PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

मकवानपुरका ५५१ जनप्रतिनिधिमध्ये १५० जनाले मात्रै बुझाए खर्च विवरण



पहिलोपोस्ट

मकवानपुरका ५५१ जनप्रतिनिधिमध्ये १५० जनाले मात्रै बुझाए खर्च विवरण

हेटौँडा : मकवानपुरका जनप्रतिनिधिहरुले निर्वाचित भएर दुई महिना बितिसक्दा पनि चुनावमा भएको खर्च विवरण बुझाएका छैनन्। कानुनबमोजिम निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था भएपनि जनप्रतिनिधिहरुले चुनावमा भएको खर्चको विवरण अझै नबुझाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरको स्थानीय तहहरुमा ५ सय ५१ जना जनप्रतिनिधिहरु रहेका छन्। तीमध्ये १ सय ५० जनाले मात्रै खर्च विवरण पेश गरेको निर्वाचन कार्यालयले जनाएको छ।

हेटौँडा उपमहानगरपलिकाको १ सय ५ जना प्रतिनिधिमध्ये ५५ जनाले चुनावी खर्च विवरण पेश गरेका छन्। यस्तै, राक्सिराङ गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका ५ जना, बागमती गाउँपालिकाका ६ जना र मकवानपुरगढी गाउँपालिकाका १३ जना जनप्रतिनिधिहरुले कानुनबमोजिम तोकिएको समयमा खर्च विवरण पेश गरेका छन्।

त्यसैगरी, मनहरी गाउँपालिकाका ९ जनाले खर्चको विवरण बुझाएकामध्ये २ जनाले विलम्बमा (कानुनले दिएको समय नाघेपछि) खर्च विवरण पेश गरेका छन्। भीमफेदी गाउँपालिकाका ३० जनामध्ये १८ जनाले विलम्बमा खर्च विवरण पेश गरेका छन्।

थाहा नगरपालिकाका २२ जनामध्ये ९ जनाले ढिलो गरी खर्च विवरण पेश गरेका छन्। त्यसैगरी, बकैया गाउँपालिकाका ६ जनामध्ये १ जनाले विलम्बमा खर्च विवरण पेश गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। यस्तै, इन्द्रसरोबर गाउँपालिकाको कुनै पनि जनप्रतिनिधिले चुनावी खर्च विवरण पेश नगरेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell