमा स्थानीय तह महान्याधीवक्ताको कार्यालय स्थापना गर्नुपर्ने पनि माग उठेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell