
काठमाडौं : नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको कारण देशका केही जिल्लामा सामान्य क्षति भएको छ।
आज बिहान ८ बजेर १३ मिनेटमा प्रदेश १ को खोटाङको मार्तिमबिर्ता क्षेत्र आसपास केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ।
गृह मन्त्रालयका अनुसार भूकम्पबाट खोटाङको साकेला गाँउपालिका-५ बृष्टि बस्ने विकास कटुवालको ढुङगा माटोको गारो भएको घर, डाडागाँउ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको, हलेसीतुवाचुङ नगरपालिका-९ सल्ले बस्ने धुर्ब पौडेलको ढुङगा माटोको गारो भएको घर सामान्य चर्केको र सोही नगरपालिका-७ का सयङखुका गंगा राईको घर चर्किएको जानकारी दिएको छ। राई घर चर्किएर बस्न नसक्ने भएपछि आफ्नो भाइको घरमा बसेको प्रहरीले जनाएको छ।
अहिलेसम्म क्षतिको पूर्ण विवरण नआएको र क्षति पुगे नपुगेकोबारे बुझ्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। गृहमन्त्री बालकृष्ण खाणले बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबार सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका हुन्।
गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिएका हुन्।
घाइतेको उद्धार र घर भत्किएर बस्न नहुने भएकालाई अन्यत्र सार्ने काम यथाशक्य गर्न र जिल्ला र प्रदेशको स्रोत साधनले नपुगेमा केन्द्रमा जानकारी गराउन गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका थिए।