
अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसी आइतवार चार एसियाली मुलुकहरुको भ्रमणमा निस्किएकी छिन्। ६ सदस्यीय टोलीको नेतृत्व गर्दै पेलोसी एसियाका चार देशको भ्रमणमा निस्किएको सभामुखको आधिकारिक वेबसाइटमा उल्लेख छ।
उनी सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापान भ्रमणमा निस्किन लागेको वक्तव्यमा उल्लेख छ। यद्यपि उनको ताइवान भ्रमणबारे भने वक्तव्य मौन छ।
'इन्डो-प्यासिफिक क्षेत्रमा भ्रमण आपसी सुरक्षा, आर्थिक साझेदारी र प्रजातान्त्रिक शासनको विषयमा केन्द्रीत हुनेछ,' वक्तव्यमा भनिएको छ।
पेलोसीले आफ्नो ट्वीटरमार्फत भनेकी छन्, 'आज हाम्रो संसदीय टोली हाम्रा साझेदार र साथीहरुप्रति अमेरिकाको बलियो तथा अटल प्रतिबद्धतालाई पुन:पुष्टि गर्नका लागि इन्डो प्यासिफिक क्षेत्रको भ्रमणमा निस्किएको छ।'
We look forward to productive meetings that will continue to inform Congress’s work to strengthen our partnerships & advance our interests.
— Nancy Pelosi (@SpeakerPelosi) July 31, 2022
These include peace & security, economic growth & trade, the COVID-19 pandemic, the climate crisis, human rights and democratic governance.
यो भ्रमणका क्रममा सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानमा उच्चस्तरीय छलफल र वार्ता हुने जानकारी गराएको छ। यी भेटका क्रममा शान्ति, सुरक्षा, आर्थिक विकास र व्पापार, कोभिड-१९ पान्डेमिक, जलवायु संकट, मानवअधिकार र प्रजातान्त्रिक शासन व्यवस्थाका विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै सभामुखको सचिवालयले राष्ट्रपति बाइडेनको नेतृत्वमा अमेरिका यस क्षेत्रमा रणनीतिक संलग्नताप्रति प्रतिवद्ध रहेको भन्दै सोही अनुरुप भ्रमण हुन लागेको जनाएको छ।
टोली एसिया भ्रमणका क्रममा इन्धन भर्न हवाईमा रोकिएको थियो। हवाई इन्डो प्यासिफिक क्षेत्रमा रहेको अमेरिकाको एकमात्र टापु राज्य हो। त्यहाँ टोलीलाई अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमाण्डले ब्रिफिङ गरेको थियो। साथै टोलीले पर्ल हार्बर मेमोरियल र युएसएस अरिजोनामा भ्रमण गरेको थियो। सो क्रममा उनीहरुले पर्ल हार्बर आक्रमणका सेनामा रहेका कर्मचारीहरुसँग भेट गरेको थियो।
भ्रमण टोलीमा पेलोसीसहित संसदको विदेश मामिला समितिका अध्यक्ष ग्रेगरी मीक्स, भेट्रानस् अफेयर कमिटीका अध्यक्ष मार्कव ताकानो, कंग्रेसओमन सुजेन डेलबेन, कंग्रेमेन राजा कृष्णमूर्ती र एन्डी किम रहेका छन्।
उनी एसियाली देशको भ्रमणका क्रममा ताइवान पस्न सक्ने बताइएको छ। पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दै गएको छ। तर, अमेरिकाले सभामुखको ताइवान भ्रमणको विषयमा स्पष्ट रुपमा केही भनेको छैन। सभामुख पेलोसीले पनि आफ्नो सुरक्षाको कारण यसबारे भन्न नसक्ने प्रतिक्रिया दिएकी थिइन्।
चीनले पेलोसीले ताइवान भ्रमण गरे आवश्यक प्रतिकार गर्ने भन्दै पीएलए पूर्णरुपमा तयार रहेको चेतावनी दिँदै आएको छ।