कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति सेनाले गोली चलाएको छ। युगान्डासँग सीमा जोडिएको क्षेत्रमा गोली प्रहारबाट कयौं व्यक्तिको मृत्यु भएको र केही घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। कतिजनाको मृत्यु भयो भन्ने सार्वजनिक भएको छैन। स्थानीय अधिकारीहरुले दुई प्रहरीसहित ८ जना घाइते भएको बताएका छन्।
सामाजिक संजालमा सो घटनासँग सम्बन्धित एउटा भिडियो अहिले प्रचारप्रसार भइरहेको छ। जसमा प्रहरी र सेनाको पोसाक लगाएका दुई व्यक्ति शान्ति सेनाको गस्ती टोली नजिक जान्छ। केही बेरको कुराकानीपछि शान्ति सेनाले गोली चलाउँछ। गोली चलाउनुको कारण खुलेको छैन। कंगोमा राष्ट्रसंघको नेतृत्व गरिरहेकी विनटउ केइताले अनुसन्धन भइरहेको र संदिग्धहरुलाई पक्राउ गरिएको जानकारी दिइन्। उनले कंगोका अधिकारीहरुसँग मिलेर अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने सैनिक जुन देशबाट शान्ति सेनामा आएका थिए त्यो देशसँग पनि कारवाही प्रक्रिया अघि बढाउनेबारे कुरा भइरहेको उनले बताइन्। यद्यपि, उनले देशको नाम भने सार्वजनिक गरेकी छैनन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि घटनाप्रति दु:ख व्यक्त गरेका छन्।